बाढी पहिरोमापरी ३३ जनाको मृत्यु, कहाँ के भयो ?

साउन, काठमाडौं ।

सुनसरी
तीन दिनदेखिको लगातार वर्षाका कारण आएको बाढीले शनिबार राति अबेरसम्म सुनसरीमा आठजनाको मृत्यु भएको छ । ट्याग्रा र बूढी खोलामा आएको बाढीले बगाएर आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेहरूमा इटहरी–४ की माला साह र उनकी छोरी सृष्टि, भोजपुर घोडेटार घर भई इटहरी उपमहानगरपालिका–४ बस्ने रुपेश राई र रुपसनी राई रहेका छन् ।

यस्तै, इटहरी उपमहानगरपालिका–१० की अनिता धिमाल र इटहरी–४ का ईश्वर सुनुवारको पनि मृत्यु भएको छ । मृत्युु हुनेमध्ये दुईजनाको सनाखत हुन नसकेको एसपी विद्यानन्द माझीले जानकारी दिए ।

६ जना बेपत्ता
बाढीले बगाएर ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा आशादेवी राई, रामकुमार राई, मिनेश राई, खुसी राई, चन्दा तामाङ र उनकी नौ महिनाकी छोरी रहेका छन् ।

१३ हजार घर डुबानमा
बाढी र डुबानका कारण जिल्लामा करिब १३ हजार घर डुबानमा परेको प्रहरीले जनाएको छ । इटहरीको गैह्रीगाउँ, बसपार्क क्षेत्र, नेपाली सेनाको पूर्वी पृतना मुख्यालय आसपासका क्षेत्रका सबै घर डुबेका छन् । यस्तै, शेरा खोला र बूढीखोलामा आएको बाढीले इटहरीको करिब चार सय घर बगाएको छ ।

सेनाको क्याम्पसमेत डुबानमा परेका कारण उद्धारमा कठिनाइ आएको छ । सुरक्षाकर्मीले बाढीमा फसेका करिब पाँच सयलाई उद्धार गरी इटहरी–४ स्थित बूढीगंगा स्कुलमा राखेको निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए ।

सुनसरी प्रहरीका अनुसार करिब तीन हजार पाँच सय बाढीमा फसेका छन् । पानीको बहाव बढेका कारण उनीहरूको उद्धार हुन सकेको छैन । बाढी र डुबानले धेरैजसो बालबालिका उच्च जोखिममा छन् ।

मोरङ
वर्षासँगैको बाढी र पहिरोले मोरङमा पाँचजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–१ मालबाँसेमा शुक्रबार राति गएको पहिरोमा परी गोपीमाया तामाङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–९ का मीनबहादुर थापा र मिक्लाजुङ गाउँपालिका–८ का गंगाराम खतिवडाको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

बाढीले सुन्दर हरैचा नगरपालिका–४ मा तीनजना वृद्धा बेपत्ता छन् । वृद्धाश्रममा बसिरहेका उनीहरूलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै, बूढी खोला किनारमा एक महिलाको शब फेला परेको छ । मृतक महिलाको खनाखत भने हुन सकेको छैन । प्रहरीका अनुसार लगातारको वर्षाले मोरङको करिब ६० प्रतिशत भूभाग डुबानमा परेको छ । लगातार पानी परिरहेको र उद्धार सामग्रीहरूको अभावले उद्धार कार्यमा जटिलता आएको पनि प्रहरीले जनाएको छ । बाढी र डुबानबाट विस्थापितहरूलाई सुरक्षित ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।

करिब २५ हजार विस्थापित
प्रहरीले अहिलेसम्म करिब १२ सयलाई उद्धार गरेर सुरक्षित स्थानमा सारेको बताएको छ । प्रारम्भिक तथ्यांकअनुसार मोरङमा ७ हजार ५ सय ३२ घर डुबानमा पर्दा करिब २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

सयौँ नागरिक बाढीको बीचमा फसिरहेको सूचना आए पनि उनीहरूको उद्धार हुन सकेको छ । पानीको बहाव बढेको र सुरक्षित उद्धार सामग्रीको अभावमा उनीहरूलाई उद्धार गर्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले फोन सम्पर्क विच्छेद हुँदा पनि उद्धारमा समस्या आएको बताएको छ ।वर्षासँगै विराटनगर विमानस्थल पनि डुबानमा परेको छ । डुबानका कारण शुक्रबारदेखि नै उडान हुन सकेको छैन ।

झापा
अविरल वर्षासँगै झापाको जनजीवन अस्तव्यस्त भनेको छ । बाढीले बगाएर झापामा शनिबार रातिसम्म पाँचजनाको मृत्यु भएको छ । थप सात जना बेपत्ता भएको झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले बताएका छन् ।

मृत्यु हुनेहरूमा शिवसताक्षी नगरपालिका–१ धरमपुरका लेखनाथ पाण्डे, झापा गाउँपालिका–२ का धनमाया घोर्साने र उनकी छोरी कमला घोर्साने, कचनकवल गाउँपालिका–३ पथरियाका राम राजवंशी र झापा गाउँपालिका–७ की कमला दर्लामी रहेका छन् । बाढीले बगाएर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाको दक्षिण भाग बढी डुबानमा परेका छन् । बाढी र डुबानबाट भद्रपुर नगरपालिका, केचनाकवल गाउँपालिका, झापा गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका बढी प्रभावित भएका छन् ।

सातजना बेपत्ता
कन्काई नदीमा आएको बाढीले बगाएर झापा गाउँपालिका–२ का कालीप्रसाद राजवंशीसहित उनको चारजनाको परिवार बेपत्ता छ । उनीहरूको खोजी भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापा गाउँपालिका–७ सिमलबाढीमा बाबु–छोरी टेकबहादुर र खुसी दर्लामी बाढीले बगाएर बेपत्ता भएका छन् । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारतीय नागरिक कपोस मण्डल बेपत्ता भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुई दिनदेखिको लगातार वर्षाका कारण झापाको मेची, कन्काई, बिरिङ, रतुवा, कमल, अदुवालगायतका नदीमा आएको बाढीका कारण करिब १२ सय ५० घर–परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । विस्थापित हुनेमा महिला तथा बालबालिका बढी छन् ।

बाढी बस्तीमा पस्ने खतरा भएपछि नदी आसपासका नागरिक गए रातिदेखि सुत्न सकेका छैनन् । बाढीबाट विस्थापित भएकालाई विद्यालय, सार्वजनिक र सरकारी भवनमा राख्ने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए ।

विद्युत् र टेलिफोन सेवा अवरुद्ध
लगातारको वर्षाका कारण झापामा दुई दिनदेखि विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । आपसमा सम्पर्क नभएपछि उद्धार कार्यमा खटिन र घटनाको सूचना लिन समस्या भएको छ । हावाहुरीसहित निरन्तर वर्षा भइरहेकाले उद्धार कार्यमा टोली परिचालन गर्न समस्या भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

१२ सय ५० परिवार विस्थापित
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार अहिलेसम्म बाढी र डुबानले करिब १२ सय ५० घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । डुबान र बाढीको कटानका कारण विस्थापित परिवारलाई उच्च ठाउँमा रहेका सार्वजनिक भवन, पार्टी प्यालेसजस्ता ठाउँमा राखिएको छ ।

उनीहरूका लागि रेडक्रस, स्थानीय तह र विभिन्न संघसंस्थाले खाद्यान्नमा सहयोग गरेका छन् । उद्धारमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको छ । यस्तै, रेडक्रस र राजनीतिक दलका कार्यकर्ता पनि उद्धारमा जुटेको निमित्त प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

बाढीमा करिब ८० जना फसे, उद्धार हुन सकेन
८० जना अझै बाढीमा फसिरहेको झापा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापा गाउँपालिकामा करिब ३० जना, गौरीगन्ज गाउँपालिका–१ मा करिब ५० जना बाढीमा फसेका हुन । फसेकाहरूलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भए पनि सफल नभएको बताइएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर उडाउन नसकिएको तिवारीले जनाए ।

सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैबीबजारमा ढिस्को खसेर घर पुरिँदा चारजनाको मृत्यु भएको छ । २७ वर्षीया दुर्गाकुमारी खड्का, उनकी छोरी १५ वर्षीया शोभा , १० वर्षीय छोरा अनिश र आठवर्षीय छोरा मनीषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी टीकाबहादुर केसीले जानकारी दिए ।

सर्लाही
जिल्लामा तीनजनाको शव भेटिएको छ । साथै बाढीले केही घर भत्किएका छन् भने केही चौपाया मरेका छन् । कृषिजन्य भूभाग पनि कटान गरेको छ । तीनजनाको मृत्यु र लाखौँको भौतिक क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

बरहथवा नगरपालिका–१० मा शुक्रबार सोती खोलामा डुबेर १५ वर्षीय राकेश साहको मृत्यु भएको छ । शनिबार धनकौल गाउँपालिका–१ मा मानपुर बिर्ताटोलका ७५ वर्षीय किशोरी रायको फुसको घर ढलेर मृत्यु भएको कँडेलले बताए । शनिबार नै वाग्मती नदीले बगाएर ल्याएको पुरुषको शव भेटिएको उनले जनाए ।

दक्षिणपश्चिमी भूभाग जलमग्न
सिसौट, खैरवा, सक्रौल शिवनगर नजिकको मुस्लिम बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सदरमुकार मलगंगाको खुटौना, भाडसर, जैसीपोखरी, शिवसागर चोक डुबानमा परेका छन् । मानपुरको चमार टोल, महिनाथपुरको पासवान टोल, गोरैटा, धनकौल, रामवन, मूर्तिया, जानकीनगरलगायतका क्षेत्र जलमग्न छन् ।

पश्चिमी स्थान छोटौलमा बाग्मती नदीको बाँध फुट्नबाट रोक्ने प्रयास गरिएको कँडेलले बताए । बाँध फुट्दा सर्लाहीको २० देखि २५ गाउँ डुबानमा पर्ने हुँदा प्रशासनले बाँध नियन्त्रणको काम गरिरहेको उनले जनाए । हरिपुर नगरपालिकाको पिपरिया रनिया लखनदेहीको धार आइरहेकोले तटबन्द प्रयास भइरहेको छ । मलंगवा बरहथवा उद्योग वाणिज्य संघको पहलमा बाढीपीडितका लागि खाद्यान्न पठाइएको छ ।

बाँके
बाँकेमा बाढीका कारण ४ जनाको मृत्यु भएको छ । त्यस मध्ये तीन जना बालबालिका छन् । राप्ती सोनारी गाउँपालिका–४ की १२ वर्षीया अञ्जु थारू, ९ वर्षीया सरिता र ७ वर्षकी सुस्मिता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए । बाँकी एकको सनाखत हुन सकेको छैन । बाँकेमा सात सयभन्दा बढी घर डुबानमा परेको उनले जनाए । राप्ती सोनारी गाउँपालिका–३ र ४ का करिब तीन सय, नरायणापुर गाउँपालिका–३ का करिब एक सय ५०, खजुरा गाउँपालिका–६ का करिब ५२ र नेपालगञ्ज उपमहानगरपालिका–२० र २२ का करिब ७५ घर डुबानमा परेको एसपी तामाङले जानकारी दिए । डुबानमा परेका करिब दुई हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न पुर्याइएको तामाङले बताए ।

दाङ
तुलसीपुर नगरपालिका १३ स्थित तुइखोला र तलसीपुरस्थित बेलनी खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । भगवती सुनार र नरबहादुर रावतको मृत्यु भएको हो । बाढीका कारण दाङमा ६४ घरका तीन सय १९ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । खिलतपुरबाट मलइखोला आवतजावत गर्ने निर्माणाधीन पक्की पुल पनि खोलाले बगाएको छ ।

पाँचथर
पाँचथरमा ४ जनाको मृत्यु भएको छ । सालेलुङ गाउँपालिका एकतिनमा पहिरो जाँदा ८३ वर्षका वृद्ध त्रिलोचन कामी लोहार, ५९ वर्षका विष्णुभक्त राई, उनका १३ वर्षकी छोरी गंगा र नातिनी प्रियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नकुल पोखरेलले जानकारी दिए । त्यस्तै, बारामा २, कवानपुरमा १ र पाल्पामा पनि १ जनाको मृत्यु भएको छ ।साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position