धार्मिक पर्यटनको रुपमा विकास हुँदै

बनेपा, साउन : काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।

विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की (नानीराम)ले बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा पर्ने सो ठाउँमा २०७३÷७४ मा सूर्यविनायक नगरपालिकाले रु २० लाख आर्थिक सहयोग उपलब्ध गरिएको सो मन्दिरको लागि स्थानीयस्तरबाट समेत आर्थिक सहयोगमा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

उहाँका अनुसार कृषि विकास बैंकको क्षेत्रीय निर्देशनालयबाट सामाजिक विकास कोषमार्फत रु एक लाखको सहयोगमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उहाँका अनुसार नेपाल सरकारबाट समेत रु ४० लाख अनुदानसहित स्थानीय बासिन्दाको सहयोग गरी कूल रु एक करोड ५० लाख लगानी भइसकेको बताउनुभयो ।

पहिला दिनमा दुई÷चारजना मात्रै भक्तजन आउने गरेको मन्दिरमा भवन निर्माण कार्यसँगै भक्तजनको आगमन बढ्दै गएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभलक्ष्मी कार्कीले बताउनुभयो । मन्दिरको दक्षिणमा आशापुरेश्वर महादेव, उत्तरमा महाङ्कालेश्वर महादेव र पूर्वमा विकटेश्वर महादेव रहेको सो मन्दिर ११ वटा गजुर राखेर निर्माण गरिएको छ ।

भिङ्गालेश्वर र लटरम्बेश्वर सामुदायिक वनको बीचमा रहेको सो क्षेत्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ । दुबै सामुदायिक वनले धार्मिक पर्यटन विकासका लागि भनेर कार्ययोजनामा नै पारित गरिसकेको अध्यक्ष कार्कीले बताउनुभयो । विगतमा उपत्यकालाई एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले गडी निर्माण गरेको ठाउँ साँगा संसारीदेवी गडीको रुपमा समेत परिचत रहेको छ ।

काभ्रे जिल्लाको भँैसेपाटी बनेपालगायतका स्थान अवलोकन गर्न सकिने सो ठाउँबाट उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । हावापानी र वातावरणको दृष्टिकोणले पनि अति उपयुक्त ठाउँ भएकाले पछिल्लो अवस्थामा भक्तजनको ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी योगेन्द्रबहादुर घलेले बताउनुभयो ।


Facebook Comment


No ads found for this position