पाँच सडकका २८ स्थानमा क्षति, धेरैजसो सडक र पुल सामान्य मर्मत गर्दा हुने अवस्थामा

राजु बास्कोटा  काठमाडौं: बाढी र पहिरोले तराई र पहाडको लाइफलाइनका रूपमा रहेका विभिन्न पाँच सडकका २८ स्थानमा क्षति पुगेको छ। राष्ट्रिय राजमार्गमा पाँच फिटसम्म पानी जमेका कारण सडक र पुल जोडिएका स्थानमा बढी क्षति भएको छ। धेरैजसो सडक र पुल सामान्य मर्मत गर्दा हुने अवस्थामा भए पनि कतिपय पुनः निर्माण गर्नुपर्ने भएको छ।

काँकडभिट्टादेखि इटहरीसम्मको सडकखण्डमा एक, इटहरी-ढल्केबर सडकमा सात, ढल्केबर-हेटौंडा सडकमा १६, हेटौंडा-बुटवलमा र बुटवल-कोहलपुर सडकमा तीन÷तीन स्थानमा गरी २८ स्थानमा क्षति पुगेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले जानकारी दिए। क्षति सडक र पुल दुवैमा पुगेको छ । यी सडक र पुलका अधिकांश भाग सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन्। महोत्तरीको रातु पुल ३० सेमि धसिएको छ।

यो पुल तत्काल मर्मत गर्नुपर्ने गरी क्षति भएको छ। यसको विकल्पमा सडक विभागले तीन वर्षदेखि नै अर्को नयाँ पुल निर्माण गरिरहेको छ। सडकमा क्षति पुगेर यातायात अवरोध भएको सडकमा इटहरी-ढल्केबर खण्डमा सडक माथिबाटै बाढी पसेको यसलाई पनि तत्काल मर्मत गर्नुपर्ने देखिएको छ। धनगढी-बरियारपट्टी सडकमा ६० मिटर सडक बाढीले क्षति पु¥याएको छ।

ढल्केबर-हेटाैडा सडकको जंघाखोलाको पुलमा भत्किएका कारण यातायात अवरुद्ध भएको छ। यही सडकमा पर्ने जुझौरा पुल ६० सिमि धसिएका कारण यहाँ सवारी आवागमन रोकिएको छ। यसैगरी हेटौंडा-बुटवल र बुटवल-कोहलपुरमा पनि तीन÷तीन स्थानमा क्षति पुगेका कारण यातायात अवरुद्ध छ।

सामान्य मर्मतबाहेक जटिल समस्या कुनैमा पनि नभएको सडक विभागका महानिर्देशक सिग्देलले बताए। रातु पुलमा तीन वर्षअगाडि नै नयाँ बनाउने काम भइरहेकाले हाललाई यसको विकल्प तयार भइसकेको छ। जुझौराको पुलमा क्षति पुगेपछि महेन्द्र राजमार्गबाट पूर्वतर्फको सडक सोमबार साँझसम्म पनि अवरुद्ध भएको सडक विभागको भनाइ छ।

सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार सडक र पुलको कनेक्सन भएको ठाउँबाहेक अन्यत्रका राष्ट्रिय राजमार्गमा समस्या छैन। महेन्द्र राजमार्ग खुलेको छ भने अन्य सडकमा पनि डाइभर्सन गरेर, समस्या देखिका पुलमा हल्का सवारीसाधन मात्रै गुडाएर भए पनि यातायत सञ्चालन गरिएको छ।

दूरसञ्चार सेवा अवरुद्ध
सडकमा जमेको पानीको निकास दिन सम्बन्धित सेवाप्रदायकलाई जानकारी नै नदिई सडक कटान गर्दा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक सेवाको सञ्चार अवरुद्ध हुँदा भयावह र झन् ठूलो समस्या आएको बताएको छ। यो समस्या बाढीग्रस्त क्षेत्र तथा उपत्यकामा पनि रहेकाले आवश्यक समन्वयको आवश्यक रहेको प्राधिकरणले बताएको छ।

हालको समयमा भने बाढीले कतिपय स्थानमा विद्युत् सेवा नै अवरुद्ध बनाएको छ। दूरसञ्चार सेवाप्रदायकको पनि पावर तथा ब्याट्री सकिएकाले सेवा प्रवाहमा समस्या भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए।


Facebook Comment


No ads found for this position