आठ महिनामा साढे ७ लाख पर्यटक भ्रमण गरे

सन् २०१९ को आठ महिनामा करिब साढे ७ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागलाई उद्ध‍ृत गर्दै नेपाल पर्यटन बोर्डले बिहीबार जनाएअनुसार जनवरीदेखि अगस्टसम्ममा विभिन्‍न देशबाट आएका ७ लाख ४२ हजार ६ सय पर्यटकले नेपाल भ्रमण गरेका हुन्। यो संख्या हवाई र स्थल दुवै मार्गबाट गणना गरिएको हो।

यो संख्या २०१८ को आठ महिनाको दाँजोमा नौ प्रतिशतको सामान्य सुधार हो। त्यसबेला ६ लाख ८० हजार ९ सय ७४ पर्यटक नेपाल आएका थिए।

गत आठ महिनामा हवाई मार्गबाट ६ लाख १९ हजार ७ सय ५६ तथा स्थल मार्गबाट १ लाख २२ हजार ८ सय ३५ पर्यटक यहाँ आएका थिए।

त्यसैगरी छिमेकी भारतबाट गएको आठ महिनामा १ लाख ४२ हजार २ सय ८६ आएका थिए, जुन गत वर्षको सोही अवधिभन्दा ६.१ प्रतिशतले मात्र बढी हो। त्यसबेला १ लाख ३४ हजार ५२ भारतीयले नेपाल घुेमका थिए।

उत्तरी छिमेकी चीनबाट पनि १ लाख ६ हजार ५० पर्यटक आएका थिए। यो अघिल्लो वर्षको दाँजोमा ९.८ प्रतिशतले धेरै हो। त्यसबेला ९६ हजार ५ सय ५० आएका थिए।

प्रमुख पर्यटन बजार युरोपबाट ३.२ प्रतिशतको झिनो सुधार रेकर्ड गरिएको छ। संख्या १ लाख ३६ हजार १ सय ९८ पुगको छ। अघिल्लो वर्ष १ लाख ३२ हजार ११ थियो।

अर्को प्रमुख बजार अमेरिकाबाट ५.६ प्रतिशतको सुधार रेकर्ड गरिएको छ। संख्या ६९ हजार १ सय १ पुगेको छ। गत वर्ष आठ महिनामा ६५ हजार ४ सय ४४ अमेरिकीले नेपाल भ्रमण गरेका थिए।

‘मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको नेपाल उडान बन्दका कारण आसा गरिएको दरमा पर्यटक आगमन संख्या पुग्न नसकेको हो,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भने।


Facebook Comment


No ads found for this position