हुग्दीखोलाको ज्यानमारा मोड (फोटो फिचर)

हरिहरसिंह राठौर  हुग्दीखोला(धादिङ) — पृथ्वीराजमार्गको हुग्दीखोला पुलको नजिक एकजना युवा विश्वदीप डल्लाकोटी मोबाईल र फोटोग्राफी पसल सञ्चालन गरेर बसेका छन् । उनका मुख्य ग्राहकहरु हुग्दीखोलाका मुहातिरका चेपांग वस्तीका बासिन्दाहरु हुन् ।

उनी नागरिकता, पासपोर्ट र अन्य सिफारिस प्रयोजनका लागि फोटो पनि खिच्छन् । हिजोआज उनको नयाँ काम थपिएको छ । स्टुडियोको क्यामेरा बोकेर पुलमा दैनिक जसको हुने दुर्घटनाको तस्बिर खिच्ने । दुर्घटना र जामका तस्बिरहरु उनी सामाजिक सञ्जालमा हाल्छन् र दुर्घटनाबारे सबैलाई अपडेट गराइदिन्छन् ।

दुर्घटनाका तस्बिर र भिडियो जिल्ला सदरमुकामका पत्रकारहरुलाई विश्वदीपले पठाइदिने गरेका छन् । दुर्घटनाको तस्बिर खिचेर पठाउने काम उनको दिनचर्या हुन थालेको छ । पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा धादिङको जोगीमारा पर्छ । हुग्दीखोला पुल राजधानीबाट मुग्लिनतर्फ लाग्दा मलेखु बजारबाट बेनीघाट, कृष्णभीर, मझिमटार हुँदै २० किलोमिटरको दुरीमा पर्छ । चीन सरकारले निर्माण गरेको यो सडक २०३४ ताका नेपाल सरकारलाई हस्तातरण गरेको थियो ।

४० वर्ष अगाडिका सवारी साधनहरुको चाप अनुसार निर्माण गरिएको यो सडकमा दैनिक ९ हजार भन्दा बढी साना ठूला सवारी साधनहरु गुड्ने गरेका छन् । ‘यो पूल निर्माण भए देखि नै हामी पसल गरी बसेका छौँ । हरेक वर्ष कम्तिमा ६ वटा सवारी साधनहरु खस्ने गरेका छन् ।’ पुलको मुखैमा किराना पसल सञ्चालन गरिरहेका कृष्णप्रसाद डल्लाकोटीले भने । उनले भने–‘मध्यरातमा पनि दुर्घटनाको उद्धारमा खटिएका छौँ ।’हाल सम्म ६ वटा यात्रुवाहक बस र सयभन्दा बढी ट्रक यो पुलबाट खसेको छ । दुर्घटनाका कारण धेरैले ज्यान गुमाएका छन् । बस खस्दा ७ जनासम्मको मृत्यु भएको यो पुलबाट भएको दुर्घटनामा परी घाइते भएकाहरुको संख्याको लेखाजोखा छैन ।

दुर्घटना हुने बित्तिकै नजिकैका बजारवासीहरु र सबैभन्दा नजिकैको मझिमटारस्थित प्रहरी उद्धारमा खटिन्छन् , तर पुलबाट खसेका सवारीसाधनभित्र च्यापिएका घाईते यात्रुहरुलाई बाहिर निकाल्न घण्टौं समय लाग्छ । सवारीसाधन काटेर निकाल्ने कुनै पनि उपकरण नभए पछि घाईतेलाई उद्धार गर्न कम्तीमा २ घण्टा लाग्ने गरेको छ । सवारी साधनभित्र च्यापिएका घाईतेहरुको चित्कारले उद्धारकर्ताहरु नै भावुक हुने गर्छन् ।‘पटक पटक सवारी साधनहरु खस्नुको कारण पत्ता लगाउन धेरै ईन्जिनियरहरु आए र गए तर यो पुलको मुखैमा रहेको ओह्रालो सडक र साँघुरो घुम्ती मोड सुधार्ने प्रयास कसैले गरेनन्, ’स्थानीय विश्वराज डल्लाकोटी भन्छन् ।

अनुगमनमा आएका उच्च स्तरका सडक इन्जिनियरहरुले पुलको मुखैमा साँघुरा मोड,गति तीव्र गराउने ओह्रालो र पुलको मुख सानो हुनु नै सवारी साधन खस्नुको मुख्य कारण रहेको निक्र्यौल गरेको छ । पश्चिमबाट आएका सवारी साधन कहिल्यै नखस्ने र पूर्वबाट पश्चिम जाने सवारी साधन मात्रै खस्नुले पुलको पूर्वी मोडमा प्रााविधिक डिजाईन नै गलत भएको हुने सक्ने गजुरीस्थित सडक डिभिजनका इन्जिनियर हरिबहादुर ठकुरीले बताए ।अर्को पुल निर्माण नहुन्जेल हरेक समयमा ट्राफिक प्रहरीको उपस्थिती दिनुका साथै दुर्घटनाग्रस्त क्षेत्रका रुपमा चेतनामूलक वोर्ड, गती नियन्त्रणका उपायहरु सडकमा निर्माण गर्न ट्राफिक प्रहरीलाई सल्लाह दिएको जिल्ला प्रहरी प्रमुख डम्बरवहादुर विकले जानकारी दिए । ‘बिहान १० बजेदेखि निर्माणाधिन नारायणगढ मुग्लिन सडक बन्द हुने भएकोले मुग्लिन जाम हुनु अगावै पुग्न चालकहरुले तीव्र गतिमा सवारी कुदाउने र आपसी प्रतिस्पर्धा कै कारण पुलबाट सवारी साधानहरु खस्ने गरेको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए ।


Facebook Comment


No ads found for this position