१५ जना विदेशी पर्यटक स्वदेश फर्किन मानेनन्

२३ चैत, मनाङ । यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटकले स्वदेश फर्किन इन्कार गरेका छन् ।

विभिन्न देशबाट नेपाल आइपुगेका पर्यटकलाई स्वदेश फर्कन आग्रह गरे पनि तिनले घर फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

उनका अनुसार, ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायललगायतका युरोपियन देशका रहेका छन् ।

माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ ।

आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ ।

नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।

तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताए । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउँनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उनले भने ।

सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । ‘हामी नेपालमा सुरक्षित छौं,’ उनले भने ।


Facebook Comment


No ads found for this position