मनाङमा पर्यटक आगमन बढ्दै

मनाङ, नेपालको चल्तीको पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा पर्यटकको ओइरो लाग्न थालेको छ । वर्षायाम सकिन लागेसँगै दैनिक ८० देखि एक सय जना पर्यटक मनाङ भित्रन थालेका छन्।

लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल–धारापानी–चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङ गाउँमा बास बस्ने गर्छन् । पर्यटकका लागि व्यवस्थित र सुविधाजनक होटलहरु रहेको पर्यटन व्यवसायीहरु बताउँछन्।

गत वर्ष २२ हजार आठ सय विदेशी र आठ हजार आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए।

यहाँ आउने पर्यटक खासगरी थोराङ पास, लार्के पास, र कांला पासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न रुचाउँछन् । त्यस्तै, यस क्षेत्रमा पर्ने हिमशृंखला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोका साथै गंगापूर्ण, जुलु पिक, पिसाङ पिक, निलगिरी र तिलिचो पिक जस्ता हिमाल अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायी गुरुप्रसाद गुरुङले बताए।

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्थानीय कला,संस्कृति, रीतिरिवाज, वेशभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन समेत गरिएको छ । रासस


Facebook Comment


No ads found for this position