यसरी चल्छ ‘फेक रेस्क्यु’को धन्दा,कस्ले कति पाउछन् त ?

केदार दाहाल

पदयात्री पर्यटकलाई बिरामी बनाएर ‘फेक रेस्क्यु’ गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलोमतो ‘फेक रेस्क्यु’को ठूलो धन्दामार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको हो । जसबाट आउने ठूलो रकम भागबन्डा गर्ने गरेका छन् ।
नेपालमा झन्डै २ लाख पर्यटकहरू पदयात्रामा आउने गरेका छन् । जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन् ।

फाइल फाेटाे

यसरी चल्छ ‘फेक रेस्क्यु’को धन्दा 
पर्यटकलाई पहिलो चरणमा कम्पनीहरूले बुकिङको समयमै सस्तो प्याकेज देखाएर आकर्षित गर्ने गरेका छन् । जसमा सगरमाथा आधारशिविरमा जानको लागि प्रतिपर्यटक न्यूनतम १५ सय डलरको प्याकेज किन्नुपर्ने हुन्छ । तर, कम्पनीहरूले ७ सय डलरदेखि ९ सय डलरमै प्याकेज विक्री गरेर बुकिङ गराउने गर्दछन् ।
जब पर्यटक नेपाल आएर पदयात्रा सुरु गर्दछन् । “जोसुकैलाई पनि ४ हजारभन्दा माथि गइसकेपछि समस्या आउनु स्वभाविक हो,” एक ट्रेकिङ गाइडले भने । जब पर्यटकलाई केही समस्या आएको थाहा पाएपछि सँगै गएको गाइडले नर्मल उपचार गराउनको साटो डर र त्रास देखाएर ‘रेस्क्यु’को लागि अफर गर्दछन् । समान्यतया ७० प्रतिशत पर्यटक उच्च स्थानमा गएपछि सामान्य बिरामी हुने गर्दछन् । सामान्य बिरामी भएपछि ‘फेक रेस्क्यु’ गर्नको लागि लोभमा समेत पार्ने गरेका छन् । कतिपय गाइडहरूले चिया तथा पानीमा समेत होटलसँगको मिलोमतोमा पाउडर, मुसाको लिँडसमेत प्रयोग गर्ने गरेको ती गाइडको भनाइ छ । गाइडले रेस्क्यु गराएबापत १५ देखि २० प्रतिशतसम्म रकम पाउने गरेका छन् । त्यसको लोभमा गाइडहरूले पर्यटकलाई रेस्क्युको वातावरण तय गर्दछन् । पर्यटक रेस्क्युमा जान तयार भएपछि आफ्नो कम्पनीलाई गाइडले जानकारी गराउँदछन् ।
त्यसको केही बेरमै कम्पनीले रेस्क्यु कम्पनीलाई सबै जिम्मेवारी दिएर हेलिकप्टर रेस्क्युको लागि सम्बिधत स्थानमा जाने गर्दछन् । यता रेस्क्यु कम्पनीले पर्यटकले बिमा गरेको कम्पनीसँग ‘तेरो मान्छेको रेस्क्यु भएन भने जे पनि हुनसक्छ’ भनेर सम्पर्क गरिसकेको हुन्छ । बिमा कम्पनीले रेस्क्यु गर भनेपछि सुरु हुने ति गाइडको अनुभव छ ।
‘फेक रेस्क्यु’मा हेलिकप्टर कम्पनीलाई १० हजार डलर 
समान्य रेस्क्युमा ३ हजारदेखि ३ हजार ५ सय डलरमा बिरामी ल्याउने हेलिकप्टर कम्पनीहरूलाई ‘फेक रेस्क्यु’ मा भने १० हजार डलर दिइने गरेको छ । हेलिकप्टर कम्पनीहरूलाई पनि ‘फेक रेस्क्यु’ फाइदै फाइदा हुने गरेको छ ।
समान्य अवस्थामा सगरमाथा आधार शिविरबाट लुक्लासम्म रेस्क्यु गर्दा १ हजार ७ सय डलरमा ल्याउने गरेका छन् । नाम्चेबाट लुक्ला १ हजार डलरमा ल्याउने गरेका छन् । तर ‘फेक रेस्क्यु’मा भने काठमाडौंसम्म ल्याउँदा १० हजार डलर पाउने गरेका छन् ।
पाँच जना बिरामी एउटै हेलिकप्टरमा काठमाडौं ल्याएको भए पनि ५ पटक रेस्क्यु गरेको भनेर फाइल तयार गरिन्छ । उक्त समयसम्म पर्यटक समेत तयार भइसकेका हुन्छन् । “‘फेक रेस्क्यु’ मा पर्यटकलाई समेत केही कमिसन दिने गरेकोले पर्यटकहरू समेत सवै कुरामा राजी भएका हुन्छन्,” एक ट्रेकिङ कम्पनी सञ्चालकले भने । ‘फेक रेस्क्यु’मा कसरी पर्यटकलाई फकाएर बिमा दावी गर्ने भन्ने ध्यान हुने भएकोले पर्यटकलाई फाउने गरेको उनले बताए ।
५० हजार डलरसम्म बिमा दावी
काठमाडौं आइसकेपछि अधिकांशलाई अस्पताल पु-याइन्छ । अस्पतालमा सबै प्रकारको चेक गरेर डलरमा बिल तयार गरिन्छ । एउटा ‘फेक रेस्क्यु’ को बिल १० हजार डलरदेखि ३० हजार डलरसम्म बनाउने गरेको पाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिका एक सदस्यले जानकारी दिए । “हामीले यतिबेला सवै क्षेत्रबाट प्रमाणहरू जुटाइरहेका छौं,” ती सदस्यले भने । अस्पतालको उपचार खर्च ३० हजार डलर, हेलिकप्टरको १० हजार र अन्य खर्च १० हजार डलर तयार पारेर ५० हजार डलरसम्मको बिमादावी गरेको भेटिएको ति सदस्यले जानकारी दिए ।
४ बिमा कम्पनी कम्पनीसँग जानकारी लिँदै 
छानबिन समितिले अन्तर्राष्ट्रिय ४ बिमा कम्पनीलाई नेपाल आएका पर्यटकहरूले ‘फेक रेस्क्यु’ पछि बिमा दाबी गरेको र भुक्तान गरेको विषयमा जानकारी मागेको छ । समितिले यसअघि ट्राभल र ट्रेकिङ एजेन्सी, अस्पताल, उद्दार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याइसकेको छ । ती संस्थालाई उद्दार गरेको पर्यटकको नाम, उपचार गरेको अवस्थालगायत सम्पूर्ण विवरण मागिसकेको छ । विषयमा छानबिन गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी ग्लोबल रेस्क्यू, बसपा, एसओएस र नोम्याड्स कम्पनीलाई नेपाल आएका पर्यटकको बिमाका विषयमा जानकारी मागेको हो ।
नेपालका विभिन्न अस्पताल, ट्राभल र हेलिकप्टर कम्पनीबाट विवरण संकलन गरिसकिएका र, त्यसलाई सहयोग हुने भएकाले अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पनि जानकारी मागिएको हो । समितिले केही ट्राभल-ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी यसअघि नै मागिसकेको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएपनि समितिले असार १५ देखि थप दुई महिनाको समय मागेको छ ।
मन्त्रालयका सहसचिव तथा छानबिन समितिका संयोजक घनश्याम उपाध्यायले अहिले विदेशी बिमा कम्पनीसँग नेपालमा बिमा भुक्तान गरेको अवस्थाका विषयमा जानकारी मागेको बताए । “हामी यस विषयमा विस्तृत अध्ययन गरिरहेका छौं, त्यसैले पनि समय लागिरहेको छ,” उनले भने । छानबिन चलिरहेकोले अहिले नै कुन–कुन कम्पनीहरूले कसरी ठगी गरेको भन्ने विषय नआइसकेको उपाध्यायले बताए ।
छानबिन समितिले अहिलेसम्म पहिलो चरणमा १० हेलिकप्टर कम्पनी, १४ ट्राभल कम्पनी, ७ अस्पताललाई छानबिनको दायरमा ल्याएर पत्र काटिसकेको छ । त्यस्तै दोस्रो चरणमा २२ ट्राभल कम्पनीलाई पनि पत्र काटेर रेस्क्युको सम्पूर्ण विवरण मागेको छ ।


Facebook Comment


No ads found for this position