अब सौर्य एयरलाइन्सको हवाई सेवा धनगढीसम्म

धनगढी : सौर्य एयरलाइन्सले धनगढीमा सेवा विस्तार गरेको छ । अबको केही दिनमै सुदूरपश्चिमको प्रमुख केन्द्र धनगढीमा पाँचौ हवाई सेवाको रुपमा सौर्यले उडान भर्न लागेको हो ।

नेपालको आन्तरिक हवाई सेवामा पहिलोपटक जेट जहाज सेवा भित्र्याएको सौर्यले काठमाडौं–धनगढी रुटमा सेवा विस्तार गर्न लागेको हो । सौर्यले भदौ १६ गते बाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार गर्न लागेको कम्पनीका मार्केटिङ म्यानेजर मुकेस खनालले बताए ।

‘सौर्य एअरले भदौ १६ गतेबाट हरेक दिन दिउँसो १२ः१५ बजे काठमाडौंबाट र १३ः२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने योजना तय भएको छ’, मार्केटिङ म्यानेजर खनालले भने, ‘केही प्राविधिक कारणले एक दुई दिन अघिपछि हुनसक्ला ।’

सौर्य एयरको काठमाडौं–धनगढीको उडान अवधि बढीमा ५० मिनेटको हुने बताइएको छ । हाल सेवा प्रदान गरिरहेका अन्य एअरलाइन्सको उडान समय ७५ मिनेटसम्म छ । सौर्यको काठमाडौं–नेपालगञ्जको उडान अवधि ३५ मिनेटको छ ।

दुई वर्षअघिदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित‘‘सीआरजे २०० जेट जहाज’ सञ्चालन गर्दै आएको छ । यसअघि एउटै मात्र जहाज रहेको सौर्यको हालै अर्को जहाज आएपछि धनगढीमा समेत सेवा विस्तार गर्न लागेको हो ।

धनगढीमा सौर्यसंगै अब दैनिक पाँचवटा उडान हुने भएका छन् । धनगढीमा वुद्धले दैनिक दुई, नेपाल एअरलाइन्स र श्री एअरलाइन्सले एक, एक उडान भर्दै आएका छन् । सौर्यले अरु एअरलाइन्सको तुलनामा सुरुवाती भाडादर बढी कायम गरेको छ ।

खनालका अनुसार सौर्यले भाडादर ५५ सय तोकेको छ । बुद्ध र श्रीले ४९ सय र नेपाल एअरलाइन्सले ५ हजारमा उडान भरिराखेका छन्।


Facebook Comment


No ads found for this position