बाढीपछि हराएको बाह्रसिंगे भेटियो

 

रत्ननगर (चितवन), १८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ ।

बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर(इन्क्लोजर)को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन सकेको छैन । बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे भागेको अनुमान निकुञ्जले गरेको छ ।

“निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “तन्दुरुस्त अवस्थामा एउटा बाह्रसिंगे भेटियो, अन्य चाहिँ भेटिएको छैन ।”

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो । त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेको छ । चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो । तर अनुगमनमा एउटा फेला परेको हो ।

सो खोरमा रहेका १२ वटा अर्ना भने सकुशल र तन्दुरुस्त रहेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिनुभयो ।

पन्ध्र वटा अर्ना ल्याइएकामा ललितपुरको सदर चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना मरेकाले हाल यहाँ १२ वटा अर्ना रहेका छन् ।

वन्यजन्तुको प्रजाति संरक्षणका लागि अघिल्लो वर्ष पूर्वी नेपालको कोशीटप्पुबाट अर्ना ल्याइएको थियो भने पश्चिम शुक्लाफाँटाबाट यहाँ बाह्रसिंगे ल्याइएको थियो । यसैबीच निकुञ्जले बाढीले बगाएका आठ वटा गैँडाको उद्धार गरेर पुरानै बासस्थानमा फर्काएको छ ।


Facebook Comment


No ads found for this position