यसकारणा नेपाल बायु सेवा निगमले अन्तर्राष्ट्रिय हवाई यात्रु गुमाउँदै

उत्तम काप्री काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने नेपाल वायु सेवा निगम यस वर्ष दोस्रो स्थानमा झरेको छ। जहाज अभावका कारण गत जनवरीदेखि नै निगमको क्षमतामा ह्रास आएको हो। निगमलाई उछिन्दै भारतीय जेट एयरवेज सबैभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु बोक्ने कम्पनी बनेको छ।

निगमले सन् २०१७ को जनवरीदेखि जुनसम्म दुई लाख १० हजार एक सय ३१ यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। सोही अवधिमा भारतीय जेट एयरवेजले सबैभन्दा बढी दुई लाख २७ हजार पाँच सय १२ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसारपोसार गरेको छ।

नेपाल एयरलाइन्सले सेवा दिएको यात्रु संख्या जेट एयरवेजभन्दा १७ हजार तीन सय २१ ले कम हो। सन् २०१७ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १८ लाख ७३ हजार एक सय ९९ यात्रुले विभिन्न देशको यात्रा गरेको ठाकुरले जानकारी दिए। यो संख्या सन् २०१६ को ६ महिनामा अन्तराष्ट्रिय हवाई यात्रा गर्नेको भन्दा बढी हो। सन् २०१६ को जनवरीदेखि जुनसम्म १६ लाख ६० हजार सात सय ८१ यात्रुले विश्विका विभिन्न एयरलाइन्समार्फत नेपालबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको थिए।

सन् २०१६ को ६ महिनाभन्दा सन् २०१७ को ६ महिनामा हवाई यात्रुको संख्या दुई लाख बढी हो। समग्रमा यस वर्ष नेपाल एयरलाइन्सले सेवा दिएका हवाई यात्रुको संख्या भने बढेको छ। सन् २०१६ को ६ महिनामा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले एक लाख ७८ हजार सात सय ९९ सय यात्रु बोकेको थियो। तर, सन् २०१७ को पहिलो ६ महिनामा यो संख्या बढेर दुई लाख १० हजार एक सय ३१ यात्रु संख्या पुगेको छ।

त्रिभुवन विमानस्थल हुँदै अहिले स्वदेशी र विदेशी गरी २८ वटा एयरलाइन्स कम्पनीले यात्रुलाई सेवा दिँदै आएको छन्। यसमा स्वदेशी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय हवाई यात्रु बोक्दै आएका छन्। यसबाहेक बुद्ध एयरले पनि भारतको बनारसमा सातामा दुईवटा उडान गरिरहेको छ।
सन् २०१७ को पहिलो ६ महिनामा हिमालय एयरलाइन्सले भने ५६ हजार दुई सय १३ यात्रुलाई हवाई सेवा दिएको छ। नेपाल एयरलाइन्ससँग भन्दा बढी जहाज भए पनि हिमालयले अपेक्षा अनुसारको यात्रु पाउन सकेको छैन।

किन आरोलो लाग्यो निगम

धेरै यात्रु बोक्दै नम्बर एक बन्न सफल नेवानि जहाज अभावकै कारण दुई नम्बरमा झर्नुमा आठ गन्तव्यमा गर्दै आएको उडान कटौती गर्नु हो। नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारकाले अन्तर्राष्ट्रिय उडान गर्दै आएको बोइङ मर्मतमा लैजानुपर्दा एकबाट दुई नम्बरमा झरेको बताए। सम्रगमा दुई नम्बरमा झरे पनि यात्रु संख्या भने सन् २०१६ भन्दा सन् २०१७ को ६ महिनामा बढी भएको उनले बताए।

‘यात्रुले टिकट खोज्दा दिन सकेको छैनौं’, उनले भने, ‘यसका कारण नेवानिको विश्वसनियतामै प्रश्न खडा भएको छ।’ दुईवटा न्यारोबडी जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्नु पर्दा बढी यात्रु चाप हुने दिल्ली र दोहाको उडान समेत आवश्यकता अनुसार गर्न नस्कदा आफूहरू दुई नम्बरमा झर्नु परेको उनको भनाइ छ।
‘हामीले विश्वसनियता बिग्रन नदिनकै लागि जहाज भाडाका ल्याउन खोज्दा पनि जहाज भाडामा पाउन सकेनौं’, कंसाकारले भने, ‘भाडामा पाएको भुटान एयरको जहाज पनि पुरानो हुँदा ल्याउन सकेनौं। एक नम्बरबाट दुई नम्बरमा झर्नुको प्रमुख कारण जहाज अभाव नै हो।’

हाल अन्तर्राष्ट्रिय उडान भरिरहेको बोइङ सिंगापुरमा मर्मत भइरहेको छ। जहाज अबको केही दिनमै नेपाल आउँदै नियमित उडान गर्न थाल्ने उनको भनाइ छ। बोइङ आएपछि नेवानि पहिलाको स्थानमा फर्कंने कंसाकारको दाबी छ।

निगमलाई उछिन्दै भारतीय जेट एयरवेज सबैभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु बोक्ने कम्पनी बनेको छ।

नेवानिका लागि सन् २०१७ असहज वर्ष भए पनि सन् २०१८ देखि कुनै पनि एयरलाइन्सभन्दा पछि नहुने उनले बताए। सन् २०१८ को जुनसम्म नेवानिले दुई नयाँ वाइडबडी जहाज ल्याएर सेवा विस्तार गर्ने कंसाकारको भनाइ छ। नेपालको हवाई भाडा विश्वकै महँगो पर्छ। तर, पनि हवाई यात्रुसंख्या बढ्दै गइरहेको छ। पर्यटकीय मुलुक नेपालले आफ्नै पर्याप्त विमान उडाउन नसक्दा भाडादर विश्वकै महँगो पर्न गएको हो।

नेपालबाट अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको एकाधिकार रहेकाले ती कम्पनीले मनलाग्दी भाडा असुल्दै आएका छन्। कुल एक खर्बको कारोबारमा नेपाली विमान कम्पनीले १० प्रतिशत पनि हिस्सा लिन सकेका छैनन्। ९० प्रतिशभन्दा बढी हिस्सा विदेशी एयरलाइन्स कम्पनीकै छ। यो हिसा दुईवटा वाइडबडी जहाज आएपछि १६ प्रतिशतमा पुग्ने कंसकारको अनुमान छ।

बढी यात्रु बोक्ने पाँच एयरलाइन्स

सन् २०१७ को जनवरीदेखि जुनसम्म बढी यात्रु बोक्नेमा भारतीय जेट एयरवेज भएको छ। जेट एयरवेजले १८ लाख हवाई यात्रुमध्ये दुई लाख २७ हजारभन्दा बढीलाई सेवा दिएको छ। यसैगरी दोस्रो बढी यात्रु बोक्नेमा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्स छ। नेपाल एयरलाइन्सले दुई लाख १० हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ। यसैगरी तेस्रो स्थानमा रहेको फ्लाई दुबईले एक लाख ६७ हजार ६ सय ७७ यात्रु त्रिभुवन विमानस्थलमार्फत आवतजावत गराएको विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले जानकारी दिए।

यसैगरी चौथो धेरै हवाई यात्रु बोक्ने एयर अरेबिया छ। यसले सन् २०१७ को ६ महिनामा एक लाख ६२ हजार ४५ यात्रुलाई हवाई सेवा दिएको छ। पाँच धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनीका कतार एयरवेज परेको छ। कतार एयरवेयजले ६ महिनामा एक लाख ३९ हजार आठ सय ७९ यात्रुलाई सेवा दिएको छ। कतार एयरवेजलाई खाडीका मुलुकले लगाएको हवाई प्रतिबन्ध कारण कतार साख गिरेको छ।

सन् २०१७ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान र आगमन गरी कुल १८ हजार चार सय ६९ वटा उडान भएको ठाकुरले बताए। यसमा प्रस्थान उडान आठ हजार दुई सय ३० सय आगमन उडान आठ हजार दुई सय ३९ रहेको छ।


Facebook Comment


No ads found for this position