बाढिले बगाएका जनावर भारतबाट फिर्ता ल्याउने निकुञ्जको तयारी

३२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ एकसिँगे गैंडालाई बाढीले बगाएर भारतसम्म पुर्‍याएको भेटिएको छ ।

हालसम्म पहिचानभएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकीनगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँडा देखिएको छ ।

नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको गैंडालाई ल्याउने प्रयास सुरू भएको छ ।यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ, बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँडा बुधबार ल्याइने बताए ।

सौराहाबाट प्राविधिक टोली त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए । भारतीय बाल्मिकी टाईगररिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए । बाढीले अर्को एक गैंडा भारतकै बाल्मिकी नगरमा पुर्‍याएको छ ।

त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंडा भेटिएका छन् ।गैंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैंडाको सुरक्षाका लागिआवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृतअवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ ।


Facebook Comment


No ads found for this position