निजगढ विमानस्थल बुट मोडलमा बनाउन सुझाव

केदार दाहाल काठमाडौंः सरकारले बारामा निर्माण गर्ने भनेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बुट मोडल नै उपयुक्त हुने सुझाव दिइएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवलाई बुझाइएको सुझावमा निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडल उपयुक्त हुनेगरी प्रतिवदेन बुझाइएको हो ।

सरकारले गत जेठमा गठन गरेको मोडालिटी सुझाव समितिले दुई महिनाको अध्ययनपछि बुट मोडल उपयुक्त हुनेगरी सुझाव दिएको हो । सरकारले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा मोडालिटी सुझाव समिति गठन गरेको थियो ।

“सबै विज्ञहरूसँग छलफल तथा नेपाललाई आर्थिक भार नपर्ने गरी निर्माण गर्ने भनेको उपयुक्त मोडल बुट नै हो भन्ने हाम्रो निष्कर्ष रह्यो,” समितिका सदस्य सचिव हरिबहादुर खड्काले भने । बुट सबैभन्दा उपयुक्त मोडल भए पनि सरकारले लगानी जुटाउने हो भने ईपीसी मोडल पनि उपयुक्त हुने सुझाव प्रतिवेदनमा दिइएको खड्काले जानकारी दिए ।

२०६४ सालमा मन्त्रिपरिषद् बैठकले विमानस्थल बुट मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार पार्न कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडवल्लु) लाई जिम्मा दिएको थियो ।

कम्पनीले २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहित पहिलो चरणको काम २०७० सम्ममा सम्पन्न गर्ने लक्ष्य दिएको थियो । तर, उक्त प्रतिवेदन यत्तिकै थन्किएको छ ।

पर्यटनमन्त्री देवलाई बुझाइएको प्रतिवेदनमा किन बुट मोडल उपयुक्त हुने भन्ने कुरा सबै प्रष्टसँग उल्लेख गरेको सदस्यसचिव खड्काले बताए । “नेपालजस्तो ठूलो लगानी र व्यवस्थापन गर्न नसक्ने देशहरूले जाने भनेको बुट मोडल नै हो । त्यसमा लगानी र सञ्चालनको समस्या हुँदैन, तर राज्यलाई राजस्व भने प्राप्त हुन्छ,” खड्काले भने ।

पहिले एलएमडब्लुलाई जिम्मा दिनेगरी बुट मोडल तयार पार्दा ३० वर्षपछि नेपाललाई हस्तान्तरण गर्ने प्रस्ताव थियो । यसपटकको प्रतिवेदनमा पनि मन्त्रिपरिषद्ले कुन देशको कुन कम्पनीलाई दिन सक्ने निर्णय लिन सक्ने उल्लेख गरिएको छ भने ग्लोबल टेन्डर गरेर कम्पनी छनोटसमेत गर्न सकिने व्यवस्था रहेको छ । ईपीसी मोडलमा भने सरकारले लगानी जुटाउनु पर्ने हुन्छ ।

पोखरामा निर्माण सुरु भएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ईपीसी मोडलमा निर्माण हुन लागेको हो । ईपीसी मोडलमा निर्माणमा जाने हो भने सरकारले वार्षिक ७० अर्बभन्दा बढी रकम छुट्याउनु पर्ने देखिएकोले सम्भव नहुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा मात्र बुट मोडलबारे अन्योल रहेको उल्लेख गर्दै खड्काले भारतमा ६ वटा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरू बुट मोडलमा निर्माण भएको बताए । भरतमा इन्दिरा गान्धी, बैंग्लोर, बम्बई, गोवालगायत विमानस्थल बुट मोडलमा निर्माण भएका हुन् ।

हाल निर्माणको चरणमा रहेका अन्य विमानस्थलहरू पनि बुट मोडलमा नै निर्माण भइरहेका छन् । सुझाव समितिले दिएको प्रतिवेदनअनुसार एउटा मोडल छनोट गरेर मन्त्रालयले मन्त्रिपरिषद्बाट मोडलको टुंगो लगाउने खड्काले जानकारी दिए । सुझाव समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य थिए ।

लामो समयदेखि चर्चामा रहेको उक्त विमानस्थल दुई चरणमा निर्माण गर्ने सरकारको तयारी छ । ३६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावनमार्ग हुनेछ । उक्त धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरू उडान÷अवतरण गर्न सक्छन् ।

निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेकइन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन् । त्यसैगरी यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमनका लागि बनाइनेछ ।


Facebook Comment


No ads found for this position