अमेरिकामा आप्रवासी नागरिकलाई रोक

काठमाडौं–९ बैशाख
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आप्रवासी नागरिकमा रोक लगाउने घोषणा गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै अर्को आदेश जारी नभएसम्मका लागि राष्ट्रपति टम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने बताएका हुन् । उनले छिट्टै आदेशमा हस्ताक्षर गर्ने बताएका हुन् ।

कोरोनाभाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारीलगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेको बुझिएको छ ।

‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु ।’ ट्रम्पले ट्वीटमा भनेका छन् ।

यतिबेला अमेरिका कोरोनाको महामारीका कारण आक्रान्त बनेको छ । लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।

अमेरिकामा हालसम्म ४२ हजार ५ सय १८ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ भने ७ लाख ९२ हजार ९ सय ३८ जना संक्रमित भएका छन् । त्यस्तै ७२ हजार ३ सय ८९ जना निको भइसकेका छन् । एजेन्सी


Facebook Comment


No ads found for this position