भ्रमण वर्ष : चुनौतीका चाङ

२० लाख पर्यटक भित्र्याउने अनि पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने महत्त्वाकांक्षी लक्ष्य बोकेको नेपाल भ्रमण वर्ष– २०२० अभियान उचित तयारीबिनै बुधबार सुरु भइसकेको छ ।सरकारी तयारी कति कमजोर छ भन्ने छनक काठमाडौंको दशरथ रंगशालामा आयोजित शुभारम्भ कार्यक्रममै देखिन्थ्यो । करिब तीन दर्जन मुलुकका पर्यटनमन्त्री निम्त्याइएकामा समारोहमा चार देशका मन्त्री र सात देशबाट अरू अतिथि मात्रै सहभागी भए । निम्ता ढिला दिइएकै कारण केहीदेशबाट पर्यटनमन्त्री आउन सकेका थिएनन् । समारोह स्थल कति अव्यवस्थित थियो भने राष्ट्रपतिदेखि विदेशी अतिथिसमेतको स्वागतमा समन्वय देखिएन । दर्शक अभावमा प्याराफिट खाली थियो, विदेशी अतिथि बोल्दा सहभागीहरू बाहिरिन थालिसकेका थिए । पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच उचित तालमेल चाहिन्छ, जुन शुभारम्भ कार्यक्रममै देखिएन ।

सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएको अनुमान छ । यस हिसाबले थप आठ लाख पर्यटक भित्र्याउनु निकै चुनौतीपूर्ण भए पनि त्यसअनुरूप आवश्यक प्रबन्ध र सुधार भए–गरेको देखिँदैन । सबभन्दा महत्त्वपूर्ण पक्ष त पूर्वाधारमा कुनै ठोस सुधार भएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सामान्य ढंगले सुधार्नेबाहेक यसबीचमा कुनै उल्लेखनीय काम भएको छैन । काठमाडौंसहित मुख्य पर्यटकीय गन्तव्यहरूमै बाटाघाटा राम्रा छैनन् । ट्याक्सीलगायत सार्वजनिक यातायात सेवा व्यवस्थित छैनन् । पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यसबीचमा पूरा हुन सकेनन् ।

एकातिर, लक्षित बजारमा पुग्दो प्रचार–प्रसार नभएको पनि सरोकारवालाको गुनासो छ भने अर्कोतिर, पर्यटकको बसाइ र आम्दानी कति बढाउने भन्ने स्पष्ट योजना सरकारसित देखिँदैन । सन् २०१७ मा एक पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्च गरेकामा २०१८ मा ४४ डलरमा झर्‍यो । पर्यटन व्यवसायीहरूको गुनासो छ, कति विदेशीले त आन्तरिक पर्यटकको जति पनि खर्च गर्दैनन् । त्यसकारण संख्यात्मकमात्रहोइन, नेपाललाई बढी खर्च गर्न सक्ने पर्यटक चाहिएको छ । अनि मात्र पर्यटन व्यवसाय फस्टाउन, यस क्षेत्रमा रोजगारी अवसरहरू बढ्न र देशको अर्थतन्त्रमा पनि योगदान थपिन सक्छ । बढी खर्च गर्न सक्ने पर्यटकको स्रोत बजार पहिल्याएर त्यहीअनुसारका कार्यक्रम अघि बढाउन आवश्यक छ ।

धेरै पर्यटक भित्र्याउन नेपालले दुई पक्षमा जोड दिन आवश्यक छ– एउटा, पर्यटन सेवामा विविधता, अर्को, सबै याममा पर्यटक भित्र्याउने कार्यक्रम । पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटनका लागि मात्र नभएर धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकका लागि पनि नेपाललाई गन्तव्य बनाउन सक्नुपर्छ । व्यवसायीहरूले पर्यटकहरूलाई सिर्जनशील सेवा प्रदान गर्न सक्नुपर्छ, सरकारले यसमा सघाउनुपर्छ । नेपाल हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको तीर्थस्थल पनि भएकाले भारत र बौद्ध धर्मावलम्बी मुलुकहरूबाट पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम ल्याउन आवश्यक छ ।

नेपालमा विशेषगरी चैत–वैशाखमा पर्वतारोही र कात्तिक–मंसिरमा पदयात्री ओइरिन्छन् । तर नेपालको भौगोलिक विविधता सबै मौसमका लागि उचित छ, सरकार र निजी क्षेत्रले त्यहीअनुसारका कार्यक्रमहरू अघि सार्न सक्नुपर्छ । गर्मी याममा तापक्रम धेरै हुने मुलुकका पर्यटकलाई यहाँका हिमाली र पहाडी गन्तव्यहरूमा आकर्षित गर्न सकिन्छ । जाडो मौसममा चितवन र बर्दिया राष्ट्रिय निकुञ्जदेखि लुम्बिनी र जनकपुरजस्ता सम्पदा सहरहरूको प्रवर्द्धन गर्न सकिन्छ ।

पर्यटन नेपालका लागि तुलनात्मक लाभको एउटा क्षेत्र हो । यसलाई अर्थतन्त्रको बलियो आधारकै रूपमा अघि बढाउने भएपछि सरकारले संख्यात्मक र गुणात्मक दुवै हिसाबले पर्यटक बढाउने गरी नीतिगत सुधार गर्न आवश्यक छ । काठमाडौंमा हवाई इन्धनको मूल्य अन्य देशको तुलनामा बढी भएकाले विमान भाडाकै कारण पर्यटकलाई नेपाल यात्रा महँगो परिरहेको छ । यसमा पर्यटनका लागि सरकारले सहुलियत दिने व्यवस्था गर्न सक्छ । राति विमानस्थल प्रयोग गर्ने विमानलाई विशेषछुट दिएर पनि भाडा कम गर्ने उपाय खोज्न सकिन्छ । निजी व्यवसायीहरूले बढी खर्च गर्नेर् मुलुकबाट एकैपटक धेरै पर्यटक सँगै आउँदा निश्चित छुट दिनेजस्ता कार्यक्रम सञ्चालन गर्न सक्छन् । निजी क्षेत्र अन्तर्राष्ट्रिय बजारमा गइरहेको छ, सरकारले उसलाई सघाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

मुलुक संघीयतामा गइसकेपछि सबैजसो प्रदेश र स्थानीय तहहरूले कृषि र पर्यटनको नारा दिएका छन् । नाराले मात्र पर्यटक बढ्दैनन् । उनीहरूसमक्ष सिर्जनशील सेवा प्रस्तुत गर्न सक्नुपर्छ । नेपाललाई ‘ब्रान्डिङ’ गर्न सजिलो छ । प्रकृतिदेखि विविध संस्कृति, चाडपर्व, जात्रालगायत अनेकौं अमूर्त सम्पदा र प्रमुख धार्मिक स्थलहरू पर्यटनका लागि आकर्षणका केन्द्र बन्न सक्छन् । तर गन्तव्य भएर मात्र पुग्दैन, त्यसबारे लक्षित पर्यटकले थाहा पाउनुपर्छ र सहज, सुलभ अनि सुरक्षित भ्रमण गर्ने वातावरण हुनुपर्छ । त्यसैले भ्रमण वर्षलाई लक्ष्यअनुसार सफल तुल्याउन सरकारले आफ्ना निकाय र निजी क्षेत्रसित उचित समन्वय गर्नुपर्छ । र, नेपाल आएका पाहुनाहरूलाई भ्रमणको भरपुर आनन्द लिने वातावरण सिर्जना गर्नुपर्छ ।साभार कान्तिपुर


Facebook Comment