युरोप त घुमियो ,न त खुलेर लेख्न सकियो न त भ्रमणको मज्जा लुट्न

काठमाडौं । पर्यटन क्षेत्रमा कलम चलाउने भएर होला, विश्वको सबैभन्दा ठूलो पर्यटन मेला आईटिबी बर्लिनमा सहभागी हुने पुरानो चाहना थियो । तर, समय र परिस्थितीले साथ दिएको थिएन । यसपाली त्यो अवसर जुर्‍यो ।

आइटिबी–२०२० मा जाने तारतम्य मिलाएका थिए पर्यटन विकास समाज धनगढी र कैलाली उद्योग–वाणिज्य संघले । मार्च ३ प्रस्थान गर्ने तय भएर भिसा पनि लागिसकेको थियो । तर, जानेभन्दा दुई दिन अघि कोरोनाका कारण यो वर्षको आइटिबी मेला नहुने जानकारी आयो । अलि खल्लो महसुस भयो ।

त्यसपछि हामीमध्ये केहीले व्यक्तिगत खर्चमा भए पनि युरोप यात्रामा जाने निधो गर्‍यौं। यात्रामा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुवर, बरिष्ट उपाध्यक्ष पुस्कर ओझा, सदस्य रवी कुवर, रुपेश खड्का, र संघको कार्यकारी निर्देशक गोमा अधिकारी सहित पर्यटन विकास समाजका थर्क बहादुर शाही, केजीएजगुप अफ होटलका सि ओ ओ सजीव थापा , फोटोग्राफर गोरख बिष्ट र म जाने भयौ ।

युरोप यात्राको टोली

पूर्वनिर्धारित मितिमा हामी काठमाडौंदेखि कतारको दोहा ट्रान्जिट हुँदै जर्मनीको फ्रन्कफुट विमानस्थल पुग्यौं । हाम्रो युरोप यात्राको नेतृत्व लिनुभएका पर्यटन विकास समाज धनगढीका महासचिव संजय चौधरीलगायत समाजका अध्यक्ष कृष्णबहादुर महरा र जर्मनको गोटिन्गनमा दुई दशकदेखि ब्यापार ब्यवसाय गर्दै आएका मिलन पन्त एयरपोर्टमा हामीलाई लिन आउनु भएको थियो । यात्राको पहिलो दिनको हाम्रो गन्तब्य गोटिन्गन थियो ।

हामी युरोप जाने तयारी गर्दा ईटलीबाहेक अन्य देशमा कोरोनाको त्यति प्रभाव थिएन । दोस्रो दिन हामी बर्लिन पुग्यौं । त्यहाँ कोरानाको कुनै चर्चा सुनिएन । ईटलीमा चाहिँ कोरोनाको प्रभावले त्यहाँ नजाने निर्णय गरेका थियौं ।

वर्लीन वाल

हामी चार दिन जर्मनीमै बस्यौं । जर्मनीको ऐतिहासस्थल वर्लिन वाल, हिटलरको क्याम्प र हामवर्ग सहरको अवलोकन गर्‍यौं । त्यसबेला सबैतिर सामान्य अवस्था थियो । वर्लिनको महोत्सव नहुने भएपछि हामी चार दिन जर्मनीमै बस्ने भएका थियौ । त्यसपछि हाम्रो गन्तव्य थियो बेल्जियम हुँदै नेदरल्याण्ड ।

नेदरल्याण्डमा दुई रात बस्ने क्रममा हामीले घुमफिर गर्दा निजी सवारीसाधन प्रयोग गरेका थियौं । त्यसबेलासम्म कोरोनाका कारण नेदरल्याण्ड्समा बाहिरबाट मानिसहरु आउने क्रम घट्दै थियो । पर्यटकीय स्थलहरुमा खासै भिडभाड थिएन । नेदरल्याण्डका केही स्थानमा घुमफिर गरेता पनि कोरोना प्रकोप दिन–प्रतिदिन युरोपमा फैलदै गएको खबर सुनेर हामी डराउन थालेका थियौं ।

नेदरल्याण्ड

अबको गन्तव्य थियो हाम्रो फान्स को पेरिस । पेरिसमा दुई दिन बास बस्ने योजना थियो । तर एक रात मात्र बस्यौ । फ्रान्सका बिभिन्न स्थानमा कोराना संक्रमण फैलिन थालेको जानकारी पाएपछि हामी अलि आत्तिएका थियौं । राति केही समय एफिल टावर पनी पुग्यौ । अन्य समयमा साँझपख हजारौ संख्यामा एफिल टावर हेर्न मानिसको भिड हुने गथ्र्यो । तर हामी पुग्दा थोरै मानिसहरु थिए । एफिल टावरमा केही फोटो खिचेर हामी स्वीजरल्याण्डको ईन्टरल्याकनतर्फ लाग्यौ ।

एफिल टावर, पेरीस

स्वीजरल्याण्ड जाँदा बोटमा केही समय तराईको बाटो यात्रा गरे जस्तो लाग्यो । पेरिसबाट हिँडेको ६ घण्टापछि नेपालकै जस्तो भौगोलिक बनावट देखिन थाल्यो । अनि मन रमाउन लाग्यो । तर भौगोलिक वनावट नेपालजस्तै भए पनि त्यहाँको विकासको नमुना भने निकै फरक रहेको पायौ ।

हामी स्वीजरल्याण्ड पुग्दा लगभग रातको ११ बजिसकेको थियो । भोलिपल्ट बिहान हामी स्वीजरल्याण्डका ईन्टर ल्याकनदेखि एक घण्टाको सवारी साधनको यात्रा पश्चात गिन्डलवाल्डतर्फ लाग्यौ । यो पनि पर्यटकहरु भरिभराउ रहने ठाउँ हो । तर, हामी जाँदा सुनसानजस्तै थियो । त्यहाँ मात्र नभएर स्वीजरल्यान्डका सडकहरु पनि सुनसान बन्न थालेका थिए । अब हामीलाई चाँडो नेपाल फर्किने हुटहुटी चल्न थाल्यो ।

स्वीजरल्याण्ड

तर टिकट अगाडि सार्न गाह्रो भएकाले हामीले दुई रात स्वीजरल्याण्डमै वितायौं । स्वीजरल्याण्डबाट सिधै जर्मनीको फ्राङ्कफुटतर्फ लाग्यौ । हामी यसअघि फ्राङ्कफुट पुग्दा चहलपहल थियो, तर फर्कदा एयरपोर्ट सुनसान । फ्राङकफुट बाट दोहा केही घण्टाको टान्जीट विताएर हामी मार्च १६ विहान मा नेपाल आयौ ।

हामी नेपाल पुग्दासम्म युरोपमा कोरोनाको प्रकोप ब्यापकरुपमा फैलिइसकेको थियो । तर हामी आउँदा त्रिभुवन विमानस्थलमा ज्वरो नाप्नेबाहेक केही पनि भएन । हवाईजहाजमा हामीलाई एउटा फर्म भर्न दिइएको थियो । हामीसँग गएका दशजना सबैले फर्म भरेका थियौं । दोहाबाट नेपाल आउँदा विमानमा कतारबाट फर्कने हरुको ठूलो जमात थियो । सामान्य लेखपढ गर्न समेत नजानेकाहरु धेरै थिए । उहाँहरुले त्यो फर्म भरेर पनि दिनुभएन होला ।

स्वीजरल्याण्ड

१६ मार्च विहान त्रिभुवन विमानस्थल ओर्लेपछि म सिधै टयाक्सी लिएर घर आएँ । घरमा आउनुअघि नै कुराकानी भएका कारण म घरका सदस्यहरु कोहीसँग पनि सिधा भेटघाट नगरेर सिधै कोठामा प्रवेश गरेँ । म घरमा आएको दुई दिनपछि नै लकडाउन सुरु भयो । घर फर्केको दिन जति आनन्द आयो, भोलीदेखि मनमा निकै बेचैनी बढ्यो । ममा कोरोनाको कुनै पनि लक्षण देखापरेको थिएन, तर पनि जहाजमा कोही संक्रमित थिए कि भनेर मन आत्तियो । सँगै गएका साथीहरुसँग सम्पर्कमा थिएँ । उनीहरुलाई फोन गर्नसमेत निकै डर लाग्थ्यो । युरोपबाट घर आउनेवितिकै मैले भक्तपुर नगरपालिकाका जनप्रतिनिधीलाई जानकारी गराएको थिएँ ।

मैले फर्कदा त्रिभुवन विमानस्थलमा फर्म बुझाएको करीब २० दिनपछि फोन आएको थियो । के छ तपाईको स्वास्थ्य भनेर सोधियो । युरोपबाट फर्केको १७ दिनपछि मलाई भक्तपुर नगरपालिकाले अनलाईन फर्म भर्न लगाएको थियो । त्यही फर्मको आधारमा मलाई फोन आएको रहेछ ।

युरोपबाट फर्केलगत्तै काठमाडौ घर भएका साथीहरु आफ्नो घर जानुभएको थियो भने कैलाली घर भएका साथीहरु ७ दिनसम्म काठमाडौंका होटलमै सेल्फ क्वारेन्टाईन बसेर मात्र कैलालीतर्फ जानु भएको थियो । घरमा प्रवेश गरेदेखि नै नियमितरुपमा ज्वरो नाप्ने काम भइरहेको थियो । फोनमा कसै–कसैले कोराना लिएर त आएको छैनस नि ? भन्दा मनमा निकै चिसो हुन्थ्यो ।

युरोप यात्रा र कोरानाको अनुभुति लेख्नलाई धेरैपटक ल्यापटपअघि बसेँ, तर लेख्न सकिन । जिवनमा यात्राका दौरान धेरै अप्ठ्यारा बाटाहरु हिँडीयो, तर यस्तो मानसिक तनाव कहिल्यै भएको थिएन । युरोप त घुमियो, न त आइटिबी मेलामा भाग लिन पाइयो, न खुलेर भ्रमणको मज्जा लुट्न नै ।


Facebook Comment


No ads found for this position