काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो अवैध सुन बरामद गरेको छ ।

रसुवाको केरुङ नाकाबाट भित्र्याइएको २२ किलो अवैध सुनमध्ये १४ किलो काठमाडौंको टोखाबाट र १ किलो सुन जनकपुरबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले जानकारी दिएको छ ।

विशेष सुचनाको आधारमा प्रहरीले बुधबार दिउँसोदेखि अप्रेशन सुरु गरेको ब्यूरोका प्रमुख डीआईजी पुस्कर कार्कीले बताए । उनका अनुसार १४ किलो काठमाडौंबाट र १ किलो सुन भारत लैजाने तयारीमा रहेका बेला जनकपुरबाट पक्राउ गरिएको हो ।

केरुङ हुँदै काठमाडौं भित्रिएको सुन सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका १ का २६ वर्षिय पेम्बा दोर्जे शेर्पाको टोखास्थित कोठाबाट १४ किलो र भक्तपुर सूर्यविनायकका दिपेन्द्र थापा, काठमाडौं बानेश्वरका सरोज थपा, काभ्रे पाँचखालका विष्णु् गौतम, भक्तपुरकै राजेन्द्र खत्री, रवीन खत्री र धनुषाका दिपक कुमार साहबाट भारत लैजाँदै गरेका बेला १ किलो सुन बरामद गरिएको डीआईजी कार्कीले जानकारी दिए ।

बिहीबार ब्युरोले गरेको पत्रकार सम्मेलनमा बोल्दै डीआईजी कार्कीले भने, “यो गिरोहले २२ किलो सुन काठमाडौं भित्र्याएको रहेछ । अवैध तरिकाले भित्र्याएको २२ किलोमध्ये २ किलो भारतमा सप्लाई गरेको र ५ किलो सुन काठमाडौंमा बिक्री गरिसकेको पाइएको छ ।”

पक्राउ परेका ७ जनालाई जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा ७ दिनको म्याद थप गरेर अनुसन्धान थालेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका सातै जना तस्करका कामदार

करिब ७ करोड अवैध सुनसहित पक्राउ परेका ७ जना सुन कारोबारी नभएर उनीहरु मुख्य तस्करका कामदार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये शेर्पाले अन्य ६ जनालाई परिचालन गर्ने गरेको पाइएको छ ।केरुङ हुँदै काठमाडौं भित्रिएको सुन शेर्पाको कोठामा जम्मा गर्ने र उनले केरुङबाट सुन पठाउने तस्कर निर्देशनअनुसार धेरैजसो भारत र थोरै काठमाडौंमै व्यवसायीलाई दिने गरेको अनुसन्धानबाट खुलेको छ ।बरामद भएको सुन चीन हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position