यसरी जान सकिन्छ बन्दिपुर, के के बिशेषता छ त बन्दिपुरमा

उपेन्द्र खनाल
काठमाडौं, पोखरा वा अन्य सहरको बसाइले दिक्क त लागेको छैन ? सहरको एकोहोरो दैनिकीबाट उत्पन्न दिक्दारीबाट ‘रिफ्रेस’ हुन खोज्दै हुनुहुन्छ भने ‘हिलस्टेसन’ बन्दीपुर उपयुक्त हुन सक्छ ।
चिरिच्याँट्ट वस्ती । सफा, सुन्दर र कलात्मक प्राचीन घरहरू । पुराना ढुंगा बिछ्याइएको बाटो । परम्परागत कला र संस्कृति । बन्दीपुर पुग्नेबित्तिकै यस्तै देखिन्छ । यहाँ पुग्ने जोकोहीको मन पनि प्रफुल्लित हुन्छ । त्यसले त ऐतिहासिक तथा प्राचीन सभ्यताले भरिपूर्ण बन्दीपुरलाई उपमा दिइन्छ, ‘पहाडकी रानी’ ।
बिदाको समयमा परिवारसँगै घुमघाम गर्ने उपयुक्त ठाउँ पनि हो, बन्दीपुर । यो हिलस्टेसन घुम्ने मौसम घर्किएको छैन । यहाँ मौसम सधैँ एकनासजस्तै हुन्छ । चिसोमा खासै चिसो हुन्न भने गर्मीमा पनि पसिना चुहिने गर्मी महसुस हुँदैन । जाडोमा पनि बिहानै चिटिक्क घाम लाग्छ । त्यसैले त काठमाडौं र पोखरा आसपासका आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ, बन्दीपुर ।
बिदाको समयमा परिवारसँगै घुमघाम गर्ने उपयुक्त ठाउँ पनि हो, बन्दीपुर । यो हिलस्टेसन घुम्ने मौसम घर्किएको छैन । यहाँ मौसम सधैँ एकनासजस्तै हुन्छ । चिसोमा खासै चिसो हुन्न भने गर्मीमा पनि पसिना चुहिने गर्मी महसुस हुँदैन ।
बन्दीपुरको ग्रामीण पर्यटनमा सदाबहार मौसमसँगै प्राचीन भक्तपुरे घरहरूले सुनमा सुगन्ध थपेको छ । यहाँका घरहरू पुराना कलात्मक शैलीका छन्, जसले पर्यटकलाई मोहित पार्छ ।उस्तै परे बन्दीपुरका होटेलमा कोठा पाउन मुस्किल हुन्छ । त्यसैले, आउनुभन्दा पहिला सम्पर्क गर्न उपयुुक्त हुन्छ । सिजनका वेलामा पर्यटकले पहिले नै होटेल व्यवसायीसँग सम्पर्क गरेर आउँदा सहज हुने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङले सुझाए । ‘सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको भिड हुने गर्छ । त्यसैले, पहिले नै होटल बुक गर्दा सहज हुन्छ,’ अध्यक्ष गुरुङले भने ।
के–के हेर्न पाइन्छ ?
भक्तपुरे शैलीमा निर्माण गरिएका घर । तीनधारा, रानीवन, टुँडिखेल, थानीमाई, खड्गदेवी मन्दिर, रामकोट, महालक्ष्मी मन्दिर, सुनाखरी, विन्ध्यवासिनी मन्दिर । यी आन्तरिक पर्यटकका आर्कषक केन्द्र हुन् । बन्दीपुरबाट देखिने खुला मौसम । न जाडो न गर्मी । हिउँदमा त झनै लटरम्म फल्ने सुन्तला । पहेलपुर हुन्छ, बन्दीपुर । बाटोभरि सुन्तला नै सुन्तला देखिँदा लाग्छ, यो त ‘अरेन्ज टे«क’ हो । अनि, डाँडामा पुगेपछि वर्षात्मा पनि मनोरम हिमशृंखला लहरै देखिन्छ । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, मनास्लु, गणेशलगायतका दर्जन हिमालहरू छ्यांगै देखिन्छन् ।
बन्दीपुरमा नेवार जातिको बाहुल्यता छ । जसले गर्दा लोभलाग्दो नेवारी संंस्कार त यहाँको आकर्षण भइहाल्यो । अनि बन्दीपुर भ्युटावर, खड्गमाई मन्दिर र सिद्धगुफा पुग्नैपर्ने गन्तव्य हुन् । प्राचीन घरहरू र मौलिक संस्कृति झल्किने परम्परागत झाँकी यही अवलोकन गर्न पाइन्छ ।
बन्दीपुरमा विभिन्न प्रकारको अर्गानिक खाना त पाइन्छ नै त्यसमा गुन्द्रुक, ढिँडो, लोकल कुखुराको मासु, सेलरोटीलगायतका परिकार झन स्वादिला लाग्छन् । त्यस्तै, पर्यटकको सुविधाका लागि प्याराग्लाइडिङको समेत व्यवस्था छ । अहिले बन्दीपुरमा एकदर्जन बढी ठूला होटेल निर्माण भइरहेका छन् । धमाधम नयाँ–नयाँ घर बन्दै छन् । राम्रो सेवासुविधा भएको होटेल पनि बन्दीपुरमै पाइन्छ ।
हुन त पहिला तनहुँको पुरानो सदरमुकाम हो, बन्दीपुर । ०२६ मा सदरमुकाम दमौली सरेपछि सुस्ताएको यो सहर केही वर्षदेखि मुर्झाएको छ । अनि पर्यटकीय आर्कषणको केन्द बन्न थालेको छ । नेवार, गुरुङ, मगरलगायतका विभिन्न समुदायकोे मिश्रित संस्कृति अर्को बलियो पक्ष हो, बन्दीपुरको । अनि, गाईजात्राको दिन नेवार समुदायले टाकटुके, लाखे नाच, विभिन्न झाँकीसहित प्रर्दशन गर्दा सहर नै रंगिन बन्छ । अझ अब त डुम्रेबजारदेखि बन्दीपुरसम्म केबुलकार निर्माण हुँदै छ ।
कसरी पुग्ने
काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै एक सय ३३ किलोमिटर पार गरेपछि डुम्रे बजार पुगिन्छ । पर्यटकहरू डुम्रे ओर्लेपछि ट्याक्सी लिएर जंगलका हरियालीसमेतको मनोरम दृश्य हेर्दै बन्दीपुरको उकालो चढ्दाको मजा भिन्दै महसुस गर्छन् । घुमाउरो र पहाडको मनोरम दृश्य छिचोल्दै आठ किमि दुरी पार गरेपछि बन्दीपुर आइपुग्छ । काठमाडौंबाट चार घन्टाको सवारीयात्रा गरेपछि पुग्न सकिन्छ भने पोखराबाट दुई घन्टामै ।नयाँपत्रीका
थोरै खर्चमा होमस्टेको सेवा
थोरै खर्चमा धेरै रमाइलोको अनुभव लिन सकिने ठाउँ हो, बन्दीपुर । काठमाडौंबाट चार सय रुपैयाँमा मजाले पुग्न सकिन्छ । बन्दीपुर होमस्टेले सस्तोमै बसोबासको सुविधा उपलब्ध गराउँछ । आन्तरिक पर्यटकका लागि एक दिनको सात सय रुपैयाँमा बस्ने र खाने प्याकेजको व्यवस्था गरिएको छ । यस्तै, सुविधा उपलब्ध गराउन बन्दीपुरमा तीनवटा होमस्टे सञ्चालित छन् ।