पर्यटनको मौसम शुरु भइसक्दा पनि पर्यटकको सङ्ख्या भने उत्साहजनक देखिएन

पोखरा, चैत : अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गसहितका क्षेत्रमा माघको दोस्रो सातायता विभिन्न समयमा परेको अत्यधिक हिमपातका कारण यो क्षेत्र प्रभावित भएको हो ।

पदयात्रा पर्यटनको दोस्रो मौसम (मार्च, अप्रिल र मे) शुरु भइसक्दा पनि पर्यटकको सङ्ख्या भने उत्साहजनक देखिएको छैन । अत्यधिक हिमपातसँगै झण्डै डेढ महीनादेखि बन्द भएको अन्नपूर्ण चक्रीय पदमार्ग खुले पनि अपेक्षित पर्यटक लैजान नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

लमजुङको बेँसीशहरबाट शुरु भई मनाङको थोराङला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पदयात्री पर्यटक पोखरा आउँछन् । यस क्षेत्रको पदयात्रा पर्यटन चलायमान हुँदा त्यसले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पाँचौँ स्थानमा पर्दछ ।

मनाङको थोराङला भञ्ज्याङ(पाँच हजार चार सय १६ मिटर उचाइ) लाई पार गर्दै उच्च हिमाली तथा पहाडी दृश्यको अवलोकन गर्ने लक्ष्यका साथ धेरै पदयात्री पर्यटक अन्नपूर्ण चक्रीय पदमार्ग पुग्ने गर्दछन् । मनाङको दानाक्युदेखि मुस्ताङको मुक्तिनाथसम्मको पदमार्ग हिमपातका कारण बन्द गरिएको थियो ।

हिमपातसँगै पदयात्रा मार्ग बिग्रने भत्कनेका साथै अन्नपूर्ण आधार शिविरमा हिमपातले पारेको क्षतिले यस यामको पदयात्रा पर्यटन प्रभावित बनेको ट्रेक एण्ड क्लाइम्ब एडभेन्चरका सञ्चालक एवं ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

“हिमपातका कारण यस पटक पदयात्राका लागि आउने पर्यटक समस्यामा परेका छन् । यसले व्यवसायीलाई समेत ठूलो असर पारेको छ”, उहाँले भन्नुभयो, “हिमपातसँगै पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविर आदिमा पर्न गएको क्षतिलाई दृष्टिगत गरी तत्काल बिग्रे भत्केका पदमार्ग तथा संरचना पुनःनिर्माणका लागि सरकारले चासो दिनुपर्ने देखिन्छ ।”


Facebook Comment


No ads found for this position