जाने होईन त ? धौलागीरी आधारशिविर (फोटोफिचर)

घनश्याम खड्का  — हिममानव पाईने धौलागिरी हिमालको वेसक्याम्प पुग्न घोडेटो बाटो नै पुगेपनि पर्यटन पर्यटक, ब्यवसायी र सरोकारवाल विच अझै प्रचार–प्रसार हुन सकेको छैन । धौलागिरी वेस क्याम्पसम्म पुग्ने घोरेटो बाटो निर्माणपछि क्याम्प ट्रेक मात्र गर्दै गरिने पदमार्गमा ब्यक्तिगत रुपमा पनि जान सकिने भएको हो । धौलागिरीको इटाली क्याम्पसम्म होटलवास गरी पहिलो वेस क्याम्पमा एक रात ब्याक प्याक ट्रेक गर्न सकिन्छ ।

धौलागिरी हिमश्रृंखलामा सात हजार मिटर अग्ला धौलागिरी प्रथम, दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सिता चुचुरो, मानापाथी, मुकुट, टुक्चेपीक छन् । धौलागिरी प्रथम संसारको सातौं र नेपालको छैठौं अग्लो हिमाल हो । धौलागिरी छैठों जान दोभानबाट दक्षिण लाग्नु पछ भने धौलागिरी चौंथो र तेस्रो चढ्न स्वीसक्याम्पबाट दक्षिण लाग्नु पर्छ । प्रचलित मार्ग धौलागिरी प्रथम आरोहण र सिता चुचुरोपासगरी मुस्ताङ्ग निक्लन प्रयोग गरिन्छ ।

‘सामुदायिक सक्रियतामा धौलागिरी पदमार्गका अप्ठ्यारा भीरपहरा फोड्ने, झाडी फाँड्ने, भीरालो ठाउँमा खन्ने नदी खोलामा झोलुङ्गे पुल हाल्ने र पहिरोहरु पन्छ्याएपछि धौलागिरी पदमार्ग सहज भएको छ’ धौलागिरी गाउँपालिकाका सवइन्जिनयर बालकृष्ण पौडेलले भने, ‘इटलीक्याम्प र स्वीस क्याम्पविच म्याग्दीखोलाको मुहान रहेको ग्लेसियरमाथी स्टील डेकभएको झोलुङ्गे पुल राख्न सके धौलागिरी वेस क्याम्पसम्मको यात्रा थप सहज हुन्छ ।’

दरवाङ्गदेखि मुदी बगरासम्मका बस्तीमा होमस्टे गरी माथिल्लो दोभान र इटाली बेस क्याम्पमा सामान्य होटल बास गर्न सकिने भएको छ । बगरा र दोभानको बीचमा पर्ने लुसिपार तथा दोभान र इटलीक्याम्पको बीचमा पर्ने तलेत्रे र सल्लाघारीमा चियानास्ता गर्ने टि हाउसहरु उपलब्ध छन् । सुरु चरणमा रहेकोले होटल तथा टि हाउसहरु आधारभुत अवस्थाबाट विकसित भैसकेका छैनन् ।

तलेत्रे लगायत चार स्थानमा साना खोल्सामा रहेका काठका फड्केको स्थानमा झोलुङ्गे पुल हाल्न सके यो पदमार्ग अगष्ट–सेप्टेम्बरको सिजनमा पनि सहज हुने छ । सवइन्जिनियर बालकृष्णका अनुसार धौलागिरी पदमार्गलाई थप सहज र सजिलो बनाउन सबै साना खोलामा समेत पक्की झोलुङ्गे पुल हाल्न गाउँपालिकाले पहल सुरु गरेको छ । 

‘धौलागिरी आरोहण र फन्को लगाउन मात्र पर्यटक आएका छन् । अव धौलागिरी वेस क्याम्पसम्म ब्यक्तिगत रुपमा पनि पर्यटक सजिलै आउन सक्छन्’ इटली बेस क्याम्पस्थित होटल ब्यवसायी हरि तिलिजाले भने, ‘नाउराको भीरमा डोरीमा झुण्डीने र निगालाको झाडीमा वेपत्ता हुने दिन अव कथा भै सक्यो । घोडा खच्चड हिंड्ने बाटो बनाएका छौं ।’

कठिन भौगोलिक अवस्थितिले धौलागिरी हिमाल पदमार्ग छायाँमा परेकोमा स्थानीय सरकारले ज्यान धरापमा राख्दै डोरीमा झुण्डिएर यात्रा गर्नु नाउराको भीर फोडेको र निगालाको झाडी फाँडेर घोडेटो बाटो निर्माण भएपछि धौलागिरी चक्रिय पदमार्गको ३ हजार ६ सय ३६ मिटर माथीको ईटली वेसक्याम्पसम्म खच्चडमा सामान ढुवानी गर्न संभव भएको छ ।

धौलागिरी पदमार्ग सहज बन्दै गएपछि बाटोका बस्तीमा पर्यटकीय जागरण बढ्न थालेको छ । पदमार्गमा पर्ने बस्तीका परम्परागत घरलाई सुधार गर्दै स–साना पाहुना कोठा थपेर ‘होमस्टे’का बोर्ड झुण्डाउन थालेका छन् । आगनमा टेवुल र कुर्ची थपिएको छ । तर ट्रेकिङ्ग ब्यवसायी अझै ताकमबाट हेलिकोप्टरमा पर्यटकलाई इटली क्याम्पमा ओराल्ने गर्दा बाटोका ब्यवसायी निरास छन् ।

‘टुरिष्ट आउने आशामा घरको कोठा सफा बनाएर विस्तारा बनाएका छौं । आगनमा कुर्ची टेवुल पनि बनाएका छौं’ स्थानीय होमस्टे सञ्चालिका दलमाया पुनले भनिन्, ‘जानीनजानी पर्यटकको खाना पकाउने सीप पनि सिकेका छौं । धौलागिरी हिमाल जाने पर्यटक अव धेरै आउँछन् ।’

संस्कृतमा धवला भनेको सेतो र गिरी भनेको पर्वत हो अर्थात सेतो पहाड । म्याग्दीको धौलागिरी गाउँपालिका, ३ मुदीमा पर्ने धौलागिरीका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले सबभन्दा कान्छो हो । सगरमाथा पत्ता नलाग्दासम्म धौलागिरीलाई नै संसारको सर्वाधिक अग्लो चुचुरो मानिन्थ्यो । सन् १८०८ मा भारतमा रहेको बेलायती सर्भे टिमले धौलागिरी हिमालको उचाई ८ हजार एक सय ४७ मिटर भनि पत्ता लगाएका थिए । शुरुका ३० बर्ष संसारको अग्लो चुचुरो भन्ने विश्वास गरिन्थ्यो ।

धौलागिरी हिमश्रृखला पुग्न बेनीबाट गाडीमा ताकम पुगेपछि १ घन्टा पैदल यात्रागरी खाम्लामा बास बस्न सकिन्छ । दोस्रो दिन नाउराहुँदै बगरा पुग्न सकिन्छ । तेस्रो दिन दोभान र चौथो दिन इटलीक्याम्प पुग्न सकिन्छ । इटलीक्याम्पबाट म्याग्दी नदीको मुहान रहेको धौलागिरी ग्लेसियर पारगरी स्वीसक्याम्प उक्लेर अमेरिका क्यामप, जापानिज् क्याम्पहुँदै ४ हजार ७ सय ४७ मिटर उचाईको धौलागिरीको पहिलो बेस क्याम्प सजिलै पुग्न सकिन्छ ।

पहिलो आधार शिविरबाट करिब ५ सय मिटर उचाई चढेपछि सिता चुचुरो र धौलागिरी प्रथमको फेदीमा अवस्थित उच्च आधार शिविर पुगिन्छ । यही उच्च आधार शिविरबाट छुट्टिन्छ, राउण्ड धौलागिरी गर्ने र धौलागिरी प्रथम आरोहण मार्ग । धौलागिरी पूर्वी मोहडामा अवस्थित सिता चुचुरोलाई दाहिने पारी फ्रेन्चपास गरे धौलागिरी आरोहण गर्न सकिन्छ भने सिता चुचुरोलाई देव्रे बनाए आरोहणतर्फ लागिन्छ ।

घडीको सूई घुमे झै धौलागिरी पाँचौं, मानापाथी, फ्रेन्चपास, मुकुट हिमाल, सिता चुचुरो, धौलागिरी प्रथम र टुक्चेपिक गोलाकार झै उभिएका छन् । एउटा हातलाई अँजुली बनाउँदा जस्तै खोपिल्टो रहेछ, धौलागिरी वेस क्याम्प । यही क्याम्पदेखि करिव पाँच किलोमिटर तलसम्म लत्रेको छ, धौलागिरी ग्लेसियर । बढ्दो तापक्रमले ग्लेसियर विस्तारै पग्लदै खुम्चदै गैरहेको मात्र छैन, पातलो पनि बन्दै गएको छ । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position