नेपालमा चेन हाेटल : पंख फिजाउँदै पर्यटन

टाइगर प्यालेस, भैरहवा । तस्वीरहरुः बिक्रम राई

विख्यात अन्तर्राष्ट्रिय ब्राण्डका ‘चेन’ होटलहरू बढ्दै जानुको अर्थ हो– नेपालको पर्यटन बजारले विस्तारै बाह्य जगतमा विश्वास बटुल्दैछ । 

पछिल्लो एक वर्षमा देशभर ठूलो लगानीका आधा दर्जन भन्दा धेरै तारे होटल संचालनमा आए । काठमाडौंको नागपोखरीमा मेरिओट, ललितपुरको झम्सिखेलमा भिभान्ता, भैरहवामा टाइगर प्यालेस, नेपालगञ्जमा होटल सोल्टी वेस्टइण्ड, चितवनमा फ्रेन रेसिडेन्सी र पोखरामा शुरू भएको स्विस इन्टरनेशनल त्यसका उदाहरण हुन् ।

पर्यटन बजारको सम्भावित विस्तारलाई ध्यानमा राखेर करीब डेढ दर्जन ठूला होटल निर्माणाधीन वा निर्माणको तयारीमा छन् । र, यिनमा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्डहरूको साझेदारी रहनेछ ।

ठूला होटलमा स्वदेशी लगानीकर्ताले ठूलो रकम खन्याए पनि धेरैजसोको व्यवस्थापन विदेशी ब्राण्डले जिम्मा लिएका छन् र ती होटल ख्यातिप्राप्त ब्राण्डको ‘चेन’ का रूपमा संचालन हुनेछन् । मेरिओट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात जस्ता होटलका अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली होटलको व्यवस्थापन सम्हाल्न आइपुग्नु बाह्य जगतमा पर्यटन बजारको पत्यार बढ्न थालेको संकेत भएको कतिपयको भनाइ छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष विनायक शाह भन्छन्, “तुलनात्मक रूपमा सानो नेपाली पर्यटन बजारमा अन्तर्राष्ट्रिय ब्राण्डका होटलको आगमन आफैंमा सुखद र उत्साहजनक हो, यसले पर्यटनमा अवसर र सम्भावनाको संकेत गर्छ ।”

सीमित ‘ग्लोबल ब्राण्ड’को उपस्थिति रहेको नेपाली बजारमा होटल भने अपवाद बन्दैछ । यसै पनि सानो बजारमा अन्तर्राष्ट्रिय ब्राण्डहरू भित्रिन सजिलो हुँदैन । होटल व्यवस्थापनका अनुभवी यज्ञप्रसाद पाण्डेका अनुसार, अन्तर्राष्ट्रिय ब्राण्ड छिर्नु भनेको नेपालको पर्यटन बजारले विश्वास आर्जन गर्न थालेको संकेत पनि हो ।

यसबाट नेपाली होटलहरूले संसारभर छरिएका ‘चेन ब्राण्ड’ को नेटवर्क मार्फत निःशुल्क मार्केटिङको अवसर पाउनेछन् । नागपोखरीमा मेरिओट र ठमेलमा फेयरफिल्ड होटल संचालनमा ल्याएका उद्योगी शशिकान्त अग्रवाल भन्छन्, “सयभन्दा बढी देशका ६–७ हजार स्थानमा उपस्थिति रहेको मेरिओट का ब्राण्डसँग जोडिएर उनीहरूको नेटवर्क मार्फत मार्केटिङ गर्नु हाम्रा लागि ठूलो अवसर हो ।”

अन्तर्राष्ट्रिय ब्राण्डको प्रवेश सम्भाव्य विदेशी लगानीका लागि पनि सकारात्मक हुन्छ । किनभने, ग्लोबल ब्राण्डको व्यावसायिक उपस्थिति भएको ठाउँ अरू लगानीकर्ताका लागि समेत चासोमा पर्छ । हानका उपाध्यक्ष शाह ठूला अन्तर्राष्ट्रिय ब्राण्ड पुगेका बजार विदेशी लगानीकर्ताका लागि चासो र सम्भाव्य लगानीको गन्तव्य हुने बताउँछन् ।

मेरिओट, काठमाडौं ।

विश्वविख्यात नाम
पहिलो पटक नेपाल भित्रिएको संसार प्रसिद्ध अमेरिकी होटल कम्पनी, मेरिओट ले एमएस समूहद्वारा काठमाडौंको नागपोखरीमा निर्मित पाँचतारे मेरिओट होटल र ठमेलको फेयरफिल्ड लाई मेरिओट ब्राण्डमा संचालन गरिरहेको छ । पुनः संचालनको तयारी भइरहेको पोखराको फूलबारी होटलको व्यवस्थापन पनि मेरिओटले सम्हाल्ने कुरा हुँदैछ । यसबाहेक, एमएस समूहले घोषणा गरेको भक्तपुरको होटलमा पनि मेरिओट ले व्यवस्थापन सम्हाल्नेछ ।

भारतको ताज होटल चौधरी समूहले ललितपुरको झम्सिखेलमा संचालनमा ल्याएको ‘होटल भिभान्ता’ को व्यवस्थापन सम्हाल्न फेरि नेपाल आएको छ । होटल अन्नपूर्णको व्यवस्थापन सम्हाल्न आएको ताज सन् २००४ मा फर्केको थियो । चौधरी समूहकै लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताज कै व्यवस्थापन छ ।

गत महीना मात्र संचालनमा आएको चौधरी समूहकै लगानी रहेको भरतपुरस्थित फ्रेन रेसिडेन्सीमा भारतीय होटल तथा रिसोर्ट कम्पनी फ्रेन ले व्यवस्थापन सम्हालेको छ । फ्रेन मा चौधरी समूहका अध्यक्ष विनोद चौधरीको समेत लगानी छ । पोखरामा भर्खरै संचालनमा आएको चारतारे होटल सरोवरमा स्विस इन्टरनेशनल को साझेदारी छ ।

निर्माणाधीन होटलहरूले पनि विख्यात अन्तर्राष्ट्रिय ब्राण्डसँगै साझेदारी गर्दैछन् । लैनचौरमा निर्माणाधीन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको होटलमा स्टारउडको शेराटन ब्राण्डको साझेदारी हुनेछ । करीब रु. ८ अर्ब लगानीको यो होटलको नाम ‘काठमाडौं शेराटन’ राखिएको छ ।

अमेरिकी बहुराष्ट्रिय होटल कम्पनी हिल्टन पनि शंकर समूहसँगको साझेदारीमा नेपाल आउँदैछ । शंकर समूहले नक्सालमा निर्माण गरिरहेको होटल ‘डबल ट्री हिल्टन’ नामबाट संचालनमा आउनेछ । ठमेलको छायाँदेवी सेन्टरमा पृथ्वीराज पाँडे सहितको समूहले निर्माण गरेको होटल अलफ्ट जेठको अन्तिमदेखि संचालनमा आउनेछ, जसमा स्टारउडको अलफ्ट ब्राण्डको साझेदारी छ ।

ठमेलमा युरोपेली होटल ब्राण्ड रमाडा सँगको साझेदारीमा चारतारे ‘रमाडा इन’ होटल पनि निर्माणाधीन छ । गोल्यान समूहले सोल्टी–मोडमा निर्माण गरिरहेको पाँचतारे होटल व्यवस्थापनका लागि बहुराष्ट्रिय कम्पनी हायात सँग समझ्दारी भएको छ । अरुण चौधरीले ललितपुरको झम्सिखेलमा निर्माण गर्न लागेको पाँचतारे होटलको व्यवस्थापन सम्हाल्न प्रसिद्ध अमेरिकी ब्राण्ड होलिडे इन भित्र्याउने तयारी छ ।

त्यसैगरी, जापान क्लब इन्टरनेशनल ले नेपालमा तीन वटा होटल निर्माणका लागि लगानी बोर्डबाट अनुमति लिएको छ । नेपाली व्यवसायीहरूको समूहले महाराजगञ्जमा निर्माण गरिरहेको होटलमा क्यानडाको फोर सिजन लक्जरी ब्राण्डलाई भित्र्याउने पहल भइरहेको छ । भूकम्पपछि बन्द एभरेष्ट होटलमा पनि अन्तर्राष्ट्रिय ब्राण्ड ल्याएर व्यवस्थापन जिम्मा लगाउने तयारी हुँदैछ ।

नेपालका होटलमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिएको पहिलो पटक भने होइन । पाँचतारे अन्नपूर्ण होटलले भारतको ताज होटलको लगानी सहित व्यवस्थापन समेत भित्र्याएको थियो । त्यसैगरी, सोल्टी होटलमा भारतीय होटल ओबरोय लाई व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । एभरेष्ट होटलमा पनि शेराटन ले व्यवस्थापन सम्हालेको थियो ।

तर, यी तीनै ब्राण्ड लामो समय टिकेनन् । सोल्टीबाट ओबरोय फिर्ता गएपछि अहिले क्राउन प्लाजा ब्राण्ड छ । तर, यो व्यवस्थापन सम्झैता नभएर (नाम प्रयोग गर्न दिएबापत सम्बन्धित कम्पनीले निश्चित प्रतिशत रकम शुल्क लिने) ‘फ्रेन्चाइजी’ मात्र हो । ‘होटल र्‍याडिसन’ ब्राण्डमा सञ्चालित नेपाल ओरियन्टल होटलमा पनि र्‍याडिसन को फ्रेन्चाइजी मात्र छ ।

हायात होटलको ब्राण्डमा सञ्चालित तारागाउँ रिजेन्सीमा भने हायात कर्पोरेसनले व्यवस्थापन नै सम्हालेको छ । त्यस्तै, थाइल्याण्डको चेन होटल दूसीत थानीले नगरकोटको हिमालयन रिसोर्ट एण्ड स्पाको व्यवस्थापन गरिरहेको छ । दूसीत थानीले अन्नपूर्ण होटलसँग व्यवस्थापन सम्झैता गरे पनि पछि सम्झैता नै भंग भएको थियो ।

नेपालमा भित्रिएका वा भित्रिने तयारीमा रहेका अन्तर्राष्ट्रिय चेन होटल लक्जरी र निकै उच्चकोटिका भने होइनन् । जस्तो कि, संसारकै ठूलो चेन होटलमध्येको अमेरिकी बहुराष्ट्रिय कम्पनी मेरिओट इन्टरनेशनलका साढे दुई दर्जन जति विभिन्न स्तरका ब्राण्ड छन् । नेपाल आएका ब्राण्ड चाहिं ‘प्रिमियम’ र ‘सेलेक्ट क्लास’ का हुन् ।

नागपोखरीको मेरिओट ‘प्रिमियम’ मा पर्छ भने ठमेलस्थित फेयरफिल्ड होटल मेरिओट को ‘बिजनेस क्लास’ होटल हो । मेरिओट र फेयरफिल्ड का शशिकान्त अग्रवाल निकै धनी पर्यटकहरू खासै नेपाल नआउने भएकाले लक्जरी र निकै उच्चकोटिका ब्राण्ड तत्काल नेपाली बजारमा नसुहाउने बताउँछन् ।

हानका उपाध्यक्ष शाह पनि नेपालको विशेषता साहसिक पर्यटन भएकाले लक्जरी होटल तत्कालका लागि आवश्यक नभएको बताउँछन् । शाह भन्छन्, “लक्जरी होटलमा बस्न निजी विमान चढेर जाने पर्यटक हुन्छन्, हाम्रोमा त्यस्ता पर्यटक आउँदैनन् ।” शाहका भनाइमा, पोखराको फूलबारी होटल बजारको अवस्थालाई ध्यानमा नराखी लक्जरी सेवा दिन खोज्दा बन्द भएको हो ।

अवसर छोप्दै
पछिल्ला तीन वर्षमा पर्यटक आगमन वर्षेनि करीब एक चौथाइले बढिरहेको छ । सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणा सहित २० लाख पर्यटन भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

पर्यटन बजारको बढ्दो सम्भावनाबीच भित्रिइरहेका अन्तर्राष्ट्रिय ब्राण्डमध्ये अधिकांश चाहिं व्यवस्थापन करार मार्फत आउन लागेका हुन् । यसको अर्थ, अन्तर्राष्ट्रिय चेन होटलहरूले नेपालमा पूँजी लगानी नगरी होटलको व्यवस्थापन सम्हाल्ने छन्, जसबापत उनीहरू होटलले गर्ने व्यवसाय वा नाफाको निश्चित प्रतिशत शुल्क लिन्छन् । सम्झैता अनुसार यस्तो शुल्क खुद नाफाको तीन प्रतिशत हाराहारी हुन्छ ।

तर, ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्डसँग साझेदारी गरेपछि व्यवसाय नभए पनि निश्चित शुल्क तिनुपर्ने हुँदा स्वदेशी लगानीकर्तामाथि दबाब पनि पर्छ ।

अर्कोतर्फ ब्राण्ड नाम प्रयोग गर्न दिएबापत शुल्क लिने ‘फ्रेन्चाइजी’ मोडलमा पनि केही अन्तर्राष्ट्रिय ब्राण्डका होटल संचालनमा आउँदैछन् । होटल व्यवस्थापनका अनुभवी यज्ञप्रसाद पाण्डे नेपालमा होटल व्यवस्थापनका लागि पर्याप्त दक्ष जनशक्ति नभएकाले विदेशी व्यवस्थापन ल्याउनुपरेको बताउँछन् । “जति कुरा गरे पनि होटल व्यवस्थापनमा सक्षम जनशक्ति र अनुभव नभएकाले नै अन्तर्राष्ट्रिय ब्राण्ड भिœयाउनु परेको हो” पाण्डे भन्छन्, “त्यसमाथि, प्रसिद्ध ब्राण्ड जोडिंदा पाइने एक्सपोजर छँदैछ ।”

अब नेपालमै होटल व्यवस्थापन सम्हाल्ने कम्पनीको स्थापना र अभ्यास पनि शुरू हुन थालेको छ । जस्तो कि, पाण्डे उपाध्यक्ष रहेको द पिक हस्पिटालिटी ले भैरहवाको चारतारे होटल वोधी रेडसन र काठमाडौं एअरपोर्ट होटलको व्यवस्थापन हाँकिरहेको छ । नेपालभित्रकै कम्पनीले होटलको व्यवस्थापन सम्हालेको यो पहिलो अवसर हो ।

द पिक हस्पिटालिटी ले भारतको बनारसमा पनि केही होटलहरूमा व्यवस्थापन सम्हाल्ने तयारी गरिरहेको पाण्डे बताउँछन् । व्यवसायीद्वय प्रभाकर राणा र रविभक्त श्रेष्ठको संयुक्त लगानी रहेको कम्पनी, शिवक्रिम ले पनि विभिन्न तारे होटल व्यवस्थापन करार (म्यानेजमेन्ट कन्ट्र्याक्ट) गरेर संचालनको तयारीमा छ ।

बजेट होटललाई गुणस्तरीय मापदण्डमा ल्याएको भारतीय ओयो ब्राण्डले पनि नेपालका होटलहरूमा व्यापक विस्तार गरिसकेको छ । स्थानीय बजेट होटलसँगको साझेदारीमा अहिले देशका करीब एक दर्जन शहरका २०० भन्दा धेरै होटलमा ओयो को उपस्थिति छ । तर, ओयो फ्रेन्चाइजी होटल सञ्जाल मात्र हो ।

द्वन्द्वकालमा नयाँ होटल भित्रिने क्रम ठप्प मात्र भएन, भइरहेका नारायणी, शेर्पा जस्ता होटल बन्द नै भए । यसबीचमा एभरेष्ट, फूलबारी जस्ता होटल पनि बन्द भए । तर, पछिल्ला वर्षहरूमा होटल निर्माण र संचालनमा यस्तो लहर आएको छ कि, होटल क्षेत्रमा हात हाल्ने योजना नबुनेका ठूला घराना भेट्न मुश्किल छ ।

अन्य व्यवसायमा पकड जमाएका औद्योगिक र व्यावसायिक घरानाहरू समेत होटलमा लगानी गर्न तम्सिएका छन् । यही वर्ष नेपालगञ्जमा होटल सोल्टी वेस्टइण्ड संचालनमा ल्याएका प्रभाकर राणाले काठमाडौंको रविभवनमा लक्जरी होटल सिप्राभ्य निर्माण गर्दैछन् । आईएमई समूहले चन्द्रागिरिमा निर्माण गरेको पाँचतारे होटल पनि संचालनको अन्तिम तयारीमा छ ।

विराटनगरका व्यवसायी मोती दुगडले ह्यारिसन प्यालेस र लुम्बिनीमा व्यवसायी पवनकुमार हलवाईले पाँचतारे पवन होटल बनाउँदै छन् । गोल्यान समूहले हायात कर्पोरेसन, अरुण चौधरीले होलिडे इन ब्राण्डमा होटल बनाउँदैछन् । वैद्य अर्गनाइजेसन र गोल्छा समूह, अजयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री समूह, सूर्य नेपाल प्रालिले पनि होटल निर्माणको घोषणा गरेका छन् ।

होटल व्यवसाय दीर्घकालीन अवसर आकलन गरिने लगानीको क्षेत्र हो । हानका उपाध्यक्ष शाह नेपालको पर्यटन उद्योगले आउँदा वर्षहरूमा फड्को मार्ने विश्वास गरेरै होटलमा लगानी भइरहेको बताउँछन् ।होटल एशोसिएसन अफ नेपालका अनुसार अहिले देशभरका होटलमा रु.१० खर्ब हाराहारी लगानी भइसकेको आकलन छ । साभार : रमेशकुमार/ हिमालखबर


Facebook Comment


No ads found for this position