आरोहीसँग गैरकानुनी रकम असुली

 छेटु शेर्पा

काठमाडौं : सगरमाथा, ल्होत्से र नुत्से हिमाल आरोहण गर्ने विदेशी आरोहीसँग स्थानीय संघसंस्थाले गैरकानुनी रूपमा रकम असुल्दै आएका छन् । सरकारलाई बुझाउने आरोहण अनुमति दस्तुरबाहेक थप ८ सय डलर स्थानीय संस्थालाई बुझाउन आरोही बाध्य छन् ।

सोलुखुम्बुको सगरमाथा प्रदूषण नियन्त्रण समितिले ६ सय र पर्वतारोहण सञ्चालक संघले २ सय डलर असुल्ने गरेका हुन् । आरोहणका लागि राज्यलाई ११ हजार डलर बुझाए पनि थप रकम तिर्नुपरेको भन्दै आरोहीले नियमन गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । नेपालबाट आरोहण विश्वकै महँगो भएका गुनासो उनीहरूले गर्दै आएका छन् । जबकि चीनले आरोहण शुल्क तीन हजार डलर मात्रै लिन्छ ।

पर्यटन विभागले दररेट निर्माण समिति बनाएर मूल्यांकनका आधारमा शुल्क लिनू भनेपछि फोहोर व्यवस्थापन र आइसफलको बाटो निर्माण गरेर आरोहीसँग एक पटकका लागि ६ सय डलर लिने गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । दुई क्याम्पभन्दा माथि बाटो बनाउने भन्दै पर्वतारोहण सञ्चालक संघले पनि दुई सय डलर असुल्दै आएको हो ।

 

विभागका महानिर्देशक दिनेश भट्टराईले रकम असुल गरेको र बाटो नबनाएको जस्ता निवेदन परेकाले नियमन गरी कानुनी दायरमा ल्याउन पहल थालेको बताए । ‘विभिन्न संस्था र समूहले खुम्बु क्षेत्रमा शुल्क असुल्ने गरेको प्रशस्त उजुरी परेका छन्, कारबाहीको प्रक्रियामा छु ।’

सरकारलाई बुझाउने आरोहण अनुमति दस्तुरबाहेक थप ८ सय डलर स्थानीय संस्थालाई बुझाउन आरोही बाध्य छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङले फोहोर व्यवस्थापनका लागि प्रतिकिलोग्राम ३५ र दिसापिसाब व्यवस्थापनबापत एक सय २० रुपैयाँ समितिले लिने गरेको बताए । यस वर्ष सगरमाथा आरोहणको बाटो बेलायती गोरखा सैनिकको टोलीले शेर्पा गाइडलाई प्रयोग गरी निर्माण गरेको थियो ।

विभागले आरोहण समयमा सम्पर्क अधिकृत पठाएर नियमन गर्दै आएको जनाए पनि अधिकांश सम्पर्क अधिकृत आधारशिविरसम्म नपुग्नाले आरोहण क्षेत्रमा समस्या बढ्न थालेको आरोही गाइड लाक्पा शेर्पाले बताए । फोहोर व्यवस्थापन र बाटो निर्माणजस्ता प्राविधिक कामको जिम्मा स्थानीय तहलाई दिनुपर्ने उनको भनाइ छ ।


Facebook Comment