अन्नपूर्ण र दामन घटना : पर्यटक सुरक्षामा कहिलेसम्म लापरवाही ?

काठमाडौं, ०८ माघ । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको भ्रमण वर्षको पहिलो महिनामै भएका मुख्य दुई घटनाले हाम्रो व्यवस्थापकीय ‘अक्षमता’ बाहिर ल्याएको छ । जसले समग्र भ्रमण वर्षको लक्ष्य नै प्रभावित गर्न सक्छ । दुर्घटनालाई ‘भबितब्य’का रुपमा मात्रै बुझ्नुभन्दा त्यसका कारण र समाधानका उपाय खोज्न ढिला गर्नु हुँदैन् ।

पछिल्लो एक सातामा पर्यटनसँग सम्बन्धित क्षेत्रमा २ वटा दुर्घटना भयो । पहिलो– अन्नपूर्ण आधार शिविरको पदमार्गमा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ विदेशी पर्यटक बेपत्ता । र, दोस्रो : मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टका बास बसेको ८ भारतीय पर्यटकको निधन । अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका पर्यटक ज्यूँदो भेटिने संभावना न्यून रहँदा त्यसलाई ‘भबितब्य’ मानेपनि दामनको घटना भने लापरबाहीको कारण हो । जसले केही स्वभाविक प्रश्न उठाएको छ ।

– महंगो मानिने एभरेष्ट पानोरोमा रिपोर्टमा ‘एसी’को सुविधा थिएन कि ग्राहक ‘एसी’सहितको कोठामा बस्ने हैसियतमा थिएनन् ?
– एउटै कोठामा ८/८ जना राख्नुमा ग्राहकको बाध्यता कारण हो कि रिसोर्ट सञ्चालकको

आएकालाई फर्काउन नचाहाने प्रबृत्ति ?

दामन घटनाको विस्तृत छानबिन नभएसम्म यि मुख्य दुई प्रश्नको जवाफ आउँदैन । बन्द कोठामा त्यति धेरै जना सुतेका ठाउँमा ग्यास हिटर बाल्न दिनु नै जोखिमपूर्ण हो । त्यसमा रिसोर्ट व्यवस्थापनको प्रत्यक्ष गल्ती नहोला । तर, पूर्वसावधानी अपनाउन चनाखो हुनुपर्ने कर्तव्यमा उ चुकेको देखियो । यो घटनाले सीमित स्रोत–साधनमा अधिक ग्राहक थुपारेर पैसा कमाउने होटल÷रिसोर्ट सञ्चालकको प्रबृत्तिमा पनि संकेत गर्छ ।

दामन घटनाले सबै होटल/रिसोर्टको व्यवस्थापन, तिनका पूर्वाधार र सेवा–सुविधाबारे तत्काल अनुगमनको माग पनि गरेको छ । स्थानीय सरकारले आफ्नो क्षेत्रका होटल÷रिसोर्टको अनुगमन गरेर बर्गीकरणसहित सेवा–सुविधाको सुनिश्चि गर्न मात्रै सक्दा पनि यस्ता घटना न्यूनिकरण हुन्छन् ।

योसँगै व्यवस्थापकलाई पर्यटकको स्वास्थ्य र सुविधा दुवैको हेरचाहमा ध्यान दिन सिकाउने र प्रेरित गर्ने अभियान पनि जरुरी देखिएको छ । अन्नपूर्ण आधार शिविर र दामनको घटनाले पर्यटकको सुरक्षामा थप सचेत हुनैपर्ने परिस्थिति ल्याएको पर्यटन बोर्ड पनि स्वीकार्छ ।

नेपाल भ्रमण वर्ष २०२० को थालनीमै भएका यि दुई घटनाले अन्तर्राष्ट्रिय स्तरमा पार्ने असरबारे पर्यटनसँग सम्बन्धित सरकारी, गैह–सरकारी र निजी क्षेत्र बेलैमा सचेत हुन जरुरी छ । दुर्घटनाको कारण बेलैमा नखोज्ने हो भने यस्ता घटना दोहोरिन सक्छन् । जसको असर भ्रमण वर्षको मूल लक्ष्यमै पर्ने छ ।साभरा न्युज24


Facebook Comment


No ads found for this position