१९५० को दशकमा हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

भक्तपुर, १३ चैत : स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि यहाँ शुरु भएको छ ।
भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ टोनीकी छोरी केट्रिन हेगनले उद्घाटन गर्नुभएको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा रहेका दरबारस्क्वायरको करिब ६० देखि ७० वर्ष अघि टोनी हेगनले लिएका तस्वीर हेगनकी छोरी केट्रिन हेगनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनमा ल्याएका हुन् ।
हेगनले खिचेका ५० वटा तस्वीर आगामी अप्रिल १ सम्म प्रदर्शनीमा राखिने पुरीले जानकारी दिनुभयो । विगतमा रहेका सुन्दर सम्पदा नासिएको बताउँदै उहाँले नासिन बाँकी सम्पदाको संरक्षणमा लाग्न प्रेरणा मिलोस् भनेर तस्वीर प्रदर्शनीमा राखिएको पुरीले बताउनुभयो ।
केट्रिन हेगनले काठमाडौँ उपत्यकाभित्र रहेका ऐतिहासिक सम्पदा अति नै सुन्दर भएको र सुन्दर तस्वीरलाई कैद गर्ने आफ्ना बाबुले लिएका तस्वीर प्रदर्शन गर्दा खुशी लागेको बताउनुभयो । ६५ वर्षअघिको काठमाडौँ उपत्यकाको अवस्थालाई अहिलेको पुस्तामा जानकारी गराउन पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्र संघ र नेपाल सरकारअन्तर्गत रहेर नेपालमा १२ वर्षमा १४ हजार किलोमिटरको यात्रा गरेर नेपालको भूगोल र भूगर्भको अन्वेषण गर्दै नेपालसम्बन्धी अनुसन्धान, विकास योजना, वैदेशिक अनुदानसम्बद्घ कार्यमा संलग्न रहँदै हेगनले नेपालको स्वास्थ्य क्षेत्रमा समेत योगदान दिनुभएको थियो ।

 


Facebook Comment


No ads found for this position