२३ जिल्लामा एसएमएस सेवा निःशुल्क

साउन, काठमाडौं । नेपाल टेलिकमले बाढी तथा पहिरोबाट निम्तिएको विपत्तिमा राहत तथा उद्धारको कामलाई सहज बनाउन भन्दै एसएमएस सेवा निःशुल्क गरेको छ । कम्पनीले आफ्नो नेटवर्कमा मंगलबारसम्म देशभर एसएमएस सेवा निःशुल्क गरेको हो ।

दूरसञ्चार प्राधिकरणबाट अतिप्रभावित २३ जिल्लामा एसएमएस सेवा निःशुल्क गर्न निर्देशन दिएको भए पनि टेलिकमले परिस्थितिको गम्भीर्यतालाई मनन गर्दै मुलुकभर नै यस्तो सेवा दिने घोषणा गरेको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान–प्रदान गर्न सहज होस् भन्ने उद्देश्यका साथ एसएमएस निःशुल्क गर्न लगाइएको जानकारी दिए । सरकारी स्वामित्वमा रहेको टेलिकमले विभिन्न विपत्को समयमा आफ्नो सेवामार्फत राहत कार्यमा सहयोग गर्दै आइरहेको छ । ०७२ मा गएको भूकम्पको समयमा पनि टेलिकमले आफ्ना सम्पूर्ण सेवा निःशुल्क गरेको थियो ।

दूरसञ्चार सेवा नियमित गर्न निर्देशन

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेको भन्दै सम्पूर्ण दूरसञ्चार सेवा नियमित रूपले सुचारु हुने व्यवस्था मिलाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले सेवा सुचारु गरिराख्नका लागि आकस्मिक रूपमा गर्नुपर्ने सबै व्यवस्था अपनाउन सम्पूर्ण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

सेवा विस्तारमा टेलिकमले २२ अर्ब लगानी गर्ने

नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको चालू आर्थिक वर्षमा करिब २२ अर्ब रुपैयाँ पुँजीगत लगानी गर्ने भएको छ । कम्पनीकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १७ प्रतिशत ग्राहक थप्ने र कम्पनीको सेवा विस्तार गर्ने कार्यमा सो लगानी गर्ने बताइन् ।

चालू आर्थिक वर्ष ०७४/७५ भित्र १ करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भन्दै उनले ग्राहकको रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्रदान गर्नका लागि फोरजी एलटिई सेवा सुदृढ गर्ने कार्य अगाडि बढाइएको जानकारी दिइन् । उनले भनिन्, ‘त्यसका लागि बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’

३ सञ्चारकर्मीलाई टेलिकमको सम्मान

नेपालमा दूरसञ्चार सेवाको १ सय वर्ष पुगेको अवसरमा नेपाल टेलिकमले ३ सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । गोरखापत्र दैनिकका विश्वास रेग्मी तथा नागरिक दैनिकका सन्तोष न्यौपाने र सन्तोष पोखरेललाई संयुक्त रूपमा पुरस्कृत गरिएको हो ।


Facebook Comment


No ads found for this position