मुख्य पर्यटकीय क्षेत्र हिमपातले अस्तव्यस्त, सुचारू हुन समय लाग्ने

पोखरा – हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङसँग सदरमुकाम जोमसोमको सडक सम्पर्क स्थापित नभएको झन्डै डेढ महिना पुगेको छ। बीचबीचमा केही दिन सञ्चार सम्पर्कसमेत टुटेको माथिल्लो भेगसम्म स्थलगत आउजाउ रोकिएको डेढ महिना भइसकेको छ। अहिलेकै अवस्थामा मौसमले साथ दिए आउजाउ सहज हुन अझै झन्डै तीन साता लाग्ने स्थानीय प्रशासनको अनुमान छ।

यो सिजनमा मात्र हिमाली जिल्ला मुस्ताङ र मनाङमा दर्जनभन्दा बढीपटक हिमपात भएको छ। ६–७ पटकको हिमपात निकै बाक्लो थियो। त्यही हिमपातले स्थानीयलाई आउजाउमा असहज बनाएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले बताए। बाक्लो हिमपातले स्थानीयको आउजाउ मात्र नभई सिजनको मुखमा रहेको पदयात्रा पर्यटन पनि प्रभावित भएको उनले बताए।

‘डेढ महिना भयो लोमान्थाङसँग सडक सम्पर्क भएको छैन। बीचमा केही दिन त सञ्चार सम्पर्क पनि टुटेको थियो,’ रेग्मीले भने, ‘अहिलेकै अवस्थामा घाम लागेको खण्डमा पनि चैतको मध्य नभएसम्म माथिल्लो भेग पुग्न सकिन्न। यसले सिजनको मुखको पदयात्रा पर्यटन प्रभावित भएको छ।’ रेग्मीका अनुसार लोमान्थाङ क्षेत्रमा अझै पनि झन्डै साढे दुई फिट बाक्लो हिउँ छ। चर्काे घाम लागेको खण्डमा मात्र हिउँ पग्लने र आउजाउ सहज हुने भए पनि पटकपटकको हिमपातले हिउँको थुप्रो लागेको उनले बताए।

केही दिन सञ्चार सम्पर्कसमेत टुटेको माथिल्लो भेगसम्म स्थलगत आउजाउ रोकिएको डेढ महिना भइसकेको छ । अहिलेकै अवस्थामा मौसमले साथ दिए आउजाउ सहज हुन अझै झन्डै तीन साता लाग्ने स्थानीय प्रशासनको अनुमान छ ।

लोमान्थाङसम्मको सडक मात्र रोकिएको नभई मुस्ताङ र मनाङ जोड्ने अन्नपूर्ण फेरोको पदयात्राको महत्वपूर्ण खण्ड थोराङ्ला भञ्ज्याङ (५४१६ मिटर)को वारपार रोकिएको पनि डेढ महिना बितिसकेको छ। पछिल्लो तीन सातादेखि थोराङपास पार गरेको पर्यटकको तथ्यांकसमेत राख्नुपरेको छैन। आउजाउ नै रोकिएपछि पदयात्रीको तथ्यांकसमेत राख्नु नपरेको प्रशासनले जनाएको छ। त्यस्तै मुस्ताङबाट डोल्पासम्मको पदयात्रा पनि अवरुद्ध छ। साङटा हुँदै तीन दिनमा डोल्पा पुगिने पदयात्रा कम चल्तीको रुट भए पनि हिमपातले यो बेला अवरुद्ध रहेको छ।

मुक्तिनाथ मन्दिरसम्मको बाटोको हिउँ हटाएर जसोतसो गाडी चल्ने बनाए पनि पैदलयात्रा सबैतिर अवरुद्ध रहेको उनले बताए। ‘पदयात्रा पनि अवरुद्ध छ। कतै जान सकिने अवस्था नै छैन,’ रेग्मीले भने, ‘योपटक अचाक्ली हिउँ परेको छ। त्यो हिउँ पग्लिनै पाएको छैन। हिउँ नपग्लिएसम्म पैदलयात्रा सञ्चालन गर्न सकिने अवस्था छैन।’ लोमान्थाङ गाउँपालिकाको चुङजुङसम्म प्रहरी पुगे पनि अन्यत्रका बस्तीसम्म आउजाउ रोकिएको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का जोमसोमस्थित अधिकृत तुलसी दाहालका अनुसार यसपटकको हिमपातले पदयात्रा क्षेत्र अस्तव्यस्त बनाएको छ। यतिबेला पदयात्रा चल्ने सिजन भए पनि पर्यटकको आउजाउ पूरै रोकिएको उनले बताए। ‘थोराङ्ला पासको तथ्यांक २१ दिनदेखि छैन। पोहोर बाहै्रमास पदयात्रा चलेकामा यसपटक रोकिएको छ,’ दाहालले भने, ‘यसपटक त तथ्यांक नै राख्नु नपर्ने गरी पदयात्रा रोकियो।’ उनका अनुसार लोमान्थाङसम्मको आउजाउ पनि पूर्णरुपमा बन्द छ। जाडो छल्न तल (पोखरा, बेनी, काठमाडौं) लगायत सहर झरेका गाउँलेसमेत घर फर्किन नसकेको उनले बताए। ‘गाँउलेहरु घर फर्किन पनि सकेका छैनन्,’ उनले भने। उनका अनुसार डोल्पासम्मको पदयात्रा पनि पूर्ण रुपमा रोकिएको छ।

पदयात्रामा मार्च–अप्रिल चल्तीको सिजन मानिन्छ। पर्यटन व्यवसायीले सेप्टेम्बर–नोभेम्बरपछि दोस्रो सिजनको रुपमा मार्च–अप्रिललाई मान्दै आएका छन्। तर, यो पटक प्राकृतिक प्रकोपले पदयात्रा क्षेत्र अस्तव्यस्त बनाएको व्यवासायीले बताएका छन्। ‘पदयात्राको मूल्य सिजन सुरु भएको पनि १० दिन बितिसकेको छ। पर्यटक पदयात्रामा जान सक्ने अवस्था नै छैन,’ टे«किङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले भने, ‘मुख्य पदयात्रा रोकिएपछि पर्यटक नै नेपाल नआउने सम्भावना बढेको छ। पर्यटक नेपाल आउनै मानेका छैनन्।’ सरकारले प्रि–मनसुन सुरु भइसकेको बताएको र हिमपात अभै जारी रहेकाले पनि पर्यटकलाई पदयात्रामा मार परेको उनले बताए।

उनका अनुसार अन्नपूर्ण फेरो बन्द भएको महिना दिन बितिसकेको छ। त्यस्तै अन्नपूर्ण आधार शिविरका होटल पनि हिउँले पुरिएका छन्। पदमार्ग पूर्ण रुपमा अवरुद्ध छ। लोमान्थाङसम्मको पदयात्रा रोकिएको पनि झन्डै डेढ महिना बितिसकेको छ। ‘यसपटक प्राकृतिक प्रकोपले हिमाली क्षेत्रको अस्तव्यत बनाएको छ,’ उनले भने, ‘मुल सिजन नै खेर जाने अवस्था आएको छ। सिजनको सुरुवातमै पदयात्रा गएका पर्यटक बीच बाटोबाटै फर्किन बाध्य छन्।’

अन्नपूर्ण आधार शिविर पदमार्गको छोमरोङमा रहेको एक्याप चेकपोस्टका कर्मचारी नेत्र शर्माका अनुसार आधार शिविरसम्मको पदमार्गको हिमालयसम्म मात्र आउजाउ गर्न सकिन्छ। त्यसभन्दा अगाडि जानसहज छैन। ‘पदमार्ग निकै नै जोखिमपूर्ण छ। विदेशीलाई हिमालयसम्म मात्र पठाएका छौं। त्यसभन्दा अगाडि जान सक्ने अवस्था छैन,’ शर्मा भन्छन्, ‘एबिसीको बाटो क्लियर हुन अझै निकै नै समस्या छ। चैत मध्यभन्दा अगाडि सफा हुने सम्भावना कम छ।’ सिजनको सुरुवाती भएकाले केही विदेशी आए पनि उनीहरु माथि पुग्न सकेका छैनन्। यतिबेला २५–३० जनाको अनुपातमा विदेशी गए पनि माथि पुग्न नसकेको उनले बताए।

अन्नपूर्ण फेरोको पदयात्रा पनि अझै केही दिन खुल्ने छाँटकाट नरहेको मनाङ प्रहरीले बताएको छ। मनाङका प्रहरी निरीक्षक श्रवणकुमार विकले अझै केही दिन पदयात्रा खुलाउन सक्ने अवस्था नरहेको बताए। उनका अनुसार हिमपातले यसपटक हिमपहिरोको जोखिम पनि उत्तिकै बढाएको छ। ‘पदमार्गमा अझै बाक्लो हिउँको थुप्रो छ। त्यही भएर पदयात्रा जान सकिने अवस्था नै छैन,’ उनले भने, ‘पर्यटकलाई हामीले मनाङबाट अघि नबढ्न सुझाएका छौं। जसोतसो मनाङसम्म उक्लेका पर्यटक त्यहीँबाट फर्केका छन्।’

एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार पदमार्गको हिउँ हटाउन कामदार पठाइएको छ। पदमार्गको हिउँ हटाउन १५ जना मान्छे हिउँ खन्ने र फ्याँक्ने साधनसहित खटिएका छन्। ‘हिउँ फ्याँक्ने र खन्ने गरी आइतबार १५ जना कामदार गएका छन्। अझ हिउँ परेन भने केही दिनमा खुलाउन सकिन्छ। हप्ताजति अझै लाग्न सक्छ,’ उनले भने, ‘यसअघि पनि कामदार हिउँ हटाउन गएकामा बीचमा फेरि हिमपात भएपछि फर्केका थिए।’ आइतबार गएको टोलीले माथिल्लो मनाङदेखि लेदरसम्मको सडक सफा गरेका छन्। उनीहरु थोराङपास गरेर मुक्तिनाथसम्मको खण्ड सफा गर्ने योजनामा रहेको तिरुवाले बताए।

सन्तोष पोखरेल


Facebook Comment


No ads found for this position