आधा करोड सक्न विदेश भ्रमण

सुशील भट्टराई  काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश ‘घुम्न’ पठाएको छ । ‘जहाज थप्नेमात्र होइन, व्यवस्थापनमा सुधार पनि मेरो प्राथमिकता हो’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन् । तीमध्ये केही जाने तयारीमा छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन् ।

‘महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको लाखौं रुपैयाँ खर्च गरी डेढ दर्जन कर्मचारीलाई बेअर्थी विदेश भ्रमणमा पठाएका छन् । पछिल्लोपटक उनले जे–जति र जस्ता निर्णय गरे, त्यसबाट संस्थाको मात्र नभई उनको छविमा पनि दाग लागेको छ ।’

सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि महाप्रबन्धक कंसाकारले ती कर्मचारीलाई भ्रमण स्वीकृति दिएका हुन् । उनीहरूको आतेजाते हवाई टिकट, होटलमा बस्न र खाना, दैनिक भत्ता, यातायातलगायत खर्च निगमले बेहोरेको छ । भ्रमणमा विभागीय प्रमुख (निर्देशक) देखि उपनिर्देशक, प्रबन्धक, अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारी छन् ।

यसअघि भदौ दोस्रो साता कंसाकारले मर्मत भइरहेको निगमको ‘बोइङ ७५७’ जहाज ‘हेर्न र लिन’ जाने निहुँमा २० लाख रुपैयाँभन्दा बढी खर्च गरी करिब दुई दर्जन कर्मचारीलाई सिंगापुर घुम्न पठाएका थिए । पुनः त्यही शृंखला दोहोर्याएपछि संस्थाभित्रै कंसाकारको तीव्र आलोचना भएको छ ।

‘महाप्रबन्धक कंसाकारले संस्थाको लाखौं रुपैयाँ खर्च गरी डेढ दर्जन कर्मचारीलाई बेअर्थी भ्रमणमा पठाएका छन्,’ निगम उच्च स्रोतले शनिबार नागरिकसँग भन्यो, ‘कंसाकार निगम प्रवेश गर्दा सबैका आशाका केन्द्र थिए तर पछिल्लोपटक उनले जे–जति र जस्ता निर्णय गरे, त्यसबाट संस्थाको मात्र नभई उनको छविमा पनि दाग लागेको छ ।’

स्रोतका अनुसार निगम व्यवस्थापनले ती कर्मचारीलाई अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मकाओ, नेदरल्यान्डलगायत देश पठाएको हो । ‘नयाँ बजार खोज्ने, बिक्री प्रवद्र्धन गर्नेजस्ता कारण बनाएर विदेश गए पनि ती सबै फजुल भ्रमण हुन्,’ स्रोतले भन्यो, ‘हाँस्यास्पद कुरो के हो भने बजार खोज्न गएका भनिएका ६ मध्ये पाँचवटा देशमा त निगमको उडान पनि छैन ।’

विदेश भ्रमणमा गएका कर्मचारीलाई निगमले प्रतिदिन औसत १ सय ५० अमेरिकी डलर (१५ हजार रुपैयाँ) भत्ता उपलब्ध गराएको छ । उनीहरूलाई न्यूनतम एक सातादेखि अधिकतम एक महिनासम्म भ्रमण बिदा दिइएको छ । तालिममा पठाइएको भनिएका सातजनामध्ये अधिकांश तालिममा नजाँदा पनि हुने कर्मचारी परेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कमर्सियल डाइरेक्टर जनकराज कालाखेती अस्ट्रेलिया गएर फर्किसकेका छन् । उनीसहित तीनजनाको टोली दक्षिण कोरिया जाने तयारीमा भए पनि व्यवस्थापनले रोकेको थियो । त्यसपछि कालाखेतीमात्र अस्ट्रेलिया पुगेर आएका थिए । त्यसैगरी थाइल्यान्ड, भियतनाम र कम्बोडिया भ्रमणमा जान कर्पोरेट डाइरेक्टर रवीन्द्र श्रेष्ठ, उपनिर्देशक प्रेमरत्न बज्राचार्यसहित तीनजना छन् । उनीहरूले निगमबाट भ्रमण खर्च लिइसकेका छन् ।

त्यसबाहेक कमर्सियल विभागका उपनिर्देशकसहित तीनजनाको टोली स्विट्जरल्यान्ड जाने कार्यक्रम बनाएर महाप्रबन्धक कंसाकारसँग स्वीकृति लिन गएको थियो । तर, कंसाकारले भ्रमणको पुष्ट्याइँ गर्न निर्देशन दिनासाथ उनीहरूले ‘अरूचाहिँ विभिन्न देश गइरहेका छन्, हामी किन जान नहुने ?’ भनेका थिए र तत्कालै उनीहरूको भ्रमण रद्द भएको स्रोतल जानकारी दियो ।

निगम सम्बद्ध एक अधिकारीका अनुसार इन्जिनियरिङ विभागका सातजना एक महिना लामो तालिममा नेदरल्यान्ड गएका छन् । तीमध्ये अधिकांश तालिममा जानै नपर्नेसमेत परेका छन् । कामु उपनिर्देशक विपीन उपाध्याय, प्रबन्धकद्वय रामेश्वर थापा र रामप्रसाद भण्डारी, वरिष्ठ प्राविधिक अधिकृत हरिराज मानन्धर, प्राविधिक अधिकृत सर्जन महर्जन तथा वरिष्ठ प्राविधिक प्रवीण नकर्मी र रिचेस शर्मालाई निगमले नेदरल्यान्ड पठाएको हो । उनीहरूसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणको एयर वर्दिनेस महाशाखा प्रमुख प्रभाकरचन्द्र मल्लिक पनि निरीक्षणका लागि गएका छन् । उनको खर्च पनि निगमले नै बेहोरेको छ ।

उनीहरूलाई काठमाडौं–मुम्बई–आम्स्टर्डम र आम्स्टर्डम–नयाँदिल्ली–काठमाडौं दुईतर्फी हवाई टिकटको १ लाख २ हजार ८ सय ८० रुपैयाँ दिइएको छ । कामु निर्देशक उपाध्यायलाई भत्तावापत ४ लाख ४३ हजार रुपैयाँ, प्रबन्धकद्वय थापा र भण्डारीलाई ४÷४ लाख, मानन्धरलाई ३ लाख ४३ हजार, महर्जनलाई ३ लाख २९ हजार तथा नकर्मी र शर्मालाई ३÷३ लाख रुपैयाँ दिइएको छ । यसमा तालिम खर्च भने उल्लेख नगरिएको स्रोतको भनाइ छ । त्यसबाहेक फर्केर आएपछिको ट्याक्सी भाडा, विभिन्न ठाउँमा तिरिएको करको हिसाब पनि उनीहरूले पाउने छन् ।

‘यी सातजनाका लागि मात्र निगमले २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ र तालिमको बिल पनि भ्रमण खर्चभन्दा बढी आउने निश्चित छ,’ स्रोतले भन्यो, ‘त्यसबाहेक अन्य कर्मचारीको भ्रमण खर्च २५ लाखभन्दा बढी भएको छ ।’


Facebook Comment


No ads found for this position