पर्यटन विकासमा छुट्याइएको ६३ लाख रकम मदिरा सेवन र मासुभातमा स्वाहा

धरान : धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ। पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए। तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ। सम्झौता पत्रको प्रमाणित प्रतिलिपी अन्नपूर्णसँग सुरक्षित छ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ। तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ। उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो। धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ। धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ। स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो।

पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङ र धरान उपमहानगरका तत्कालिन प्रेस संयोजक योगेशबावु काफ्लेले भेडेटारसम्मको पदयात्रा सम्भावना र पहिचानका क्रममा लोकल रक्सी र कुखुराको भाले खाएको ३० हजार छ सय २५ रुपैयाँ उपमहानगरपालिकाले भुक्तानी गरेको छ। पर्यटन विकास उपशाखा प्रमुख भक्तिराज शर्मा जनप्रतिनिधि आएपछि पिण्डेश्वर बाबाधाम, विग इभेन्ट, सुनसरी जिल्ला साईक्लिङ संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सिल्भर इन्टरटेन्मेन्ट र नेपाल खड्गी सेवा समितिसँग मात्र तीन लाख पाँच हजार रुपैयाँको सम्झौता गरेको जानकारी दिए। तर, धरान उपमहानगरपालिकाले धरानका प्रमुख धार्मिक स्थलहरु, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा मन्दिर तथा पर्यटकीय स्थलहरु शिवजट्टा, चिन्डे डाँडा, सूर्य कुण्ड लगायतका स्थानको विकासमा बजेट खर्च नगरी मदिरा र मासुभातमा बजेट सकेको स्थानीको गुनासो छ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको बजेट दुरुपयोग नगरेको दावी गरेकी छन्। उनले पर्यटनको बजेट कार्यपालिकाको निर्णयबाट पास गरेर खर्च गरिएको बताइ।

देश विदेश भ्रमणमा १३ लाख

धरानका जनप्रतिनिधिहरुले देश विदेश भ्रमण गरेवापत १३ लाख ४१ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर स्व. तारा शुब्बा र उपमेयर मञ्जु भण्डारीले श्रीलंका, थाईल्यान्ड, हङ्कङ र भारत भ्रमण गरे वापत आठ लाख ७० हजार रुयैयाँ खर्च गरेको उपमहानगरका लेखाअधिकृत अधिकारीले जानकारी दिए। उनका अनुसार अन्य जनप्रतिनिधिहरु समेतले देशका विभिन्न स्थानमा भ्रमण गरेवापत्त चार लाख ७१ हजार नौ सय ३२ रुपैयाँ खर्च बुझेका छन्।

धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिका सदस्य सुर्वण श्रेष्ठले पर्यटन विकासमा विनियोजन गरिएको बजेट अन्य शीर्षकमा खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको बताए। उनले पर्यटनको बजेटले मदिरा र मासु भातमा खर्च गरेर जनप्रतिनिधिहरुले ग्रैहकानुनी काम गरेको भन्दै त्यसको छानविन हुनु पर्ने माग गरे।

सिक्किम भम्रणमा १० हजार

साता अघि गत बुधवार सिक्किम भ्रमणमा गएकाहरु प्रति व्यक्ति सहभागीहरुले १० हजार रुपैयाँ बुझेको भरपाई बनाइएको खुलासा भएको छ। धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले ३० जना सहभागीहरुलाई १० हजार रुपैयाँको भरपाई गराई रकम भने नदिएको एक सहभागीले बताएका छन्। सिक्किम भ्रमणमा गएका ३० जनाको टोलीलाई उपमहानगरको बजेटबाट दुई छाक खाना मात्र खुवाएको र तीन हजार रुपैयाँको तेल भन्दा अन्य खर्च नभएको सहभागीहरुले बताएका छन्।

भ्रमणमा यातायता व्यवसायीहरुको दम्पत्ती टोली र उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी र उनका पति मुरारी सुवेदी पनि गएका थिए। यातायात व्यवसायी कृष्ण सुवेदीले यातायात व्यवसायीहरु आफ्नै खर्चमा सिक्किम गएको बताए। उपमेयर भण्डारीका श्रीमान सुवेदीले पनि सिक्किम जाँदा उपमहानगरको गाडीमा मात्रसंगै गएको र सिक्किममा आफैले खर्च गरेर बसेको बताए।

सिक्किम भ्रमणमा उपमहानगरपालिकाबाट तीन लाख ४० हजार बुझेर लगेका अधिकृत खतिवडाले भने लेखा शाखामा भ्रमणको खर्चको विल भरपाई भने पेस गरेका छ्रैनन्। सहभागीलाई दश हजार रुपैयाँको भरपाईमा सही गराएको विषयमा बुझ्न खोज्दा खतिवडाले फोन उठाएनन्।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position