कुमाल समुदायको परम्परागत लोक संस्कृति लोप हुँदै

रामपुर, पाल्पा, २६ वैशाख : कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ । दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउनुहुन्छ ।

पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । “अहिलेका युवाले पुरानो संस्कृति सिक्न खोज्दैनन््, पुराना गीत गाउने र नाच्ने व्यक्ति मरेर गएपछि संस्कृति पनि हराउन पुग्यो” उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्रमा करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । तर यहाँका कुमाल समुदायका नयाँ पुस्तालाई अहिले लोक कला संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

अबको पाँच वर्षभित्रमा नगरपालिका र वडा कार्यालयसँग विभिन्न कार्यक्रम माग गरेर कुमाल समुदायको लोक संस्कृति संरक्षणको काम गर्ने रामपुर नगरपालिका–६ का वडा सदस्य तथा स्थानीयवासी लोकमाया कुमालले बताउनुभयो । उहाँ आफैँलाई कुमाल संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

“गाउँमा म सानो छँदा नै बुबा आमाले गीत गाउने, नाच्ने गर्नुहुन्थ्यो, हामीले उहाँबाट संस्कृतिबारे ज्ञान सीप सिकेनौँ र अर्कोतर्फ संरक्षणमा कसैको ध्यान नपुग्दा समुदायबाट पुरानो संस्कृति हराउन पुगेको छ” उहाँले भन्नुभयो ।

कुमाल समुदायको संस्कृति समुदायबाटै लोप हुनु भनेको समुदायको पहिचान मेटिनु हो । समुदायको लोक संस्कृति बचाउनका लागि नगरपालिका र वडा कार्यालय सदैव प्रतिबद्ध रहने नगरका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती छ । यहाँ करीब छ हजारको हाराहारीमा कुमाल समुदाय वसोवास गर्दछन् ।


Facebook Comment


No ads found for this position