आफ्नै रेकर्ड तोड्दै कामीरिता २३ औं पटक सगरमाथाको चुचुरोमा

१ जेठ, सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् ।कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । उनीहरुले समान २१ पटक सगरमाथा चढेका छन् । यद्यपि, उनीहरुको नाममा थप कीर्तिमान बन्ने छैन । आरोहणबाटै सन्यास लिइसकेका छन् ।
पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।
सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आराेहीहरू
आरोही | आरोहण |
---|---|
कामिरिता शेर्पा | २३ |
ङिमा नुरु शेर्पा | २१ |
आप्पा शेर्पा | २१ |
फुर्वातासी शेर्पा | २१ |
आङ दोर्जी शेर्पा | १९ |
छेवाङ निमा शेर्पा | १९ |
मिङ्मा छिरी शेर्पा | १९ |
लाक्पा रिता शेर्पा | १७ |
कामिरिता शेर्पा | १६ |
निमा गोम्बु शेर्पा | १६ |