राजमार्गमा यात्रुको बिचल्ली

नवीन पौडेलठाकुरसिंह थारु, नवलपरासी/बाँके

३२ साउन। हंसपुरका धनीराम चौधरी ५ दिनअघि काठमाडौंबाट परिवारसहित घर हिँडेका थिए । मंगलबार बिहानसम्म घर पुगेका छैनन् । एक दिन चितवनस्थित नारायणगढ–मुग्लिन खण्डको पहिरोमा जाममा फसे । त्यहाँको जाम कटेपछि घर पुग्नेमा ढुक्क थिए । थकान र अनिँदोले बसमा एकैछिन झकाए । तर, शुक्रबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको दुम्किबास पुगेपछि सहचालकले दाउन्नेमा पहिरो गएकाले लामो जाम रहेको बताएपछि निराश भए ।

गत वर्षसम्म दाउन्नेमा खस्ने पहिरो एक/दुई घण्टामै पन्छाउने गरिएको थियो । यसपटक त्यस्तो भएन । ठूलो पहिरो खसेको थियो । बीच जंगलमा के खाने ? कसो गर्ने भन्ने पिरलोमा परे । ‘एक्लै भए त हिँडेरै बर्दघाटसम्म पुगेर अर्को बसमा चढ्ने थिएँ, तर बच्चासहित लामो बाटो हिँड्न नसक्ने भएपछि तीन दिनसम्म जंगलमा रात बिताउनुपर्‍यो,’ उनले गुनासो गरे । उनीहरू सवार बसले सोमबार राति दुई बजे बल्ल दाउन्ने पार गरेको थियो ।

अविरल वर्षापछि दाउन्नेमा खसेको पहिरो र राजमार्ग नै भासिएपछि हजारौं यात्रु अपलत्र परेका छन् । झरीमा गाडीभित्रै तीन दिन बिताउँदा कतिपय यात्रु बिरामी परेका छन् । रोल्पाका सन्दीप बुढाको पीडा झन् कारुणिक छ । आमाको उपचार गरेर फर्किरहेका उनी अलपत्र परे । आमाका लागि खानपान नमिलेपछि उनी चिन्तामा परेका थिए । ‘जंगलबीचमा दुई दिनसम्म बस्नुपर्दा जामले नै आमाको ज्यान लिने हो कि भन्ने चिन्ता भयो,’ उनले भने, ‘धन्न स्थानीय ट्रयाक्टर व्यवसायीले सोमबार वृद्धवृद्धा र बिरामीलाई बर्दघाटसम्म पुर्‍याएपछि ढुक्क भएँ ।’

पाँच दिनयता पानी पर्नासाथ दाउन्नेमा पहिरो झर्छ । पहिरो पन्छाउन नभ्याउँदै राजमार्ग भासिने समस्या थपिन्छ । ‘दाउन्नेको सडक भासिएपछि ५ दिन बुटवलमा बिताएँ,’ भरतपुर क्यान्सर अस्पतालका चिकित्सक शिवजी पौडेलले भने, ‘यात्रुले भोकभोकै दिन कटाएको देखेँ ।’
यहाँ ४ दिनसम्म पानीको भरमा बसमै रात बिताउनुपर्ने बाध्यता छ । पहिरो र भत्केको सडकका कारण एम्बुलेन्स समेत पार हुन सकेका छैनन् । साना सवारी साधन समेत नगुडेपछि यात्रुको बिचल्ली छ । सोमबार राति डाइभर्सन निर्माण गरेर केही यात्रुवाहक गाडी पार गराएपछि यात्रुलाई राहत मिलेको थियो ।

राजमार्गको दाउन्ने खण्ड १५ किलोमिटर लामो छ । यहाँ एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ । २ ठाउँमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । पानी निकासका लागि ह्युम पाइप राखिएको सडक भासिने त्रासले निर्बाध गाडी चल्न सकेका छैनन् । मंगलबारदेखि एकतर्फी गाडी सञ्चालन गराइएको छ । १५ किलोमिटर पार गर्नका लागि घण्टौं लाग्ने गरेको छ । मालवाहक ट्रक भने सञ्चालन हुन सकेका छैनन् ।

सधैंको समस्या 
यो नयाँ समस्या होइन । प्रत्येक वर्षातमा यहाँ पहिरो जान्छ र सडक भासिरहन्छ । सडक विभागको बेवास्ताका कारण अहिले थप समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

यसअघि दुम्किबास र अरुण खोलामा सडक भासिए पनि एकैदिनमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । सामान्य वर्षा हुँदा समेत राजमार्ग अवरुद्ध हुन थालेपछि ओरालो र उकालोमा गाडीलाई थप जोखिम छ । सडक दायाँबायाँ निकास नहुँदा वर्षायामको पानीले सडक भत्काएको हो ।

भिरालो पहाडबाट झरेको भलले सडक भरिँदा हलुका सवारीसाधनलाई समस्या भएको छ । दुम्किबासदेखि बर्दघाटसम्मको १५ किलोमिटरको तीन ठाउँमा ठूला र दस ठाउँमा साना पहिरा झरे पनि त्यसको व्यवस्थापन हुन सकेको छैन । दाउन्ने पहाड ठाउँठाउँमा चिरा परेको छ ।

यसको दीर्घकालीन समाधानमा नलाग्दासम्म बर्सेनि यो समस्या बल्झिरहने स्थानीय झविन्द्र सिंजाले बताए । ‘कतिखेर पहिरो जाने हो थाहा हुँदैन,’ उनले भने, ‘हिउँदमा सुक्खा पहिरो र वर्षातमा ढुंगा झर्ने त्रास छ ।’ बाटोको अवस्थाले गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको छ । साँघुरो बाटोमा भारतीय ट्यांकर र ठूला सवारी उकालोमा बिग्रिँदा घण्टौं जाम हुने ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । सडक डिभिजन कार्यालयका इन्जिनियर अमित बर्माले भीर खोपेर डाइभर्सन बनाएको र पानी रोकिएपछि सडकको दायाँबायाँ पर्खाल उठाएर स्थायी बाटो निर्माण गरिने बताए ।

यात्रुलाई नि:शुल्क भोजन
पहिरोले चार दिनसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सयौं यात्रु अलपत्र परे । पहाड र जंगलका बीचमा यात्रु फसेकाले भोकै थिए । यात्रु आपतमा परेको देखेर दुम्कीबासका स्थानीयले नि:शुल्क रूपमा खाजा र खाना खुवाएका छन् । स्वस्फूर्त उनीहरूले यात्रुलाई सामूहिक रूपमा खाना खुवाएका हुन् ।

‘अप्ठ्यारोमा पर्दा सहयोग गर्नु नै धर्म हो,’ स्थानीय प्रकाश खनालले भने, ‘चन्दा संकलन गरेर मेस चलाएका हौं ।’ स्थानीय लखन थापा मेमोरियल एकेडेमीका विद्यार्थीले अलपत्र परेका अशक्त र वृद्धवृद्धालाई गाडीमा पुगेर खाजा वितरण गरेका थिए । दुम्किबास र अरुणखोलामा सोमबार मात्र स्थानीय युवा तथा विभिन्न संघसंस्थाको पहलमा २ हजारलाई खाजा र १० हजारलाई खाजा वितरण गरिएको थियो ।

बाँके खण्डमा यातायात सञ्चालन
बाढीले भत्काएका पुलहरू मर्मत गरिएपछि पूर्व–पश्चिम राजमार्गको बाँके खण्डमा यातायात सञ्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने शमशेरगन्ज नजिकैको परुवा र गन्धैली नालामा सडक डिभिजन कार्यालयले माटो र ग्राभेल पटान गरेपछि सञ्चालनमा आएको हो ।
सोही राजमार्गमा पर्ने गाभर पुलको सीटीसी कालिका कन्सट्रक्सनले मर्मत गरेको छ । सोमबार राति मर्मत गरिएपछि यातायात सुचारु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, सुरक्षा अधिकारी र प्राविधिक टोली उपकरणसहित राजमार्ग सञ्चालनका लागि खटिएका थिए । गन्धैली नालाको पुल एकतर्फी मात्रै सञ्चालनमा आएको छ । मंगलबार रातिसम्म दुईतर्फी सवारीसाधनहरू चल्ने गरी मर्मत गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्ग मर्मतमा सुरक्षाकर्मीसमेत खटिएका थिए । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position