चीन जाने सडक खुल्यो

आनन्द गौतम, ताप्लेजुङ

भाद्र १०, २०७४- सडकको ट्रयाक खुले पनि यातायातका साधन नहुँदा जिल्लाको ओलाङचुङगोलाका बासिन्दा तनावमा परेका छन् । सडक खुलेसँगै छिमेकी देश चीनबाट ठूला–साना सवारी साधन आएका छन् । तर, ओलाङचुङगोलाका बासिन्दा चीन जानुपरे सवारी साधन छैन ।

सदरमुकाम फुङलिङमा दसैंको बेला ओलाङचुङगोला घुम्न जानेको सूची लामै बनेको छ । सरकारी कर्मचारीदेखि व्यवसायीसम्मले गोला जाने योजना बनाएका छन् । उनीहरुको चाहना आफ्नो देशको सिमानासम्म पुग्ने छ । ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पा ओलाङचुङगोला आउन खोज्ने सबैले सकेसम्म छिमेकी देश चीनको तिब्बत पुगेर फर्कने नत्र पनि नेपाल चीन सिमाना टिप्ताला भञ्ज्याङ पुग्ने चाहना राखेको बताउँछन् ।

ओलाङचुङगोलासम्म पैदल यात्रा गरे पनि त्यसपछि गाडीमा जाने चाहना धेरैको छ । पैदल यात्रा कठिन पनि छ । टिप्ताला भञ्ज्याङ पुग्न बस्तीबाट २२ किलोमिटर छ । यस्का लागि पुरै एकदिन हिँड्नुपर्छ । अहिले सदरमुकाम फुङलिङबाट फक्तालुङ गाउँपालिकाको तापथोकसम्म मोटरबाटो पुग्छ । सदरमुकामबाट तापथोक हुँदै एक दिनमा लेलेपको इलाडाँडाँ पुगिन्छ । भोलिपल्ट बिहान १२ बजेसम्ममा गोलाको बस्ती पुगिन्छ । गाडी सुविधा भए तिब्बतको रिउ बजारमा एकरात बिताएर पनि सदरमुकाम फुङलिङबाट पाँच दिनमा यात्रा पूरा हुन्छ । तर, गाडीको व्यवस्थापन कसरी गर्ने समस्या भएको छ ।

सडक निर्माणमा सक्रिय ताम्ला उक्याव काठमाडौंमा शुक्रबार यस विषयमा छलफल भएको बताउँछन् । उनी चीनका लागि पूर्वनेपाली वाणिज्य दूत पनि हुन् । काठमाडौंमा रहेका हामी वालुङ समाजका प्रतिनिधिहरुले छलफल गर्‍यौं । सडक मर्मत गरी राख्न एउटा स्काभेटर मेसिन किन्ने विषयमा पनि छलफल चलायौं । तर अहिले गाडी नै नभएको विषयमा के गर्ने भन्ने कुरामा निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

ओलाङचुङगोलामा भन्सार कार्यालय भए पनि यहाँ कार्यालय सहयोगी मात्रै बस्छन् । त्योभन्दा माथिल्लो पदका व्यक्ति छैनन् । ‘चीनबाट गाडी किनेर ल्याउन पाउने, नपाउने विषयमा पनि जानकार छैनौं,’  सडक उपभोक्ता समिति अध्यक्ष छेतेनले भने, ‘गाडीको रस नभएकाले यस्मा लगानी गर्ने स्थानीय पनि छैनौं ।’ सडक निर्माणपछि सदरमुकामसँगको दूरी छोटिएकाले गाउँमा होमिस्टे सञ्चालन गर्ने, आउने अतिथिलाई राम्रो सत्कार गर्ने जस्ता विषयमा गाउँमा भने परामर्श भइरहेको छ ।

फक्तालुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ गाउँपालिकाले सडक मर्मतमा स–सानो लगानी गर्न सक्नेभए पनि अहिले नै गाडी किन्ने जस्ता ठूलो लगानी गर्न नसक्ने बताउँछन् । यो गाउँपालिका सदरमुकामको फुङलिङ नगरपालिका र चीनको तिब्बतसम्म सिमाना जोडिन्छ । उनले चीन सरकारसँग मिनि बस उपहार माग्ने विषयमा पनि छलफल भएको तर निर्णय नभएको बताए ।

मुस्ताङलगायत सिमावर्ती जिल्लाको अभ्यासका विषयमा पनि जानकारी लिने उनले बताए । तापेथोकबाट ओलाङचुङगोला जोड्न ३५ किलोमिटर बढी दूरी बाँकी रहेको उत्तर-दक्षिण लोकमार्ग आयोजना ताप्लेजुङका प्रमुख कुबेर नेपाली बताउँछन् । ओलाङचुङगोलादेखि नेपाल चीन सिमाना टिप्तला भञ्ज्याङसम्मको सडक ट्रयाक खुलेको छ । वालुङ समाज, साविकको गाविस र सांसद डम्वरध्वज तुम्वाहाम्फेको सांसद विकास कोषको रकम परिचालन गरी अढाइ करोडमा सडक निर्माण गरिएको हो ।

ट्रयाक खुलेपछि अहिलेसम्म चीनबाट दुईवटा साना सवारी साधन, डिजेल बोक्ने ट्यांकर, लोडर, स्काभेटर मेसिन आएर फर्किएका छन् । सडक निर्माण गरेर पनि याक र चौंरीलाई सामान बोकाउनु परे लज्जास्पद हुने बुझाइ स्थानीयमा छ ।

ताप्लेजुङको ओलाङचुङगोलामा चीनबाट आएका साना सवारी र सडक अनुगमनका लागि आएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै स्थानीय
 तस्बिर : आनन्द गौतम


Facebook Comment


No ads found for this position