बन्दीपुरमा रात्रिकालीन पर्यटक बढे

तनहुँको बन्दीपुर गण्डकी प्रदेशको प्रख्यात हिलस्टेसन र पर्यटकीय गन्तव्य हो । करिब अढाई सय वर्षअघि बसेको यो बजार कुनै समयमा तनहुँको सदरमुकाम पनि थियो । स्वदेशी, विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ, यसले । पछिल्लो समयमा रात्रिकालीन पर्यटक पनि बढेका छन्, बन्दीपुरमा । रात्रि पर्यटन बढ्दै जाँदा बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मेटालिक पोल र बत्ती जडान गरेको छ । 

यो बजार भक्तपुरका नेवार समुदायले बसाएको मानिन्छ । नेपाल र तिब्बतबीच हुने व्यापारको ट्रान्जिट बिन्दुका रूपमा यसले लामो परिचय पायो । व्यापारिक पहिचानबाट बाहिर निस्केर बन्दीपुरले सांस्कृतिक र पुरातात्विक महत्वको हिल स्टेसनका रूपमा आफूलाई स्थापित ग-यो । 

पछिल्लो समयमा रात्रिकालीन पर्यटक पनि बढेका छन्, बन्दीपुरमा । रात्रि पर्यटन बढ्दै जाँदा बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मेटालिक पोल र बत्ती जडान गरेको छ । 

त्यही पहिचान कायम राख्न यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । उनका अनुसार हरेक मेटालिक पोल र बत्तीका लागि एक लाख पाँच हजार रुपैयाँ लगानी भएको छ । हरेक पोलमा तीनवटा बत्ती जडान गरिएको छ । ‘यस वर्ष अघिल्ला वर्षभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य छ,’ उनी भन्छन् ।

जाडोयाममा खासै चिसो नहुने र गर्मीमा पनि धेरै गर्मी नहुने भएकाले बन्दीपुर आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय छ । पर्यटक आगमनमा बढोत्तरीसँगै यहाँ सुविधासम्पन्न होटेलहरू धमाधम निर्माण भइरहेका छन् । ‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बन्दीपुर बजारलाई झकिझकाउ बनाइएको हो,’ बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङ भन्छन्, ‘बजार झिलिमिली भएकाले यहाँ आइपुगेका पर्यटक राति पनि मस्तीको मुडमा देखिन्छन्, रात्रिकालीन व्यापार÷व्यवसाय पनि फस्टाएको छ ।’

बन्दीपुरमा आन्तरिकबाहेक भारतीय, चिनियाँ, अमेरिकी, कोरियाली, जापानी, पर्यटक बढी आइपुग्छन् । गण्डकी प्रदेशमा पोखरापछि बढी पर्यटक आउने गन्तव्य पनि हो, यो । जुगल, लाङटाङ, गणेश, मनास्लु, हिउँचुली, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमालको दृश्यावलोकन गर्न पाइन्छ, यहाँबाट । 

तल्लो फाँटमा मस्र्याङ्दी नदीले बनाएको उपत्यका देख्न सकिन्छ । त्यसैले बन्दीपुरलाई प्राकृतिक भ्यु-टावर पनि भन्ने गरिएको छ । भक्तपुरको शैलीमा बनाइएका घर, मठमन्दिर र ढुंगाको स्लेट बिछ्याएका सडकले पर्यटकलाई लोभ्याउँछन् । गाउँले परिवेशमा रमाउन चाहनेहरूका लागि पछिल्लो समय होमस्टे पनि सञ्चालनमा आएका छन् । हाइकिङ र प्याराग्लाइडिङका लागि पनि बन्दीपुर लोकप्रिय गन्तव्य बन्दै गएको छ ।


Facebook Comment


No ads found for this position