होटल बुकिङ बढ्यो, पर्यटन व्यवसायीहरु उत्साहीत

सुदिल पोखरेल भदौ, काठमाडौं । आउँदो सिजनका लागि होटलहरुमा बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरु हौसिएका छन् । यसपाली विदेशी पर्यटकको आगमन गत वर्षभन्दा उच्च हुने उनीहरुको अनुमान छ ।

हिमाल चढ्ने उद्देश्य लिएका केही पर्यटक नेपाल आइसकेका छन् । यसले गर्दा होटलहरुमा अकुपेन्सी बढ्दै गएको छ । अन्य क्षेत्रका पर्यटकहरुले भने अहिले धमाधम बुकिङ गरिरहेका छन् ।

‘गत वर्षको भन्दा यसपाली होटलको अकुपेन्सी उच्च छ र बुकिङ पनि उच्च छ,’ होटल व्यवसायी संघका महासचिव बिनायक शाह भन्छन्, ‘गत वर्ष ६० प्रतिशत मात्रै होटल बुकिङ थियो, यसपाली ७५ प्रतिशतसम्म पुग्ने आँकलन छ ।’

अहिले नै होटल अकुपेन्सी ५५ प्रतिशत पुगिसकेको छ । मूख्यत शरद ऋतुका लागि पर्यटकहरु दशै–तिहारको बिचमा आउँछन् ।

सन् २०१२ मा अहिलेसम्मकै सवैभन्दा बढि ८ लाख ३ हजार पर्यटक आएका थिए । यसपालि ९ लाख भन्दा बढि पर्यटक पुग्ने महासचिव शाहको आँकलन छ । सन् १९९८ मा ‘भिजिट नेपाल’ मनाइएको थियो । जतिबेला १० लाख पर्यटक भित्राउने योजना थियो । तर सोचेअनुरुप पर्यटक भित्रेका थिएनन् ।

यसपाली अझै पनि बुकिङ क्यान्सील गर्ने समय भने छ । १२ दिनअघिसम्म बुकिङ क्यान्सिल गरे कुनै जरीवाना लाग्दैन ।

यो सिजनमा बिशेषगरी नेपालमा अमेरीकन, अष्ट्रेलियन तथा क्यानडियनहरु आउने गर्दछन् । चिनीया तथा भारतीय पर्यटक भने हरेक समय नै आउने गर्दछन् । पर्यटन व्यवसायीहरुले नेपाली तथा भारतीय पर्यटकलाई सदाबहार पर्यटकको रुपमा लिने गरेका छन् । पछिल्लो समय चिनीया पर्यटकहरु नेपालमा बढ्दै गएका छन् ।

तर पूर्वाधारको अवस्था उस्तै

दुई वर्षअघि गएको भूकम्पका कारण अवरुद्ध बनेको चीनतर्फकोे तातोपानी नाका अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । जसका कारण चिनिया पर्यटकहरु यो बाटो हुँदै आउन सकेका छैनन् ।

हिन्दु धर्मावलम्वीहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा अहिले ठुलो मात्रामा भारतीय पर्यटकहरु दर्शन गर्न आउने गर्दछन् । यस्ता भारतीय पर्यटकहरु केही हवाई त केहि सडकमार्ग हुँदै नेपाल आउँछन् । भारतीय पर्यटक भित्राउनका लागि देशका विभिन्न भागमा बिगे्रेका सडकहरु बाधाका रुपमा खडा भएका छन् ।

शाह भन्छन्, ‘नारायणगढ–मुग्लीन सडकखण्ड बिग्रेका कारण भारतबाट कैयन पर्यटक आएका छैनन् ।’ त्यस्तै त्रिभुवन बिमानस्थलको स्तरोन्नती गर्ने कार्य पनि अहिले अघि बढ््न सकेको छ । जसका कारण जहाज आकाशमै होल्ड हुने समस्या अझै बढ्दैछ । सडक मर्मत प्रभावकारी रुपमा अघि बढाउने र बिमानस्थलको स्तरोन्नती गर्ने हो भने अझै पर्यटक थपिने शाह बताउँछन् ।

पर्वतारोही संघका महासचिव कुलबहादुर गुरुङ यसपाली पर्वतारोही आउने क्रम पनि बढेको बताउँछन् । शरद ऋतुमा साना हिमाल चढ्ने पर्यटकहरु आउने गर्दछन् । अमेरिका, अष्ट्रेलिया तथा क्यानडाका यस्ता पर्वतारोही यसपालि बढेको उनले जानकारी दिए ।

पर्वतारोहणको लागि पर्यटन विभागमा अहिले यस्ता पर्वतारोहीले अनुमति लिइरहेका छन् । पर्वतारोही संघका महासचिव गुरुङ भन्छन्, ‘गत वर्षको सिजनमा भन्दा यसपाली हिमाल चढ्ने पर्वतारोही बढेको छन् ।’

पर्यटन व्यवसायी तथा ट्रेकिङ व्यवसायी समेत पर्यटक आगमनको कारण खुसी भएका छन् । टानका महासचिब कर्ण लामा ट्रेकिङ एजेन्सीमा पनि बुकिङ गत वर्ष भन्दा उच्च रहेको बताउँछन् ।

होटलको संख्या नेपालमा बढ्दै गएको छ । अहिले सोहि अनुरुप बुकिङ पनि बढेको छ । जसका कारण नै पर्यटकको संख्या यसपाली बढ्ने व्यवसायीको आँकलन छ ।


Facebook Comment


No ads found for this position