बेनी,जोमसोम सडक भदौ ३१ सम्म अवरुद्ध हुने

भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएपछि बेनी–जोमसोम सडकमा यात्रा गर्नेहरु समस्याा परेका छन्।

सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो।

तर, अहिले पनि समस्या पहिलेकै जस्तो रहेकाले भदौ ३१ गतेसम्म समय थप गरिएको र तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले समेत सहमति जनाएका थिए।

रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले समेत स्वागत गरेका छन्।

कुल ७६ किलोमिटरको सडकखण्डअन्तर्गत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ। अन्नपूर्ण गाउँपलिका–३ दानाको गुँइठेभीर, दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले गर्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडकखण्डअन्तर्गत पर्ने खोलाको सतहसमेत घटेको छैन।

म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ, बेनी–जोमसोम–सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भने। म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३, गुँइठेभीर, घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको उनले जानकारी दिए।

गत वर्ष बेगखोलामा आएको बाढीले बस्ती र खोलाको बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयवासीको भनाइ छ।रासस


Facebook Comment


No ads found for this position