भूकम्पबाट क्षतग्रस्त बनेका राईनासकोटमा पुन होमस्टे शुरु

राईनास, लमजुङ, असोज :भूकम्पबाट क्षतग्रस्त बनेका पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) शुरु भएको छ ।
पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम शुरु गरिएको हो । भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो । करिब रु एक करोड ५० लाखको लगानीमा उक्त घर निर्माण गरिएका हुन् । 

पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घर पुरानैशैलीमा निर्माण गरिएको राईनासकोट पुनःनिर्माण कार्यक्रमका संयोजक विवेक पण्डितले बताउनुभयो । गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आगन, आकासे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएका छन् ।

राईनासकोटमा रहेका केही पुराना घरलाई भने पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्राहलय समेत स्थापना गरिएको छ ।

पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ ।

त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ । प्रत्येक घरमा हरित गृहसहित कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँचीखेती शुरु गरिएको छ ।

बाइसेचौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राईनासकोट पुग्न लमजुङ प्रवेशद्धार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ ।

राइनसकोटबाट अन्नपूर्ण र मनास्लु, हिमशृृंखला तथा लमजुल हिमाल, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रेलगायत हिमाल सजिलै देख्न सकिन्छ । यसैगरी लमजुङका साविक ६१ गाविसमध्ये ६० गाविस र विभिन्न १६ जिल्लाको भू–भाग देख्न सकिने पर्यटन व्यवसायी कृष्णराज ओलियाले बताउनुभयो ।

यहाँ रहेका ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढी लगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा छन् ।


Facebook Comment


No ads found for this position