बाढीको कुरा गर्दा डाँको छोडेर रोए डा. केसी

 दीपक दाहाल काठमाडौं- अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसी अचानक डाँको छाडेर रोए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए।

शनिबार बाढीको खबर सुने पनि यति ठूलो जनधनको क्षति भएको जानकारी उनलाई गराइएको थियो। भेटका क्रममा केही चिकित्सकले देशमा यति ठूलो संकट आइपर्‍यो भनेको सुनेपछि डा. केसीले बाढीको क्षतिबारे जिज्ञासा राखेका थिए। पछि पत्रपत्रिकामा छापिएका तस्बिरसमेत पल्टाएर हेरेपछि उनी निकै गम्भीर बनेका थिए।

‘मरेको बच्चा गाड्ने ठाउँ पनि नपाएर बगाउनुपर्‍यो भन्ने सुनाइदिएछन् साँझ, फेरि रुनु भएछ,’ उनका भाइ किशोर केसीले भने। शनिबार विपत्तिको खबर आएपछि कतिपयले अनशन स्थगित गर्नसमेत आग्रह गरेका थिए। त्यति बेला डा. केसीले उठेर पनि दुईतीन साता त्यहाँ जान नसक्ने भन्दै अनशनलाई निरन्तरता दिने बताएका थिए ।

‘उहाँले सप्तरी सिराहतिर डुबान भइरहन्छ सामान्य हो भन्ने ठान्नुभएको रहेछ,’ किशोरले भने, ‘८० भन्दा बढी मरेर ३० भन्दा बढी हराइरहेका छन् भन्ने सबै सुनाएपछि डाँको छोडेर रुनुभयो।’ डा. केसी रुन थालेपछि मुटुको गति २ सयभन्दा माथि गएसँगै सबैले सम्झाएका थिए। रुन छाडेपछि पनि राति अबेरसम्म ननिदाईकनै सोचमग्न भएर पल्टिएको र मुटुको चालमा समेत परिवर्तन देखिइरहेको सहयोगीले बताएका छन्।


Facebook Comment


No ads found for this position