कहाँ हरायो कीर्तिपुरको त्याे दरबार ?

शिल्पा कर्ण

नेपाल भाषामा लायकुको अर्थ हुन्छ, दरबार । पहिले काठमाडौं उपत्यकाभित्र मुख्यगरी तीन वटा दरबार थिए । वसन्तपुर, भक्तपुर र पाटन । 

अर्को उपराज्य पनि थियो, कीर्तिपुर। अन्तिम समयसम्म यो पाटनको उपराज्यको रूपमा रहेको अभिलेख पाइन्छ । यहीँको एउटा टोल हो, लायकु । छेवैमा छ ‘लायकु केब’ । जसको अर्थ हो, दरबारको बगैंचा वा बारी । उपत्यकाका राजदरबारको विशेषता भनेको जहाँ दरबार हुन्छ त्यहाँ कुलदेवी तलेजु भवानीको मन्दिर र कोतघर पनि हुन्छन् । त्यहाँ पनि यी दुई छन् । छैन त केवल दरबार । 

वरैको उमामहेश्वर मन्दिर पछाडि छ, कोतघर । अहिले वडा नम्बर १ रहेको स्थानमा चाहिँ तलेजु भवानीको मन्दिर । मूर्ति त छैन, तर मन्दिरका अंश छन् । ‘अब कीर्तिपुरको लायकुको अस्तित्व टोलको नाममा मात्र छ । भौतिक संरचनाको अवशेष नभेटिने गरी मेटिएको छ,’ स्थानीय तथा नेवार संस्कृति अध्येता प्रयागमान प्रधानले भने, ‘कीर्तिपुरले गोर्खाली फौजलाई दुइपल्ट हराएको थियो । तर कसको नेतृत्व थियो, को–को लडेका थिए कुनै पनि कुरा नेपालको इतिहासमा पढ्न पाइन्न ।’

झन्डै ७० पुगेका प्रधान त्यही टोलमा हुर्किए । बाल्यकालमा त्यो ठाउँ खेतजस्तो थियो । शौचालयका रूपमा प्रयोग हुन्थ्यो । २–३ फुसका घर मात्र थिए । अहिले लायकु केब त्यो स्वरूपमा छैन, केवल त्यहाँ बाल्यकाल बिताउनेको मष्तिष्कमा धुमिल भएर बसेको छ । 

उनले यो विषयमा उपलब्ध अभिलेख संकलन गरे । उनको भनाइमा लायकुको भौतिक अस्तित्व श्रीनिवास मल्लको पालासम्म थियो । ‘नेपाल सम्वत् ८ सयको अन्तिमसम्म लायकुको अस्तित्व थियो,’ उनले भने । 

दरबार नष्ट भएपछि पनि टोलको नाम त्यही रह्यो र केही संस्कृतिले पनि निरन्तरता पाइरहे । जस्तो, सातगाउँले जात्रामा अझै पनि लायकु टोलमा ‘लाखेपा’ हुन्छ । दरबार नभए पनि ढोके हुन्छ ।  

शिवदेवको पालादेखि कीर्तिपुर प्रशासनिक केन्द्रका रूपमा रहेको उनको भनाइ छ । समयक्रमसँगै यहाँ राजा कहिले बस्ने÷नबस्ने भएकाले यहाँको दरबारको नेपाली इतिहासमा चर्चा भएन । 

शुक्रसागर श्रेष्ठको कीर्तिपुरको सांस्कृतिक इतिहाससम्बन्धी पुस्तकमा श्रीनिवास मल्ल ७२ दिनसम्म कीर्तिपुरकै लायकुमा बसेको इतिहासमा पाइन्छ । कीर्तिपुरकै लागि छुट्टै राजा नभए पनि लायकु पाटनका राजाहरू बस्ने दरबारका रूपमा थियो भन्छन् त्रिभुवन विश्वविद्यालय नेपाल भाषा विभागका प्राध्यापक बज्रमुनी बज्राचार्य । 

‘पःमाँ’ अर्थात् परमान पछि गएर प्रधान बन्न गयो । प्रशासनिक कामकाज हेर्ने यी थरका मान्छे नै लायकु वरपर बस्छन् । त्यसले पनि दरबार रहेको प्रमाण दिन्छ । अहिले कीर्तिपुरको कोतघर प्रधानहरूकै मातहतमा छ । वर्षमा एकदिन हतियार पुज्ने वा प्रदर्शन गर्ने संस्कृति हरेक स्थानमा हुन्छ । यहाँ पनि छ । तर घरको झ्यालढोका थुनेर । 

कोतघरका मुख्य मान्छे ‘थकाली’ र उनको सहयोगी ‘नोकु’ मिलेर हतियारको पुजा गर्छन् । दुई वर्ष अघिसम्म गोरखाबाट मगर र गोरखनाथ सम्प्रदायका पुजारी आएर दसैंको घटस्थापनामा जमरा राख्ने र अन्य अवसरमा पूजा गर्ने गर्थे । 

तर स्थानीयले राजतन्त्र गइसके पनि राजपरम्परालाई निरन्तरता दिएको भन्दै विरोध गरेपछि हाललाई रोकिएको छ । नत्र विशेष पर्व र अवसरहरूमा गोरखा र नुवाकोटबाट आएका पुजारीले पूजा लाउने गर्थे । 

यस्तो थियो लायकु

कीर्तिपुरको दरबार कस्तो थियो भन्नेबारे नेपालको इतिहासमा कहिँकतै उल्लेख भएको पाइँदैन । उपत्यकाका मुख्य तीन दरबार अहिलेसम्म यथावत् रहे पनि अन्य ठूला संरचना हराएका पनि छन् । जस्तो कैलाशकुट भवन । 

तर प्रधान, लायकुलाई नेपालको इतिहासमा कतै चर्चा नभएको दरबार भनी अथ्र्याउँछन् । उनको अध्ययनले भन्छ, कीर्तिपुरको बस्ती बाहिरको घेरा (गढपर्खाल) जस्तै लायकुलाई पनि चारैतिरबाट पर्खालले घेरिएको थियो ।

‘तर पृथ्वीनारायणका सेनाले आक्रमण गरेपछि घर–घरमा आगो लगाउने काम गरे,’ उनी भन्छन्, ‘त्यसै क्रममा एउटा कोतघरको पनि माथिल्लो तला जलाइएको प्रमाण छ । दरबारलाई पनि त्यसैवेला नष्ट गरिएको हुनुपर्छ ।’ 

अहिले कोतघर वरपरका काजीहरूको कलात्मक घरको आधारमा उनी कल्पना गर्छन्, ‘लायकु झन् कति राम्रो थियो होला ?’ यसको एउटा ‘स्केच’ बेलायती अध्येताले तयार पारेका छन् । दुई सय ६० वर्षभन्दा अघिको युद्धको झण्डै २५ वर्षपछि नेपाल आएका बेलायती अध्येता ओल्डफिल्डले आफ्नो पुस्तकमा कीर्तिपुरको लायकुको तस्बिर कोरेका छन् । केको आधारमा त्यो कोरियो लगायत जानकारी जुटाउनुपर्ने र यस विषयमा थप अध्ययन हुनुपर्ने स्थानीय वीरेन्द्र शाक्य बताउँछन् ।

उनी भन्छन्, ‘एक जना जर्मन लेखकले पनि यो विषयमा लेखेका छन् भन्ने सुनेका छौं । तर त्यो जर्मन भाषामा भएकाले केही बुझ्न सक्ने अवस्था छैन ।’ आफ्नै ठाउँको इतिहास खोज्न स्थानीय तहले पनि रुचि लिनुपर्ने उनको भनाइ छ । 

नष्ट भएपछिको अवस्था

दरबार ध्वस्त भएपछि तरकारी उब्जाउन त्यो ठाउँ प्रयोग गर्न थालियो र त्यसैले त्यो स्थान ‘केब’ बन्यो । अर्थात् ‘राजफूलबारी’ वा राजाको करेसाबारी । सन् १९९५ तिरको एक बिन्तिपत्र प्रधानले फेला पारेका छन् । जसमा जग्गा ‘खान्कि’ लिनेले भग्नावशेषका रूपमा रहेको लायकुको इँटा, ढुंगा बेचेर खाएको व्यक्तिबारे उल्लेख छ । 

कठिन मानिएको राज्यमाथि विजय प्राप्त गरेपछि बदला लिन दरबार त नष्ट गरियो नै, त्यो जग्गा पनि राजा निकटलाई भोगचलन गर्न दिइयो । लायकुको जग्गा व्यक्तिगत बनाइयो । प्रधानको भनाइ मान्ने हो भने समयसँगै त्यो फेरि स्थानीय नेवारलाई नै हस्तान्तरण हुँदै अहिलेको बस्ती बनेको हो । 

कसरी बन्यो ‘लायकु’ शब्द ?

नेपाल भाषाको शब्द लायकु भए पनि यसको मूल संस्कृतसँग जोडिएको छ भन्छन् प्रधान । संस्कृतमा भनिने, ‘राजकुल’ नै समयसँगै नेवारले भन्ने लायकु बनेको उनको तर्क छ । 
राजधानीको प्राचीन सहरमा ‘लाछी’ भए पनि टोलकै नाम लायकु भने हुन्न । ‘गोपाल वंशावलीमा शिवदेवले दरबारको रूपरेखा वर्णण गरेका छन् । तर त्यो दरबार कहाँको थियो, कसले बनाउन लगायो जस्ता जानकारी छैनन्,’ प्रधान भन्छन् । 

उनको दाबी छ, ‘उपत्यकाको पहिलो बस्ती खोकनातिर नभई कीर्तिपुर थियो । खोकना चोभार बाहिरको बस्ती हो । तर कीर्तिपुर काठमाडौं दहकै उच्च स्थानको बस्ती हो,’ प्रधान तर्क गर्छन् । 

यहाँको इतिहास गोरखाली सेनाको आक्रमण र कब्जापछि मेटाइएकोले कीर्तिपुरबारे जानकारी जुटाउन पर्याप्त अभिलेख नपाइने उनको भनाइ छ । ‘कोतघर र तलेजु भवानी भएको ठाउँमा दरबार र जुजु (राजा) नहुने कुरै हुन्न,’ उनले भने । तर को राजा थिए, कहाँका थिए भन्ने प्रमाण पाउन मुस्किल छ । 

स्थानीय सरकार अनभिज्ञ 

दरबारको अस्तित्वबारे कीर्तिपुर नगरपालिका जानकार भए पनि त्यससँग जोडिएको संस्कृति र अहिलेको अवस्थाबारे अनभिज्ञ छ । वडा नम्बर १ का अध्यक्ष हर्ष महर्जनले दरबार नामेट र गढपर्खालको जीर्ण अस्तित्व रहे पनि त्यसलाई संरक्षण गर्न कार्यक्रम ल्याएको बताउँछन् । 

‘गत आर्थिक वर्षमा लायकु टोललाई विशेष देखाउन वरपरका दुई दर्जन घरलाई रातो रंगले रंग्याउन साढे तीन लाख रुपैयाँ खर्च ग¥यौं,’ वडाध्यक्ष महर्जनले थपे, ‘कोतघरमा के कति सामान छन् हामीले देख्न पाएका छैनौं । अहिले प्रधानहरूकै निगरानीमा छ ।’ 

स्थानीय तहले बिस्तारै यी विषयमा जानकारी संकलन गरिरहेको उनले बताए । कीर्तिपुरको सम्पदा भएकाले कोतघर गुठीसँग मिलेर स्थानीय सरकार संरक्षण कार्यमा जुट्ने उनको भनाइ छ । 

साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position