स्थलमार्गबाट नेपाल भित्रने पर्यटक बढे

गएकाे बर्ष भन्दा याे बर्ष रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको देखिएको छ। गत वर्ष सन् २०१७ मा भन्दा २०१८ मा यहाँ आउने पर्यटकको संख्या १० प्रतिशतले बढेको अध्यागन कार्यलय भैरहवाले जनाएकाे छ।

अध्यागमन अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५ पर्यटक स्थलमार्गबाट नेपाल आएका छन्। अघिल्लो वर्ष सन् २०१७ मा बेलहियाबाट एक लाख ५० हजार ८ सय ४१ तेस्रो मुलुकका पर्यटक नेपाल भ्रमणमा आएका थिए। यो तथ्यांकमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। बेलहिया नाकाबाट दैनिक हजारौं भारतीय नागरिक ओहोरदोहोर गर्ने हुँदा पनि भारतीय पर्यटकको तथ्यांक अध्यागमन कार्यालयमा राखिँदैन।

पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल भित्रिने राहदानी बोकेका पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाका निमित्त प्रमुख गिरीराज खनालले बताए। बेलहिया नाका हुँदै आउने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। कतिपय पर्यटक लुम्बिनी हुँदै पोखरा, चितवन, मनाङ, मुस्ताङ, काठमाडौं, पाल्पा लगायतका जिल्लामा पुग्ने गरेका छन्।

यस वर्ष सबैभन्दा बढी श्रीलंकाका पर्यटक आएका छन्। बेलहिया नाका हुँदै ५८ हजार ७ सय ६३ जना श्रीलंकनहरू नेपाल आएका छन् भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यानमारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६, चीनका ५ हजार २५ जना  बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।

यस्तै अन्य देशका पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी आएको छ । अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ मात्रै आएका छन् ।

अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इन्डोनेसियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सय ६०, फ्रान्सका ११ सय ३६ जना नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख ।

स्थलनाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए । त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए । अफ सिजनको रूपमा रहेको जुनमा १३ सय ८८ पर्यटक मात्र यो नाकाबाट नेपाल आएका थिए।

हरेक वर्ष लुम्बिनी आउने बाह्य तथा आन्तरिक पर्यटकहरूको संख्या बढे पनि यस क्षेत्रका पर्यटन व्यवसायीहरूले भने त्यसको लाभ लिन नसकेको गुनासो आउने गरेको छ।

यहाँ आउने अधिकांश पर्यटकहरू भारतका विभिन्न बौद्धिष्ट स्थलहरूको अवलोकनपछि भारतकै ट्राभल्स एजेण्टहरूमार्फत् लुम्बिनी आउने र एक डेढ घण्टामै लुम्बिनीबाट फर्किने गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य लुम्बिनी आउने बाहिरी देशका पर्यटकमध्ये ९५ प्रतिशतले भैरहवा समेत नदेख्ने बताउँछन्।

‘भारतीय ट्राभल्स एजेण्टहरूको साथमा सिधै लुम्बिनी आउँछन् ४५ मिनेटदेखि १ घण्टामा लुम्बिनीको दर्शन गर्छन् फर्किन्छन्,’ उनले भने।

शाक्यका अनुसार अधिकांश पर्यटकहरू मायादेवी मन्दिरबाटै फर्किने गरेका छन्। पर्यटकहरूको संख्या बढ्यो भन्दैमा पर्यटन विकास भयो भनेर भन्न नसकिने उनको तर्क छ।

लुम्बिनीमा ८५ देशबाट झण्डै १८ लाख पर्यटकहरू हरेक वर्ष अवलोकनको लागि पुग्ने गरेका छन् । प्राध्यापक डा. गितु गिरी लुम्बिनीसँगै कपिलवस्तु, देवदह र रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनी बनाउन सके यहाँ आउने पर्यटकलाई एक दिन भए पनि रोक्न सकिने बताउँछन्।

त्यस्तै, लुम्बिनीका विषयमा नकारात्मक हल्ला फिजाइदा पनि पर्यटन क्षेत्रमा प्रभाव परेको प्रदेशसभा ५ का उद्योग पर्यटन तथा आर्थिक विकास समिति सभापति दधिराम न्यौपाने बताउँछन्।

लुम्बिनी तथा यस क्षेत्रमा भएका सकारात्मक र राम्रा कुराहरूको चर्चा भन्दा लुम्बिनी प्रदुषित छ भन्ने जस्ता नकारात्मक कुराहरूको चर्चा बढी हुँदा त्यसको प्रभाव पर्यटन क्षेत्रमा परेको उनले बताए।


Facebook Comment


No ads found for this position