पूर्वाधार अभावले वैकल्पिक पदमार्ग चलेनन्

कृष्णमणि बराल पोखरा : विश्वचर्चित अन्नपूर्ण पदमार्गमा सडक सञ्जाल पुगेपछि त्यसको विकल्पमा पहिचान गरिएका पदमार्ग चल्न सकेका छैनन् । होटल, रेस्टुरेन्ट, ठाँटीलगायत आवश्यक पूर्वाधार नहुँदा वैकल्पिक पदमार्गमा पर्यटक लैजान नसकिएको पर्यटन व्यवसायीको भनाइ छ ।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ, मुस्ताङ, कास्की, लमजुङ क्षेत्रका अधिकांश भागमा मोटर बाटो बनिसकेको छ । यसैले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले लाखौं रुपैयाँ खर्चेर आठवटा वैकल्पिक पदमार्ग रेखांकन गरेको थियो । रेखांकन गरेका पदमार्गमा यात्रुका लागि बस्ने खाने होटल तथा रेस्टुरेन्टको अभाव भएकाले नयाँ पदमार्गमा पर्यटक लैजान नसकिएको ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष दीपक अधिकारीले बताए ।

नयाँ पदमार्गको सरकारी वनक्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न नसकेको एक्यापकी पर्यटन अधिकृत रश्मि आचार्यले जानकारी दिइन् । ‘होटल, रेस्टुरेन्ट बनाउन वन मन्त्रालयमा कागजी प्रक्रिया अगाडि बढाए पनि स्वीकृति आएको छैन’, उनले भनिन्, ‘यसैले पनि सरकारी वनक्षेत्रमा पूर्वाधार बनाउन नपाइएको हो ।’ पुरानो पदमार्ग क्षेत्रमा लगानी गरिसकेका स्थानीयले नयाँ ठाउँमा थप लगानी गर्न उत्साहित छैनन् ।

विश्वमै ख्याति कमाएको अन्नपूर्ण फेरो पदयात्राअन्तर्गत लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दीलगायत खण्डमा सडक बनेपछि आठ वर्षअघि नै एक्यापले त्यसको विकल्पमा आठवटा र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरले चारवटा पदमार्ग पहिचान गरेको थियो । एक्यापले सिक्लेसदेखि मनाङको तिमाङसम्म सातदेखि आठ दिनको, ताङतिङबाट भुजुङ हुँदै बेसीसहरसम्म ६ देखि सात दिनको पदमार्ग सर्भे गरी सञ्चालन गरेको थियो ।

सडक सञ्जाल जोडिएका पदमार्गमा गाडीले उडाएको धूलोबाट बच्न पर्यटक नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । त्यसको विकल्पमा टान पोखरा च्याप्टरले पनि अन्नपूर्ण पदयात्रा क्षेत्रमा नयाँ पदमार्गको अध्ययन गरी चारवटा नयाँ पदमार्ग रेखांकन गरी सञ्चालनको तयारीमा रहे पनि पर्यटन पूर्वाधारको अभावमा सञ्चालन हुन नसकेको टान पोखरा च्याप्टरका अध्यक्ष अधिकारीले बताए । टानले आठदेखि १० दिनको धौलागिरि आइसफल, धौलागिरि पर्यटन विकास समिति र पर्यटन बोर्डको सहयोगमा अध्ययन गरी सञ्चालनको तयारी गरेको छ ।

म्याग्दीको कालीगण्डकी गहिरो गल्छीनजिकैको पहिरो थाप्लो, कोप्चेपानीदेखि मुक्तिनाथ, लमजुङको भुजुङदेखि दूधपोखरी, कास्कीको खारापानीदेखि काभ्रे गाउँ हुँदै सिक्लेस पदमार्ग पूर्वाधार अभावमा फाट्टफुट्ट मात्र पर्यटक जाने गरेको उनले बताइन् । म्याग्दीको नारच्याङदेखि पहिरो थाप्लोसम्म चार दिनको र सावेददेखि टाढापानी, घान्द्रुकसम्म चार दिनको पदमार्ग पनि यही समस्याका कारण नियमित रूपमा सञ्चालनमा आउन नसकेको पर्यटन अधिकृत आचार्यले जानकारी दिइन् ।

माछापुच्छ्रे मोडल ट्रेक, पर्वतको बनौ, सालिजा हुँदै मोरेडाँडा, टाढापानीदेखि हिडनलेक हुँदै छोमरुङ पदमार्ग टानले अध्ययन गरी सञ्चालनमा ल्याए पनि पदयात्रा क्षेत्रमा बस्ने खाने सुविधा नहुँदा समस्या परेको टान अध्यक्ष अधिकारीले बताए । पदयात्रा क्षेत्रमा धूलो र गाडीको आवाजले पर्यटक वैकल्पिक पदयात्राको खोजी गरे पनि तयारी अवस्थामा रहेका नयाँ पदमार्ग सञ्चालनमा ल्याउन नसक्दा समस्या परेको अधिकारीको भनाइ छ ।

पदयात्रा क्षेत्रमा पूर्वाधार नभए पनि टेन्ट प्रयोग गरी पर्यटकलाई लैजान सकिने भए पनि पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा र बजेट पर्यटक आउने गरेकाले क्याम्पिङका रूपमा पदयात्रा गराउन समस्या परेको टान पोखराका पूर्वअध्यक्ष रामचन्द्र शर्माले बताए ।


Facebook Comment


No ads found for this position