यी हुन् काठमाडौंका नामी अस्पताल जस्ले विदेशी पर्यटकमाथि यसरी लुट्छन्

काठमाडाैंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । 

काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए ।

१. वयोधा अस्पताल

वयोधा अस्पताल : एकै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको बिल, १७ दिनमा १०९ पटक विशेषज्ञको ‘राउन्ड’

बल्खुस्थित वयोधा अस्पतालले सन् २०१५ देखि ०१८ सम्म सात सय विदेशी पर्यटकलाई स्वास्थ्य सेवा दिएको थियो । तर, अध्ययन टोलीको प्रतिवेदनअनुसार सो अस्पतालमा एउटै बिरामीलाई १७ दिनमा विशेषज्ञ डाक्टरले एक सय नौपटक ‘राउन्ड सर्भिस’ दिएको बिल बनाइएको थियो । ‘तर, अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको पाइएको छ,’ प्रतिवेदन भन्छ, ‘एउटै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको भनेर बिल चार्ज गरिएको छ ।’ अस्पतालको चार्जलिस्टमा डिलक्स रुमभन्दा सिसियू महँगो छ । तर, विदेशी पर्यटकसँग सिसियूभन्दा डिलक्स रुमको बढी पैसा उठाइएको छ ।

२. ग्रान्डी अस्पताल

ग्रान्डी अस्पताल : नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि–फेरि

टोखाको ग्रान्डी अस्पतालले त रगतमा पनि पर्यटकबाट दुई हजार चार सय ५३ रुपैयाँ उठाएको छ । ‘नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, त्यस्तै रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि गर्न लगाइयो, बिरामीसँग लिइएको शुल्क तोकिएकोभन्दा बढी लिएको पाइयो,’ प्रतिवेदनले भनेको छ ।

३. नर्भिक अस्पताल

नर्भिक अस्पताल : ‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’जस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा असुल, मन्त्रालयको टोलीले माग्दा पनि मूल्यसूची दिएन

त्यस्तै, थापाथलीस्थित नर्भिक अस्पतालले बिरामीबाट उठाउनुपर्ने भन्दा अन्यथा शीर्षक राखेर पैसा असुलेको छ । ‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’जस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा उठाइएको छ । ‘बिरामीबाट साढे ६ लाखसम्म उठाइएको शीर्षकको मूल्यसूची माग्दा अध्ययन टोलीलाई समेत अस्पतालले उपलब्ध गराउन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

४. स्वाकोन अस्पताल

स्वाकोन अस्पताल :  एमबिबिएस डाक्टरले सेवामा आठ हजार २८० रुपैयाँ चार्ज, अस्पतालमा सिटिस्क्यान, एमआरआई, मोडुलर अपरेसन थिएटरसमेत छैन

पर्यटकको उद्धार गर्ने नाममा ठगी गर्दै आएको भनेर यसअघि नै बदनाम बत्तीसपुतलीस्थित स्वाकोन अस्पतालले कार्यालयमा राखेको र बिरामीलाई दिएको बिल फरक–फरक पाइएको छ । अस्पतालले कन्सल्ट्यान्ट डाक्टरबापत ६ हजार नौ सय र ड्युटीमा रहेका डाक्टरबापत चार हजार चार सय १६ रुपैयाँ चार्ज गरेको अभिलेख छ । ‘तर, बिरामीलाई आठ हजार ६ सय नौ रुपैयाँ चार्ज गरिएको छ, यो सरकारले तोकेभन्दा १० गुणा बढी हो,’ प्रतिवेदनमा उल्लेख छ ।

सो अस्पतालले औषधिको मूल्य पनि बिरामीअनुसार फरक–फरक लिने गरेको पाइएको छ । ‘एउटै औषधिबापत बिरामी संकेत नम्बर ११२७६७ लाई १० हजार र बिरामी संकेत नम्बर ११११०३ लाई १६ हजार १४२ रुपैयाँ लिएको छ,’ प्रतिवेदन भन्छ, ‘अझ बिरामी संकेत नम्बर १११९७४ लाई चार दिन अस्पताल राखिएकोमा ६ दिनको शुल्क चार्ज गरिएको छ ।’

स्वाकोन अस्पतालले एमबिबिएस डाक्टरले सेवा दिएको शीर्षकमा पनि आठ हजार दुई सय ८० रुपैयाँ चार्ज गरेको छ । जब कि सरकारले एमबिबिएस डाक्टरले सेवा दिँदा चार सय, विशेषज्ञ डाक्टरले सेवा दिँदा चार सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञ डाक्टरले सेवा दिँदा चार सय ७५ रुपैयाँ सेवाशुल्क निर्धारण गरेको छ । एमबिबिएस डाक्टरको सेवा नै २० गुणा बढी लिने यो अस्पतालमा सिटिस्क्यान, एमआरआई सेवा मात्र होइन, मोडुलर अपरेसन थिएटरसमेत छैन ।

५. इरा हेल्थ सेन्टर

इरा हेल्थ सेन्टर : एक सय २० रुपैयाँ पर्ने औषधिलाई तीन हजार तीन सय रुपैयाँमा बिक्री, एचआइभीको परीक्षण पनि दिनमा दुईपटकसम्म, तर रिपोर्ट दिइएन

नयाँबजारको इरा हेल्थ सेन्टरले सन् २०१५ देखि २०१८ सम्म एक हजार एक सय ३० विदेशी पर्यटकलाई उपचार दिएको अभिलेख राखेको छ । यो हेल्थ सेन्टरको स्तर हेरेर सरकारले इमर्जेन्सी सेवा मात्र दिनु र थप उपचार आवश्यक परेमा रेफर गर्नु भन्ने निर्देशन दिएको थियो । तर, मन्त्रालयकै प्रतिवेदन भन्छ, ‘यो हेल्थ सेन्टरले तीन दिनसम्म राखेर उपचार गरेको छ, हिमाल चढेपछि सामान्य समस्या लिएर आएका एक बिरामीलाई तीन दिनसम्म राखेर दुई लाख ६८ हजार चार सय ११ रुपैयाँ उठाएको पाइयो ।’ यस्तो सेवा सञ्चालन गर्ने अनुमति सो हेल्थ सेन्टरले पाएको छैन ।

तर, बिरामीलाई एउटै मितिमा इमर्जेन्सी बेडमा पनि राखेको र भर्ना पनि गरेको भनेर दोहोरो बिल बनाएको भेटिएको छ । सो सेन्टरले डाक्टर प्रकाश पौडेललाई पल्मोनोलोजिस्ट भनी उनको नाममा चर्को शुल्क असुलेको छ । ‘तर, नेपाल मेडिकल काउन्सिलको अभिलेखमा यस्तो विशेषज्ञका रूपमा डा. प्रकाश पौडेलको नाम नै छैन । सो हेल्थ सेन्टरले एक सय २० रुपैयाँ पर्ने औषधिलाई तीन हजार तीन सय रुपैयाँमा बिक्री गरेको भेटिएको छ । अझ, एचआइभीको परीक्षण पनि दिनमा दुईपटकसम्म गरेको देखिएको छ । तर, पटक–पटक गरिएका जाँचको रिपोर्ट भने बिरामीलाई दिएको देखिएन,’ रिपोर्ट भन्छ ।

६. सिवेक अस्पताल

सिवेक अस्पताल : सामान्य उपचारमै एक लाख ६९ हजार लिएकोे अभिलेख । अझ, बिरामीबाट तीन हजार ६ सय अमेरिकी डलर (करिब चार लाख रुपैयाँ) असुली

लैनचौरस्थित सिवेक अस्पतालले एक हजार सात सय ७३ जना बिरामीको उद्धार गरी १४ करोड २३ लाख ९१ हजार चार सय ४७ रुपैयाँ भुक्तानी लिएको छ । जब कि अस्पतालले तीन आइसियूसहित १५ शय्या मात्र सञ्चालन स्वीकृति पाएको छ ।

८ माघ ०७५ मा पानीको मात्रा कम भई अस्पताल ल्याइएका एक बिरामीको सामान्य उपचारमै एक लाख ६९ हजार नौ सय ९६ रुपैयाँ भुक्तानी लिएको अस्पतालको अभिलेख छ । तर, सो मितिमा भर्ना गरिएका बिरामी क्रेइग फोसडिकबाट भने तीन हजार ६ सय २० अमेरिकी डलर ( करिब चार लाख रुपैयाँ) उठाइएको छ ।

अस्पतालले एउटै बिरामीबाट उपचार गर्दा चिकित्सक परामर्श तथा उपचार सेवा, निदानात्मक सेवा, औषधि तथा उपभोग्य वस्तुहरू र हेरचाह एवं सहयोगलाई अत्यधिक धेरै शीर्षक एवं उपशीर्षकमा विभाजन गरी शुल्क लिने गरेकोसमेत फेला परेको छ । ‘एउटै शीर्षकमा एकमुष्ट सेवाशुल्क लिँदा ठूलो रकम देखिने हुँदा यसरी सेवा तथा शुल्कहरूलाई विभिन्न शीर्षक– उपशीर्षकमा विभाजन गरी शुल्क लिएको पाइएको छ,’ प्रतिवेदन भन्छ, ‘बिरामीलाई आवश्यक नै नपर्ने विभिन्न प्रकारका जाँच गराउने तथा एकै प्रकारका परीक्षण पटक–पटक गराएको अध्ययनका क्रममा देखिएको छ ।’ साभार : नयाँपत्रीका


Facebook Comment


No ads found for this position