डोल्पो महोत्सव २०७६’ हुने

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मानवबस्ती भएको जिल्ला डोल्पाको द्यो मा ‘डोल्पो महोत्सव २०७६’ हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको सयुक्त आयोजनमा आगामी भदौ २४ देखि २८ सम्म महोत्सव गर्न लागिएको हो । महोत्सव आयोजक समितिले मगलबार काठमाण्डौ पत्रकार सम्मेलन गरेर महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।
महोत्सव समितिका अध्यक्ष ग्याल्पो थापा भोटेले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा त्यसलाई टेवा र्पुयाउने उद्देश्यका साथ नेपाल सरकारद्वारा घोषित ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानको साझेदार बन्न डोल्पो महोत्सव आयोजना गर्न लागिएको हो।’
डोल्पाको डोल्पा क्षेत्रमा कुनै पनि माध्यमिक स्तरको विद्यालय छैन्। २०५१ सालमा ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ सुरु भएको क्रिस्टल माउन्टेन आधारभूत विद्यालय स्थापना दिवसको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको हो।
डोल्पा प्रशस्त मात्रामा पर्यटकीय सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो। ‘पर्यटकीय दृष्टिका हिसाबले प्रचुर सम्भावना हुँदाहँुदै पनि भौगोलिक विकटता,आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार कमिका कारण आशातित पर्यटकीय गन्तव्य बन्न सकेको छैन। यसबारे प्रदेश तथा केन्द्र सरकारको ध्यान जान जरुरी छ’, भोटेले भने।
महोत्सवले डोल्पो क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाई, सञ्चार, यातायात, वातावरण तथा संस्कृतिमा डोल्पाबासीले सामना गर्नुपरेका चुनौतिबारे केन्द्र र प्रदेश सरकार दुवैको ध्यानाकर्षण गरि जिल्लाको डोल्पो क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाई समुदायको सामाजिक र आर्थिक पक्षमा सुधार गर्न महोत्सव आयोजना गर्न लागेको आयोजक समितिका सल्लाहकार हंसबहादुर शाहीले बताए।
महोत्सवमा डोल्पामा रहेका खस तथा मष्टो संस्कृति, तराली, डोल्पो संस्कृति, विभिन्न किसिमका प्रथा परम्पराको प्रदर्शनका साथै डोल्पो जनजीवनसँग साक्षात्कार गराउने उद्देश्य समितिले लिएको छ।
महोत्सवमा उच्च ओहदाका लामाबाट अध्यात्म र वातावरणसम्बन्धी प्रवचन, गोन्पाबाट मुखौटा नृत्य, डोल्पो क्षेत्रबारे बनाइएका विभिन्न वृत्तचित्रको प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविर, विभिन्न कलाकृतिको प्रस्तुति, भ्रमण तथा पैदल यात्रा विहार अवलोकन, अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र डोल्पो क्षेत्रको विकासबारे योजना बनाउने तथा छलफल गरिने आयोजक समितिले जनाएको छ।