जाने हाेइन त परशुराम धाम, यस्ताे छ धामकाे महत्व (फाेटाे फिचर)

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित महाकाली नदी किनारको रंगुन र पन्तोरा नदी किनारमा अवस्थित छ– परशुराम धाम ।डडेल्धुरा सदरमुकामदेखि १०० किलोमिटर दूरीमा रहेको यो धाम छिमेकी कञ्चनपुर जिल्लाको दैजी सडकखण्डबाट भने दुई घण्टा (३९ किलोमिटर) यात्रामै पुग्न सकिन्छ ।

त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैहयवंशी क्षेत्रीहरूको २१ पटकसम्म संहारपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख छ । यसका अतिरिक्त सतीदेवीको पूर्ण अंग पतन भइसकेपछि भगवान शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञ सहित द्वार समेत निर्माण गरेको जनविश्वास पनि छ ।

धार्मिक महत्वका दृष्टिले यतिविधि धनी परशुराम धाम भौतिक पूर्वाधारमा भने गरीब नै छ । तर पनि श्रद्धालुहरूको आकर्षक गन्तव्य भने बनिरहेकै छ । खासगरी माघेसंक्रान्तिको वेला यहाँ ठूलो मेला लाग्छ । यो वेला डडेल्धुरा, डोटी लगायतका २२ द्यौरा (देवता) लाई स्नान गराउन यहाँ ल्याउने चलन पनि छ ।

करीब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपलको रुख समेत देख्न पाइन्छ । साथै, परशुराम स्नानघाट र भागेश्वर घाट पनि छन् ।

जनमानसमा भगवानको पुण्यभूमि यो धाम अर्को पुस्तासम्म यस्तै नरहला कि भन्ने डर बुढापाकामा छ । यसको कारण अरु केही नभई महाकाली नदीको कटान हो । यसतर्फ जति छिटोे सरकारको ध्यान जान्छ, खतरा उति नै चाँडो टर्छ ।

परशुरामको मूर्ति ।

परशुराम धाम मन्दिर परिसर ।

युधिष्ठिरले बनाएको भनिएको धर्मद्वार । यो द्वार पार गर्ने मानिस धार्मिक हुने विश्वास छ ।

परशुराम धाममा रहेको शिव मूर्ति ।


Facebook Comment


No ads found for this position