कसकसको उमेदवारी पर्दैछ नारा नेतृत्वमा ?

काठमाडौं– नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

यही भदौ २० गते हुने नाराको २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदमा प्रत्यासीको संख्या बढेपछि सहमतिमा नेतृत्व चयनका लागि पहल भइरहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताए।

उनका अनुसार पाँचजना आकांक्षीमध्ये सहमतिको प्रयासबाटै अहिले दुई जना निमबहादुर मगर र गंगा नेपाल मैदानमा उत्रिएका छन्।

यद्यपि, मनोनयन हुने दिन भदौ १८ गतेसम्म सहमतिको प्रयास जारी रहने अध्यक्ष दाहालको भनाइ छ । मगर नारा पोखरा च्याप्टरका अध्यक्ष हुन् भने नेपाल नाराका पूर्वमहासचिव। दुवै समूहले आगामी नेतृत्वका लागि प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेको छ।

मगर समूहले केही दिन अघि सार्वजनिक गरेको समूहमा उपाध्यक्षमा कमलबहादुर ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भिष्मराज थपलिया, कोषाध्यक्षमा शिशिर खनाल, सहकोषाध्यक्षमा रीता अधिकारी र कार्यसमिति सदस्यमा विष्णुहरि सिलवाल, उद्धव कँडेल र राजु खड्का रहेका छन्।

त्यस्तै नेपाल समूहले पनि शुक्रबार प्यानलसहितको उम्मेदवारी घोषणा गरेको छ । उक्त समूहको उपाध्यक्षमा पर्शुराम पाण्डे, सचिवमा देवराज जैशी र सहकोषाध्यक्षमा गोविन्द पाठक छन्।

महासचिव र कोषाध्यक्षमा भने निर्विरोध हुने सम्भावना छ, दुवै समूहले महासचिवमा शिव अधिकारी र कोषाध्यक्षमा शिशिर खनाललाई आफ्नो प्यानलमा राखेका छन्।

अध्यक्षका प्रत्यासी निमबहादुर मगरले जलयात्रा पर्यटन प्रवर्धनका लागि युवा नेतृत्वले योजनाबद्ध कार्यक्रमका साथ र्‍याफ्टिङ व्यवसायीको हितमा काम गर्न आफ्नो समूह लागि पर्ने बताए। अर्का प्रत्यासी नेपालले नारालाई व्यवस्थित र पारदर्शी बनाई व्यावसायिक ढंगले अघि बढाउन आफ्नो नेतृत्व आवश्यक भएको बताए।

नाराको ११ सदस्यीय कार्यसमितिमध्ये नौ जना निर्वाचित हुनेछन् भने एक जना पूर्व अध्यक्ष पदेन सदस्य र पोखरा च्याप्टरका अध्यक्ष पदेन सदस्य चुनिने छन् । नारामा जम्मा ७२ जना व्यवसायी मतदाता छन्।

साहासिक पर्यटनको रुपमा रहेको नेपालको र्‍याफ्टिङ विश्व पर्यटनको आकर्षक र उपयोगी गन्तव्य मानिन्छ । नेपालमा साना ठूला गरी छ हजार नदीनालामध्ये सरकारले १६ वटा नदीलाई र्‍याफ्टिङका लागि खुल्ला गरिएको छ। रासस


Facebook Comment


No ads found for this position