बाढी र डुबानले ७ सय पर्यटक फसे, उद्दारमा कठिनाई

शिव पुरी साउन, काठमाडौं ।  लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् । सौरहा अहिले डुबानमा छ । त्यहाँ पर्यटक घुमाउन राखिएका केही सवारी समेत राप्तीमा बगाएको छ ।

शनिबारदेखि परेको पानी रोकिएको छैन् । राप्तीमा आएको बाढी पसे पछि सौरहाका एक सय बढी होटल डुवानमा परेको हो । क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेको जनाए । ‘उनीहरुलाई तत्काल उद्दार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पानी रोकिएपछि हात्तीको मद्धतले उद्धार गरी सुरक्षित स्थानमा लैजान्छौ ।’ उनीहरु सबै होटलको माथिल्लो तल्लामा बसेका छन् । राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् ।

होटल सञ्चालक दामोदर रेग्मीले डुवान पछि पर्यटक बोक्ने दुईवटा जिप बगाएको बताए । शुक्रबार र शनिबार सौरहा घुम्न आउने आन्तरिक पर्यटक धेरै हुन्छन् । उनीहरु समेत डुवानमा फसेका छन् । होटल वाइड लाइफका सञ्चालक शंकर सैंजुले झण्डै ६ फिट भन्दा बढी पानी जमेकाले होटलका पर्यटक आत्तिएको बताए । उनको होटलमा अमेरिकन, चाइनिज, श्रीलंकन, भारतीय र नेपाली गरि ४० जना पर्यटक फसेका छन् ।

प्रहरी प्रमुख एसपी दिपक थापाले पर्यटकको उद्दारमा जुट्ने बताए । ‘कतिपय स्थानमा जानै नसक्ने अवस्था रहेकोले उद्धारमा कठिनाई भएको छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ ।’

टोलीले भरतपुर १३ सितामाईबाट २ सय घरपरिवारलाई उद्दार गरि सुरक्षित स्थानमा सारेको छ । नजिकको घोल गाउँमा बाढी पसेर डुबान भए पछि उनीहरुलाई अन्यत्र सारिएको हो । अहिले माडीलगायत रत्ननगर, खैरहनी, सौराहा, मंगलपुर लगायतको क्षेत्र डुबानमा परेको जिल्ला प्रहरीले जनायो ।


Facebook Comment


No ads found for this position