नेपाल सरकारले २०२० मा नेपाल भ्रमण वर्ष मनाउने

सन् २०१८ देखि प्रवद्र्धनात्मक अभियान प्रारम्भ गरी २०२० मा नेपाल भ्रमण वर्ष मनाउने निर्णय

नेपाल सरकारले नेपाल भ्रमण वर्ष दुई वर्ष पर सारेको छ । यसअघि सन् २०१८ लाई भ्रमण वर्षका रूपमा मनाएर १० लाख पर्यटक भिœयाउने घोषणा सरकारको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपाल भ्रमण वर्ष सन् २०२० मा सार्ने निर्णय गरेको हो । भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन क्षेत्रलाई तत्कालीन राहतका लागि सन् २०१८ लाई भ्रमण वर्षका रूपमा घोषणा गरिएको थियो । तर, त्यसका लागि पर्याप्त तयारी नपुगेको भन्दै मन्त्रालयले भ्रमण वर्ष सार्ने निर्णय गरेको हो ।

१५ लाख पर्यटक भित्र्याउने लक्ष्य

सरकारले वैशाख २०७२ को भूकम्पअगाडि नै तयार पारेको भिजन २०२० मा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, पछिल्लो प्राकृतिक तथा राजनीतिक अवस्थाका कारण पहिलाकै गतिमा पर्यटक आगमन नबढेपछि सरकारले लक्ष्य संशोधन गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । ‘यसअघिका घोषणा व्यावहारिक रूपमा विश्लेषण गरेर भएका थिएनन्,’ उनले भने, ‘सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने आधार भने खडा हुँदै गएको छ ।’

सन् २०१८ देखि प्रचार–प्रसार

मन्त्रालयले सन् २०२० मा मनाउने भ्रमण वर्षको तयारी भने सन् २०१८ बाटै प्रारम्भ गर्ने निर्णय गरेको छ । यसक्रममा सन् २०१८ र १९ लाई तयारी तथा पर्यटन प्रवद्र्धन अभियान वर्ष घोषणा गरिएको छ ।

स्थानीय सरकारलाई सक्रिय बनाइने

मन्त्रालयका अनुसार यो अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय बनाउने योजना छ । यी सरकारहरूले निजी र सामुदायिक क्षेत्रसँग सहकार्य गरी पर्यटकीय प्रडक्ट विकास र प्रवद्र्धनमा काम गर्नेछन् । ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५),’ चौधौँ योजना (२०७३/७४–२०७५/७६) जस्ता दीर्घकालीन तथा अल्पकालीन योजनालाई आधार मानेर भ्रमण वर्षका लक्ष्य र रणनीति तय गरिएको मन्त्रालयले जनाएको छ ।

मूल आयोजक समिति मन्त्रिपरिषद्बाट

मन्त्रालयले नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समिति गठन गर्ने निर्णय गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । पर्यटनमन्त्री संयोजक रहने यस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहसंयोजकको भूमिकामा रहनेछन् । सरोकारवाला मन्त्रालयका सचिव, पर्यटन तथा अन्य व्यावसायिक संगठनका अध्यक्षहरू सदस्यका रूपमा रहने गरी समितिको ढाँचा तयार पारिएको छ ।

अहिलेसम्म सञ्चालित पर्यटन प्रवद्र्धनात्मक अभियान

सन् १९९८ ः नेपाल भ्रमण वर्ष
सन् २००२ र २००३ ः गन्तव्य नेपाल अभियान
सन् २००७ ः पोखरा भ्रमण अभियान
सन् २०११ ः नेपाल पर्यटन वर्ष
सन् २०१२ ः लुम्बिनी भ्रमण वर्ष


Facebook Comment


No ads found for this position