अमेरिकामा कोरोनाको संक्रमणबाट एकैदिन १८०० भन्दा बढीको मृत्यु

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट अमेरिकामा मंगलबार मात्रै एक हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएयता एकैदिन सबैभन्दा बढीको मृत्यु भएको हो । 

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तस्बिर : रोयटर्स

बुधबारसम्म अमेरिकामा कोरोना भाइसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय १० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ४ लाख पुगेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ९९ हजार ९ सय २९ रहेको छ भने तीमध्ये करिब २२ हजार निको भएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित न्युयोर्क भएको छ । पछिल्लो २४ घण्टामा न्युयोर्कमा मात्रै ७३१ जनाको मृत्यु भएको छ । बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार ४ सय ९८ पुगेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठनप्रति ट्रम्पको आक्रोश

अमेरिकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) प्रति आक्रोशित बनेका छन् । उनले डब्लूएचओलाई अमेरिकाले उपल्बध गराउँदै आएको रकम पनि रोक्ने चेतावनी दिएका छन् ।

डब्लूएचओले अमेरिकालाई गलत सुझाव दिएका कारण नै संक्रमणले महामारीको रुप लिएको राष्ट्रपति ट्रम्पले आरोप लगाएका छन् । ‘डब्लूएचओकै कारण अवस्था भयावह भयो, अमेरिकाले डब्लूएचओलाई सबैभन्दा बढी फन्ड उपलब्ध गराउँदै आए पनि उ भने चीनमुखी छ,’ राष्ट्रपति ट्रम्पले मंगलबारको नियमित पत्रकार सम्मेलनमा भने ।

ट्रम्पले अमेरिकामा राष्ट्रिय आपत्‌काल घोषणा गर्नुअघि नै डब्लूएचओले कोरोना संक्रमण फैलिँदै गएको भन्दै विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । ट्रम्पले ‘अमेरिकामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा रहेको छ’ भन्नुभन्दा एक महिना पहिले नै डब्लूएचओले विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।


Facebook Comment


No ads found for this position