पर्यटक आगमन बढ्दै तर खर्च भने घट्दै

नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गर्ने गरेकोमा त्यो रकम घटेर सन् २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ । २०१८ मा पर्यटक भने हालसम्मकै बढी अर्थात १२ लाखले नेपाल भ्रमण गरेका थिए ।

भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटे पनि विगत १० वर्षमा पर्यटक आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । पर्यटकको दैनिक खर्च घट्नुमा भने उनीहरुका लागि खर्च गर्ने उपयुक्त पूर्वाधारको विकास गर्न नसक्नु नै मुख्य कारण भएको सरोकारवालाहरूको भनाइ छ । नेपालमा मुख्य पर्यटकीय क्षेत्र नै सम्साँझै बन्द हुने र असुरक्षाको कारण देखाउँदै प्रहरीले रेष्टुरेन्टहरु बन्द गराउँदै हिँड्दा पर्यटकहरु होटलको कोठामै खुम्चेर बस्न बाध्य छन् ।

सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने गरेका थिए भने उनीहरुले दैनिक ५३ अमेरिकी डलर औषतमा खर्च गर्ने गरेका थिए । तर, सन् २०१७ मा आइपुग्दा पर्यटकको बसाइ अवधि घटेर १२.६ दिनमा सीमित भयो भने दैनिक खर्च पनि ५४ अमेरिकी डलरमा गरेको तथ्यांक छ । जुन तथ्यांक सन् २००७ को भन्दा ८ अमेरिकी डलरले बढी हो ।

सन् २००७ मा १२ दिन बस्ने पर्यटकले गर्ने दैनिक ४५ डलरका दरले खर्च गर्ने गरेका थिए भने सन् २०१८मा ४४ अमेरिकी डलर दैनिक खर्च गर्न गरेको पाइयो । औसतमा भने १२.४ दिनमात्र पर्यटक नेपाल बसेको तथ्यांक छ । पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी भने बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख र सन् २०१८मा ७० करोड ३१ लाख अमेरीकी डलर राज्यले आम्दानी गरेको छ ।

पर्यटकले गर्ने खर्च कम हुनु चिन्ताजनक भए पनि पर्यटक आगमनमा वृद्धि हुनु पनि सकारात्मक रहेको पर्यटनविद् प्रचण्डमान श्रेष्ठ बताउँछन् । “होटल र टुर–ट्राभलहरु पर्यटकलाई भित्र्याउन सबल देखिन्छन् तर पर्यटक आइसकेपछि आन्तरिक व्यापारिक गतिविधि, मनारञ्जन तथा नयाँ गन्तव्यको विकास गर्न भने त्यति चिन्तित छैनन्,” श्रेष्ठले भने, “मध्यमखालको होटलले मध्यमखालकै पर्यटक खोज्ने परिपाटी र मध्यम आय भएका पर्यटकको रोजाइमा नेपाल पर्नु पनि पर्यटकको खर्च घट्नुको मुख्य कारण होे ।” होटलको संख्यामा वृद्धि र प्रतिस्पर्धा बढेसँगै व्यवसायीले सेवा शुल्क घटाउँदा पनि पर्यटकको खर्चमा कमी आएको श्रेष्ठको भनाइ छ ।

ट्रेकिङ रुटहरूमा सडक निर्माण हुनु, होमस्टेहरूको विकास हुनुजस्ता कारणले पर्यटकबाट प्राप्त हुने आम्दानी घटेको हो । नेपालमा भ्रमणका लागि असीमित स्थान भए पनि पूर्वाधार भने सीमित रहेकाले पनि खर्च गर्ने पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिएको छैन ।

यस्तै, सस्तो प्याकेजमा पर्यटक भित्र्याउने होडबाजीलेसमेत अस्वस्थ प्रतिस्पर्धा बढदै गएको छ । विश्वव्यापी प्रचलनअनुसार १५ जनाको समूह आउँदा १ जनालाई हवाई टिकटदेखि होटलमा समेत सहुलियत दिने प्रचलन छ । यसरी प्याकेजमा समूह आउँदा सेवा शुल्कमा धेरै तलमाथि हुने भएकाले समेत उनीहरुको खर्चमा कमी आउने जानकारहरूको भनाइ छ ।दिपेन्द्र थापा/काराेबार


Facebook Comment


No ads found for this position