त्रिभुवन विमानस्थलमा कोरोनाको लक्षण जाँच्ने थर्मल स्क्यानर बिग्रियो, चीनलाई नेपालले सहयोग गर्‍यो एक लाख मास्क

प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ । कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो । 

एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेले बताए । ‘थर्मल स्क्यानरले उच्च ज्वरोलगायत कोरोना भाइरसको सम्भावित लक्षण देखिने व्यक्तिलाई रातो घेरामा संकेत गरेर सम्भावित जोखिमबाट बचाउँछ । तर, हाम्रोमा एउटा थर्मल स्क्यानर बिग्रिएको पाँच दिन भइसक्यो, अहिले एउटाले मात्रै यात्रुको स्वास्थ्य जाँच गरेका छौँ,’ हेल्थ डेस्क इन्चार्ज पाण्डेले भने । 

दैनिक विदेशबाट सात हजारको संख्यामा यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिन्छन् । अधिकांश यात्रु कुनै पनि स्वास्थ्य जाँच नगरी विमानस्थलबाट छिर्ने गरेको हेल्थ डेस्कका एक चिकित्सकले बताए । ‘अधिकांश यात्रुको कुनै पनि स्वास्थ्य जाँच हुँदैन । एउटा स्क्यानरले यात्रुको चाप थेग्न सक्दैन,’ ती चिकित्सकले भने, ‘बिग्रिएको पाँच दिनसम्म पनि सरकारले अर्को व्यवस्था गरेको छैन ।’ 

०७० मा अफ्रिकी मुलुकमा इबोला फैलिएपछि सरकारले नेपालमा जोखिम न्यूनीकरणका लागि थर्मल स्क्यानर किनेर विमानस्थलमा राखेको थियो । दुई स्क्यानर एक करोडमा खरिद गरेको थियो । तिनै स्क्यानर अहिले प्रयोगमा ल्याइएको हो । 

चीनलाई नेपालले सहयोग गर्‍यो एक लाख मास्क 
कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अभाव भएको चीनमा नेपालले एक लाख थान दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेका हुन् । सरकारले चीनलाई एक लाख थान मास्क सहयोग गर्ने निर्णय बिहीबार गरेको थियो । 

विश्वमा आपत्काल घोषित कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्दै नेपालले छिमेकी मुलुकलाई मास्क सहयोग गरेको हो । यसअघि नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले तिब्बतमा १२ हजार थान मास्क पठाएको थियो । नेपालको सहयोग ग्रहण गर्दै राजदूत यान्छीले भाइरसविरुद्धको लडाइँमा नेपालले चीनलाई देखाएको साथको प्रशंसा गरिन् । संकटको सबैले मिलेर सामना गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमणबाट चीनमा ६ सय ४० को मृत्यु भइसकेको छ । ३२ हजारभन्दजा बढी संक्रमित छन् । 


Facebook Comment


No ads found for this position