आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने

काठमाडौँ ।  प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिए पनि बजेट विनियोजनको मात्रा हेर्दा पर्यटक भित्र्याउन आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास र प्राकृतिक ताल तलैया संरक्षणमा ध्यान नदिइएको गुनासो गर्नुभयो । विनियोजन विधेयक, २०७५ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूद र अर्थमन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले पर्यटकको आवागमन बढाउन भौतिक पूर्वाधारको विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।सांसद सञ्जय गौतमले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रमा सरकारले केही राम्रा विषय समावेश गरे पनि बजेट विनियोजनको मात्रा हेर्दा बजेट केन्द्रीकृत मान्यताका आधारमा ल्याइएको छ भन्नुभयो ।

तारा तालदेखि रारा तालसम्म जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बजेटमा नआएको, बर्दिया राष्ट्रिय निकुञ्जको भौतिक पूर्वाधारको विकासमा ध्यान नदिइएको उहाँले गुनासो गर्नुभयो । सांसद गौतमले सरकारले पर्यटन प्रवद्र्धन गर्ने भन्दै रारा तालमा कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकसमेत बसेको भए पनि बजेटमा डोल्पालाई मात्रै प्राथमिकतामा राखेर अरु जिल्ला र क्षेत्रलाई ओझलमा पारिएकामा आपत्ति प्रकट गर्नुभयो । सांसद लक्ष्मणलाल कर्णले धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन आग्रह गर्दै नेपाली नागरिकलाई नै देश भ्रमण गराउने योजना ल्याउन, भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले खेलकूदको विकासका लागि नारा अगाडि सारेको भए पनि रंगशाला निर्माणमा ध्यान नदिइएकामा आपत्ति जनाउनुभयो । खेलकूदमा सम्पूर्ण प्रगतिका लागि जताततै रंगशाला निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हुम्लाका सांसद छक्कबहादुर लामाले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष रुपमा लागिने बताइए पनि डोल्पामा मात्रै बजेट विनियोजन गरिएकामा गुनासो गर्नुभयो । सडक यातायातले नछोएको डोल्पालाई मात्रै पर्यटन प्रवद्र्धन गर्ने भनेर बजेट उपलब्ध गराइएको र अरु जिल्लालाई ध्यान नदिएर विभेद गरिएको उहाँको भनाइ थियो ।

हुम्लाको सिमीकोट विमानस्थलमा आन्दोलन शुरु भएको आज तीनदिन भए पनि सरकारले समस्या समाधानमा ध्यान नदिएकामा उहाँको आपत्ति थियो । सांसद कमला रोकाले आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई पूरा गर्न नीतिगत, प्राविधिक एवं भौतिक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहसिक खेलकूदलाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै प्याराग्लाइडिङ, बन्जीजम्पको प्रवद्र्धनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सांसद रोकाले ‘जनयुद्ध’ कालीन गुरिल्ला पदमार्गको विकास र प्रवद्र्धनमा जोड दिएर पर्यटन विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्तगर्नुभयोे ।

सांसद डिला संग्रौलाले प्रदेश नं १ मा सीमसारलाई रामसार सूचीमा राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने, नेपालको संस्कृति, कलालाई पनि पर्यटन विकासको माध्यम बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सांसद यशोदा सुवेदीले नेपालका सांस्कृतिक कला तथा प्राकृतिक स्रोत तथा साधनलाई प्रयोग गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने, नयाँ नयाँ पर्यटन गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिंदै अन्नपूर्ण पदमार्गमा सडक निर्माण भएपछि केही समस्या आएको छ भन्नुभयो । सांसद मीनबहादुर विकले ठूला नेताको प्रभावमा बजेट विनियोजन गरिएको भन्दै विनियोजन प्रणाली नै गलत रहेको आरोप लगाउनुभयो ।


Facebook Comment


No ads found for this position